सहकारी प्रकरणमा विवादित अभिव्यक्ति दिएका मन्त्री अधिकारीलाई छानबिन समितिको निर्देशन- बोल्दा संयमित हुनुस् – Nepal Press

सहकारी प्रकरणमा विवादित अभिव्यक्ति दिएका मन्त्री अधिकारीलाई छानबिन समितिको निर्देशन- बोल्दा संयमित हुनुस्

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले भुमिव्यवस्था, सहकारी र गरिवी निवारणमन्त्री बलराम अधिकारीलाई सहकारीका बचतकर्ताको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति नदिने निर्देशन दिएको छ।

मन्त्री अधिकारीले बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरू आन्दोलनमा उत्रिएको अभिव्यक्ति दिएपछि छानबिन समितिले ध्यानकर्षण जनाएको हो।

बचतकर्ताको भावनामा चोट पुग्नेगरी पीडितहरूको आन्दोलन, रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न तथा सार्वजनिक अभिव्यक्तिमा संयमित एवं सन्तुलित भएर बोल्न मन्त्री अधिकारीलाई निर्देशन दिएको छानबिन समितिका सभापति सूर्य थापाले बताए।

मन्त्रालयलाई सकारात्मक पहलकदमी लिदै पीडिहरूसँग वार्ता गरेर समस्याको अविलम्ब समाधान खोज्न ध्यानाकर्षण गराएको बताए। आन्दोलनकारीहरूलाई संसदीय छानविन विशेष समितिमा पीडितहरूको प्रतिनिधि मण्डलसँग भएको चार घण्टा लामो छलफलको मर्म र इमान्दार प्रयासलाई विश्वास एवं भरोसा गर्नसमेत अनुरोध गरेका छन्।

शुक्रबारको बैठकमा आमन्त्रित अतिथिका रुपमा मन्त्री अधिकारी पनि सहभागी थिए।

मन्त्री अधिकारीले नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भनेका थिए, ‘सहकारीमा एउटै प्रवृत्तिका मान्छे छैनन्। अहिले आन्दोलनमा उत्रिनेहरू बैंकबाट कम ब्याजदरमा पैसा लिने र सहकारीमा लगेर राख्ने खालका छन्। उनीहरू बैंकको ऋण र सहकारीको बचतको बीचमा बसेर नाफा खाइरहन्छन्। आन्दोलन त्यस्ता व्यक्तिले गरिरहनुभएको छ । अगुवाइ गर्न पाइने र पीडितबाट फाइदा लिने प्रवृत्ति देखिएको छ।’


प्रतिक्रिया

2 thoughts on “सहकारी प्रकरणमा विवादित अभिव्यक्ति दिएका मन्त्री अधिकारीलाई छानबिन समितिको निर्देशन- बोल्दा संयमित हुनुस्

  1. मन्त्रिज्यूले भनेको कुरा चाहिँ सही हो । धेरै व्याज खाने लोभी जनता र सहकारी खोल्न दिएर जे मन लागे गर भनेर छोडिदिने सरकारले गर्दा आएको हो समस्या । सहकारी खोल्ने दले परे र विगारे ।

  2. यो मन्त्री पनि रबि छबि जीबि जस्ता हरूकै जमातका हुनु पर्छ , यस्लाई तुरून्त कारबाई गर्नु पर्छ। सहकारी पिडक र तिनका पक्षधर हरूलाई भाटेकारबाई सुरू गर्नु पर्छ गाऊ गाऊ बाटा😨😨

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर