‘रातो नदी’भित्र घन्किरहेको विद्रोही आवाज
साहित्यमा कविता एक सर्वप्राचीन विधा हो । यो एक समृद्ध र विकसित विधा पनि हो । नेपाली कविताको क्षेत्रमा देशको सिमानाभित्र र बाहिरबाट योगदान पुर्याउनेहरूको लस्कर लामो छ । यसैमा मिसिन आइपुगेकी छन् कवि जूनू राना । पश्चिम नेपालको बागलुङमा जन्मेर काठमाडौं हुँदै विगत दुई दशकदेखि समुन्द्री टापुको देश हङकङमा रहेकी रानाले आफ्नो पहिलो कृति ‘रातो नदी’ ल्याएकी छन् । कविता सङ्ग्रहले प्रवासबाट भए पनि उनका सामर्थ्यलाई देशसम्म जोडेको छ ।
सङ्ग्रहमा भएका ६८ वटा कविताले कवि रानालाई प्रतिरोधी सर्जकका रूपमा पहिचान दिएको छ । उनका कविताहरूले धारको हिसाबले समकालीन नेपाली कविताको प्रवृत्तिको प्रतिनिधित्व गर्छ । उत्तर आधुनिकतावादको ठूलो जहाजभित्र नारीवाद, विनिर्माणवाद, नव-इतिहासवाद, नव-व्यवहारिकवाद, नव-मार्क्सवाद, उत्तर उपनिवेशवाद आदि विविध सिद्धान्त र दर्शनहरू पर्छन् । यीमध्ये नारीवाद एक सर्वाधिक चर्चित सिद्धान्त हो । कवि रानाका कविताहरूको एउटा मुख्य विन्दु हो नारीवाद, तर उनका रचनाहरूमा पुरुषप्रति फरकताकै आधारमा लिङ्गीय भेद छैन । समानताको तीव्र आकाङ्क्षा छ । विषमताप्रति प्रश्न छ । आख्यानकार भर्जिनिया उल्फले भने झैं कोठा र जग्गा नभएसम्म नारी पूर्ण रूपमा स्वतन्त्र हुन सक्दैनन् । यो भनेको अर्थ या उत्पादनको साधनमाथिको उचित नियन्त्रण हो । कवि रानाका कवितामा नारी अस्तित्व, पीडाबोध, संवेदनाका स्वरहरू मुखरित छन् ।
कसले बनायो
पुरुषत्वको मानक ?
कसले तय गर्यो श्रेष्ठता ?
ए कथित महापुरुष !
तिम्रा वैचारिक द्रव्य
र तर्कखुबीमा
तिमीले मगज सौन्दर्य भर्नू । (मगज सौन्दर्य, पृ. ६५)
कवि रानाको सङ्ग्रहको शीर्षकउपर दुई कविता छन् । रातो नदी- १ र रातो नदी- २ । शीर्षक र कविता पढिरहँदा स्वाभाविक रूपमा मासिक धर्म वा रजस्वलाको चित्र आउँछ । रानाले यस प्रक्रियालाई शक्ति सञ्चय र ऊर्जा प्राप्तिका रूपमा अर्थ्याएकी छिन् । उनले समाज र धर्मले खडा गरेका सीमाउपर प्रश्न गरेकी छन् । लाज, घिन र हीनताबोध नराखेर बाह्रै महिना नदी बग्नुलाई सक्षमतासँग गाँसेकी छन् । ‘वंशयुद्ध’, ‘घोषणा’, ‘सीताहरू’ उनका प्रतिरोधात्मक कविताहरू हुन् ।
उनका कविताको केन्द्रविन्दुमा नारीकै कुरा बढी आउँछन् । सामाजिक मञ्चमा उनी एक खरो वक्ताका रूपमा चिनिनुले त्यसको प्रभाव उनको लेखनमा आएको हुनसक्छ । दोस्रो प्रवृत्ति भनेको उनले जाति प्रथा र वर्ण व्यवस्थाप्रति खुलेर आलोचना गर्दै विद्रोहका लागि उठेका आवाजमा साथ दिएकी छन् ।
त्यसका अलावा उनले मातृत्वप्रति समर्पित भएर ‘जन्मदिन’, ‘मातृ अस्तित्व’, ‘मातृत्व’, ‘रगत’, ‘तिम्री आमा’ लेखेकी छन् । उनका कविताको केन्द्रविन्दुमा नारीकै कुरा बढी आउँछन् । सामाजिक मञ्चमा उनी एक खरो वक्ताका रूपमा चिनिनुले त्यसको प्रभाव उनको लेखनमा आएको हुनसक्छ । दोस्रो प्रवृत्ति भनेको उनले जाति प्रथा र वर्ण व्यवस्थाप्रति खुलेर आलोचना गर्दै विद्रोहका लागि उठेका आवाजमा साथ दिएकी छन् । उनले मानवतालाई प्रधान मानेकी छन् ।
भेरी सुस्केरा हाल्दै बगिरहेको छ
धोका, चोट र रोदन
भेरीका हरेका ढुङ्गा ढुङ्गामा गुन्जिरहेका छन्
नवराजहरू
भेरीका वारिपारि
सुसेली हालिरहेका छन् । (भेरी साक्षी छ, पृ. ८५)
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको सोतीमा अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोप लगाउँदै नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । यही विषयलाई कवि रानाले कवितामा ठाउँ दिएकी छन् । उनले यस घटनालाई मानवता हारेको दिनको संज्ञा दिएकी छन् । ‘म बेरङ रङ’ कवितामा वर्णका आधारमा हुने विभेदप्रति कटाक्ष गरेकी छन् । वर्णकै आधारमा कोही सम्राट, महाराजा, जमिनदार र कोही अछूत भएको भन्दै मानव चेतनाको धज्जी उडाएकी छन् । ‘जातको ब्रह्माण्ड’ एक छोटो, तर सशक्त रचना हो ।
जातकै दिन बनाउनू
जातकै रात बनाउनू
सूर्य, चन्द्रमा र समुद्र जातकै बनाउनू
अरूतरि नहेर्नू । (जातको ब्रह्माण्ड, पृ. ३९)
‘मान्छे’, ‘ढुङ्गा देवता बनेपछि’ पढिरहँदा मनुस्मृतिले वैदिक सनातन समाजमा ल्याएको विषमताउपर घोत्लिन बाध्य बनाउँछ । विभेदका रेखाहरू अस्तित्वमा आएर मानवीय संवेदना सङ्कटमा परेको भान हुन्छ । रङ्गभेद, जातिभेद र वर्गभेदका सिमानाहरूलाई भत्काएर समतामूलक समाजको निर्माण गर्नुपर्ने अभिप्राय कविको मूल कथ्य हो ।
‘म बेरङ रङ’ कवितामा वर्णका आधारमा हुने विभेदप्रति कटाक्ष गरेकी छन् । वर्णकै आधारमा कोही सम्राट, महाराजा, जमिनदार र कोही अछूत भएको भन्दै मानव चेतनाको धज्जी उडाएकी छन् ।
कवि रानाको सङ्ग्रहको तेस्रो विशेषता भनेको डायस्पोरिक अभिव्यक्ति हो । हङकङ सन् १९९७ मा चीनलाई हस्तान्तरण गर्नुअघि ब्रिटिस साम्राज्यको एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो । त्यतिमात्रै नभएर ब्रिटिस गोर्खा रेजिमेन्ट र तिनका परिवार बस्ने एक आवासीय थलो पनि । २०८ वर्ष लामो ब्रिटिस गोरखा (नेपाली)को विरासत थाम्न अहिले पनि सालिन्दा हजारौं तन्नेरी ‘लाहुरे’ बन्न तम्सिन्छन् । एक दशकअघि त झन् दुईदेखि तीन सयको अत्यन्तै न्यून कोटाका लागि चालीसौं हजार युवाले आवेदन दिन्थे । यसमा नेपालका आदिवासी जनजाति मूलका युवाहरूको लर्को लाग्ने गरेको कुरा कवि रानाको ‘लाहुरे’ कवितामा पढ्न सकिन्छ ।
ठिङ्ग उभिएका छन् छातीहरू
गहुँगोरो वर्ण
बाक्लो छाला
डल्लो मोहडा परेको सक्कल
थेप्चो नाक
चिम्सा आँखा
बलिष्ठ तिघ्रा र पासुला मिलाएर
छानिन्छन् छातीहरू । (लाहुरे, पृ. २४)
‘जग’ भन्ने कवितामा पुर्खा र बाजेबराजुप्रति सम्मान दर्शाएकी छन् । सेककोङ र ग्यालिपोल्ली सैन्य ब्यारेकमा १२ घण्टा बढी उभिएर सन्तान दरसन्तानको सुरक्षित भविष्यका लागि कडा परिश्रम गरेको र ताइमोसानको उकालो हिँडिरहँदा पुर्खाहरूको निसानीले झस्काइरहने बताउँछिन् । ‘कानमा देश गुञ्जिरहन्छ’मा उनले जन्मभूमिको सम्झना गरेकी छन् । ‘ह्याङओभरले बनाइरहन्छ झुम्म’ भन्दै विस्मृतिमा आफू जन्मेको र खेलेका ठाउँहरूलाई काम गरिरहँदासमेत भुल्न गाह्रो भएको जिकिर गरेकी छन् । उनले मदिराको मातसँग थातथलोको प्रेमलाई तुलना गरेकी छन् । ‘माटो र म’मा उनले मातृभूमिको काँचो माटो, झ्याउँकिरीको गीत, मकैका पहेंला पात, कोदोको सिरुपाते रूप, सिलटुङका बीउहरू झल्झली सम्झेका छन् । कवि रानाका प्रेमिल कविताहरू ‘तिम्रो अंश’, ‘म पर्खिरहेको मान्छे’, ‘चिठी’, ‘कामना’, ‘कोइली’, ‘सारथि’, ‘शीत’, ‘निकटता’, ‘तिम्रो नाम’, ‘याद र जून’, ‘आँखा’ आदि हुन् ।
कवि रानाले कविता यात्रालाई आफूले बाँचेको परिवेश र देखेका समाज र घटनाले उत्पन्न गरेको कम्पनबाट प्रारम्भ भएको आफ्नो कहिरनमा बताएकी छन् । सानो आकारको सिर्जनात्मक लेखनमा उनको दख्खल देखिन्छ । यद्यपि शैलीगत हिसाबले उनले आफ्नो लेखनमा अरू प्रयोग गर्ने आँट गरे राम्रो हुनेछ । शीर्षक, विषयवस्तु र भावका हिसाबले केही कविता समान देखिन्छन् । त्यसउपर काम भएको भए उत्तम हुने थियो । अलङ्कार, उपमा, विम्बहरूको पुनरावृत्ति हुनबाट कविहरू विशेष रूपमा सजग हुनुपर्छ । पहिलो कृति भए पनि कवि रानाको सरल लेखन र सहज प्रस्तुतिका कारण यो सङ्ग्रह सबैलाई बोधगम्य नै हुनेछ ।
पुस्तक विवरण
कृतिको नाम : रातो नदी (कविता सङ्ग्रह)
पहिलो संस्करण : सन् २०२४
कृतिकार : जुनू राना
प्रकाशक : रत्न पुस्तक भण्डार, काठमाडौं
मूल्य : नेरू ३९९
पृष्ठ : १३६