अझै उठेन वृद्धको शव: हत्या भएको आफन्तहरुको दावी – Nepal Press

अझै उठेन वृद्धको शव: हत्या भएको आफन्तहरुको दावी

डोटी ।  बिहिवार शङ्कास्पद अवस्थामा मृत फेला परेका ७५ वर्षीय वृद्ध कालु सिंह बिष्टको शव अस्पतालबाट अझै उठेको छैन् ।
बिष्ट दिपायल सिलगढी नगरपालिका–६, सिलगढी (जिल्ला प्रहरी कार्यालय, डोटी नजिकै) रहेको आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।

सोही नगरपालिका–७ रातुली स्थायी घर भएका बिष्ट सिलगढीमा एक्लै बस्दै आएका थिए । भाद्र १७ गते कुशे औँशीका दिनदेखि सम्पर्कबिहिन भएपछि आफन्तहरुले बिष्टको खोजी गर्दा उनी घरमै मृत अवस्थामा फेला परेका हुन् ।

‘घरको बाहिरबाट ताला लगाएको थियो, उहाँले लगाउने चप्पल र टेक्ने लौरो ढोका बाहिरै थियो’ मृतकका छोरीज्वाई नारायण धामीले भने ‘भित्रबाट गन्ध आएपछि प्रहरीलाई खवरी गरी ढोका खोरेर भित्र जाँदा उहाँ मृत अवस्थामा भेटिनु भयो ।’

बिहिवार बिहानसम्म मृतकले प्रयोग गर्दै आएको फोन अर्कै व्यक्तिले उठाउने र कुनै बेला केही कुनै बेला केही भन्ने गरेको मृतकका आफन्त नारद मलासीले बताए। उनी भन्छन् ‘ढोकामा ताला लाएको देखेपछि उहाँहरुले अन्त कतै जानु भयो भन्ने सोच्नु भयो, तर भित्रै मारेको रहेछ ।’ नयाँ ताला किनेर ढोकामा लगाएको, कोठाभित्रको सामानहरु सबै छरपस्ट पारेकोले यो स्वभाविक मृत्यु नभएको दावी गर्छन् ।

प्रहरीले घटनाको निश्पक्ष अनुसन्धान हुने बिश्वास नदिलाएसम्म शव नउठाउने अडानमा आफन्तहरु छन् । ‘डोटीमा यस्ता रहस्यमय घटना पहिले पनि भएका छन्, प्रहरीले दवावमा परेर अनुसन्धानमा लापरवाही गर्छ कि भन्ने शंका हामीलाई छ’ मृतकका एक आफन्तले भने ‘यद्यपी प्रारम्भिक अनुसन्धानमा प्रहरीले राम्रोसंग खटेको हामीले महसुस गरेका छौं ।’ शव नउठाउनुको कारण प्रहरीलाई दवाव परिरहोस् भन्ने मात्रै भएको उनको भनाई छ ।

शवको पोष्टमार्टम भएर आफन्तहरुले शतगत पूर्जी समेत बुझिसकेका तर शव अझै नउठेको बताउँछन् जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सुर्य भट्ट । उनले भने ‘हिजो साँझ पाएको खवर अनुसार आज बिहान शव उठाउने खवर थियो, तर अहिलेसम्म उठेको छैन ।’ उनले घटनाको अनुसन्धान भईरहेको जानकारी दिए ।

‘प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद् जस्तो देखिएको छ, तर पोष्टमार्टम रिपोट आउन बाँकी छ’ प्रहरी निरीक्षक भट्टले भने, ‘अहिल्लै यस्तै हो भनेर भन्न सकिने अवस्था छैन, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने भयो ।’
विष्टको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर