तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था छैनः प्रधानमन्त्री (भिडिओ) – Nepal Press

तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था छैनः प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए । उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गरे ।

उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमीक र सुविधा पनि बढ्ने बताए । उनले नियोजित र प्रायोजित रुपमा सरकारको बिरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको बताए ।

उनले भने, ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ । अहिले त यस्तो स्थिति छ की २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्नसक्ने स्थिति छैन । देशको अर्थतन्त्रले गर्न सम्भव छैन । मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ । अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरु छन्, तिनीहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमीक र सुविधा पनि बढ्छ । सबै चिज बढ्छ । देश जति आर्थिक रुपमा विपन्न हुन्छ, सामाजिक रुपमँ विश्रृंखलित हुँदै जान्छ, राजनीतिक रुपमा अझ भाँडभैलो हुँदै जान्छ त्यसबेला हामी सबै पछि पर्छौं, सबैको स्थिति नराम्रो हुन्छ । अहिले थुप्रो हल्ला चलेको छ, नियोजित र प्रायोजित हल्लाहरु थुप्रै चलाउने गरिएको छ । सरकारको बिरोध केही नगरीकनको बहादुरी भएको छ । सरकारको बिरोध गर्नु भनेको केही पनि नगरीकन प्राप्त हुने बहादुरी हो । हाम्रो संस्कृति, सभ्यता, हाम्रो सामाजिक मूल्यहरु, हाम्रो समाजको कुराहरुलाई कमजोर पार्दै लगिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर