अचार बेच्दै राजनीति गरिरहेकी शान्ता – Nepal Press

अचार बेच्दै राजनीति गरिरहेकी शान्ता

रुपन्देही । ८ वर्षको उमेरमा कमलरी बसेकी दाङकी शान्ता चौधरी जमिन्दारविरुद्ध कमलरीमुक्त अभियानमा लागेपछि चर्चामा आइन्। पछि राजनीतिमा लागेर दुईपटक सांसद बनेकी उनी अहिले नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा भूमि अधिकार श्रमिक संगठन नेपालको केन्द्रीय अध्यक्ष छन् ।

कमलरीपछि सामाजिक अभियान अनि राजनीतिमा लागेकी शान्ताले सभासद बनेपछि विद्यालय भर्ना भएर संघर्षको अर्काे अध्याय थपिन् । उनै शान्ताले पछिल्लो समयमा शुरु गरेको उद्यमशीलता अभियानले त्यसैगरी चर्चा पाएको छ ।

यो अभियानबाट उनी आफूमात्र उद्यमी भएकी छैनन् दुई दर्जन महिलालाई प्रत्यक्ष रोजगारी दिएकी छन् भने महिलालाई महिलाहरुकाे प्रेरणा बनेकी छन् ।

महिलाहरुलाई मात्रै होइन, राजनीतिमा लागेकाहरूलाई उनले आर्थिक स्रोत आफैं जुटाउनुपर्ने सन्देश दिएकी छन् । अहिले शान्ता राजनीतिक कार्यक्रममा मात्रै होइन विभिन्न स्थानमा महिला समूहहरुले बोलाउने तालिममा सहभागी भएर उत्प्रेरणमूलक तालिममा प्रशिक्षक बन्दै आएकी छन् ।

सन्जालबाटै व्यवसाय प्रवद्र्धन थपेकी उनले अहिले स्वदेशमा मात्रै होइन विदेशका विभिन्न स्थानमा पुराउन थालेकी छन् ।

‘राजनीतिसँगै अहिले थालेको अचार व्यवसाय अहिले देशमा मात्रै होइन देश बाहिरका विभिन्न देशमा खपत भइहरेको छ’ उनले भनिन् –‘मेरो संघर्षको कथा अरुको भन्दा फरक छ, म राजनीतिसँगै आफ्नो स्रोत जुटाउन पेशाव्यवसाय गर्न बाध्य छु, मेरो अरु कुनै नियमित स्रोत छैन ।, अहिले स्वदेशमा मात्रै होइन अमेरिकाका विभिन्न शहर तथा अष्ट्रेलियामा पनि पठाउन पाउँदा निकै खुसी छ ।’

दाङको घोराही उपमहानगरपालिका वडानम्बर ४ डाँडागाउँ निवासी उनकै नामबाट स्थापित शान्ता अचार उद्योगलाई प्रवद्र्धन गर्न शान्ता केही महिनादेखि आफूले जानेको आचार बनाउने सीपलाई सामाजिक सञ्जालबाट प्रचार गर्दै बिक्री प्रवद्र्धन तथा यसका लागि आवश्यक कच्चा पदार्थहरु जुटाउने र यी वस्तुहरु उत्पादनका लागि स्थानीयलाई प्रोत्साहित गर्दै आएकी छ ।

आफूले बनाएको अचार देश–विदेशबाट पनि माग आउन थालेपछि यसैलाई आफ्नो आत्मनिर्भरताको बाटो बनाएको शान्ताको भनाइ छ । करिब २० लाख लगानीमा सुरु गरेको उनको यो व्यवसायमा एक वर्षमै १ करोडभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ । एमालेबाट प्रतिनिधि सभा सदस्य बनेकी शान्ताले संसदीय दलको सचेतक समेत जिम्मेवारी पूरा गरेकी थिइन् ।

आफूले सडकबाट मात्रै होइन सदनमा पनि राजनीतिक विषयसँगै किसान, व्यवसायीका कुरा, जनतालाई आत्मनिर्भर बनाउन सरकारको ध्यानाकर्षण गराइरहेको स्मरण गर्छिन् । ०७९ सालको संसदीय निर्वाचनमा दाङको क्षेत्र नं १ बाट उनलाई एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदार बनाएपनि तत्काली सत्तारुढ गठबन्धनको साझा उम्मेदार बनेका नेकपा एसका मेटमणि चौधरीसँग पराजित भएकी थिइन् । यहाँ पराजित भएसँगै उनले व्यवसायिक यात्रालाई प्राथमिकतामा राखेकी हुन् ।

उनले थालेको व्यवसायिक अभियानलाई परिवार, नातेदार, छिमेकी, पार्टीका कार्यकर्ता सबैले साथ दिएका छन् । पार्टीमा पोलिटब्यूरो सदस्य तथा भूमि अधिकार तथा श्रमिक सङ्गठनको केन्द्रीय अध्यक्ष रहेकाले पनि उनी दाङसँगै देशभर दौडिनुपर्दछ । उनी जहाँ रहँदा पनि दिनहुँ यो उद्योगलाई निरन्तर फलोअप गरिरहेकी हुन्छिन् ।

राजनीतिसँगै व्यवसाय थालेपछि उनको पुरानो दैनिकी फेरिएको छ । उनको घरमा पहिले राजनीतिक समस्या लिएर आउनेहरुको भीड अहिले केही फेरिएको छ । घरभित्र कोही अचारका लागि चाहिने सामग्री काट्न, कोही सरसफाइ गर्न, कोही मरमसलाको तयारीमा र कोही थरीथरीका अचार बनाउन र कोही प्याकिङमा व्यस्त रहेका हुन्छन् ।

शान्ताको जीवनी धेरै संघर्षले भरिएको छ । सुरुमा कमलरी, राजनीतिकर्मी र अधिकारकर्मी हुँदै उनी अहिले व्यवसायी बनेपनि पुराना जिम्मेवारीलाई पनि निरन्तरता दिइरहेकी छन् । उनको उद्यमलाई छोरा, बुहारी, छोरी र ज्वाईँले सघाइरहेका छन् ।

‘महिलामात्रै होइन, हरेक नागरिक आत्मनिर्भर हुनुपर्छ, त्यसमाथि राजनीतिमा, सामाजिक क्षेत्रमा लाग्नेहरु अझै आत्मनिर्भर हुन जरुरी छ, हामीबाट समाजले धेरै कुरा खोजेको हुन्छ, त्यो अनुशरण गर्नसक्छ’ उनले भनिन् ।

उनले सिजनअनुसारका अचार बनाउन सामाजिक सन्जालबाट सामग्रीहरु खरिका लागि आग्रह गर्दछिन् । राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति आयआर्जनमा जोडिए केही समस्या पर्दा स्रोतमा सहजता हुने उनको बुझाई छ । ‘राजनीतिमा लागेपछि अन्य काम गर्नुहुन्छ भन्ने गलत संस्कार छ तर मलाई त्यस्तो मन पर्दैन, मेरो बाध्यता त छँदैछ, उत्पादन, उद्यम, आयआर्जनमा जोडिनु सबैका लागि राम्रो हो भन्ने सन्देश सबैले दिए राम्रो हुन्छ’ चौधरीले भनिन् ।

एक वर्षअघि सुरु भएको चौधरीको अचार उद्योग अहिले काठमाण्डौ, सुर्खेत र कैलालीसहितका विभिन्न शहरसँगै विदेशमा पनि जान थालेको हो । जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, मलेसियालगायतका देशहरूबाट पनि माग आउन थालेपछि उनले उत्पादन पनि त्यहीअनुसार बढाएकी छन् ।

उद्योगमा शाकाहारी तथा मांसाहारी गरी अहिले करिब २५ प्रकारका अचार उत्पादन भइरहेका छन् । शाकाहारीमा अमला, लसुन, कागती, खुर्सानी, मुला, गुन्द्रुक, लप्सी र गाँजरलगायत मौसमअनुसारका अचार बनेका छन् भने मांसहारीमा कुखुरा, खसी, र माछाको नियमित उत्पादन भइरहेको छ ।

यस्तो छ चौधरीको राजनीतिक यात्रा
आठ वर्षको उमेरमा कमलरी बसेकी शान्ता चौधरीको जीवनयात्रा संघर्षपूर्ण छ । कमलरी बसेका कारण पढ्ने, खेल्ने, रमाउने र बाबाआमाको मायाको अनुभव लिन पाइनन् । कमलरी विद्रोह गरेर राजनीतिमा लागेकी उनी पहिलोपटक संविधान सभा सदस्य हुँदा औपचारिक शिक्षा केही लिएकी थिइनन् ।

कमलरी आन्दोलनकी अभियन्ता चौधरी पहिलोपटक संसदमा छिर्दासम्म पनि कखरा नचिनेकी उनी व्यवस्थापिका–संसद्को प्राकृतिक स्रोतसाधन समितिको सभापति बन्दा नपढेको सांसद भनेर व्यङ्य गरेपछि पढ्न ऊर्जा थपिएको हो । २०७२ सालमा गाउँकै गोग्ली माविमा कक्षा आठमा भर्ना भएर पढ्ने सपना उनले थालेकी हुन् ।

राजनीतिक, सामाजिक काम सँगसँगै अगाडि अध्ययनलाई निरन्तरता दिएकी उनले २०७५ सालमा एसईई र २०७७ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि संघर्षको परिचय थपेकी हुन् । अहिले पनि उनले स्नातक तहमा अध्ययनरत छन् । छ जना दिदीबहिनी र एक दाजुमध्येकी कान्छी बहिनी रहेकी उनको विवाहपछि पनि समस्या थपियो ।

श्रीमानले दोस्रो विवाह गरेपछि उनी ११ वर्षदेखि अलग्यै बसेर छोरा, छोरीका लागि अभिभावकीय भूमिका पूरा गर्दै आएकी छन् । कमलरी अभियन्ता हुँदै उनी दुईपटक (२०६४ र २०७४) मा सांसद बनेकी शान्ताको दैनिकी समय तालिका हेर्दा सबैलाई आश्चर्यमा पार्दछ ।

 

 


प्रतिक्रिया

One thought on “अचार बेच्दै राजनीति गरिरहेकी शान्ता

  1. धेरै राम्राे स्टाेरी रहेछ । संघर्षपूर्ण जीवनकाे नयाँ अध्याय सुरु भएकाे छ । शान्ता जीलाई व्यवसायिक उन्नतिका निम्ति शुभकामना एवम् आरपी आचार्यकाे लेखनीलाई सलाम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *