योजनाको भुक्तानी नपाएपछि इटहरीमा उपभोक्ता समितिहरु आन्दोलित – Nepal Press

योजनाको भुक्तानी नपाएपछि इटहरीमा उपभोक्ता समितिहरु आन्दोलित

विराटनगर । योजना निर्माण सम्पन्न भए पनि इटहरी उपमहानगरपालिकाले भुक्तानी नदिएपछि इटहरीका उपभोक्ता समितिहरुले आन्दोलन थालेका छन् । आर्थिक वर्ष २०८०/८१ मा इटहरी उपमहानगरपालिकाबाट सञ्चालन भएका नगरस्तरीय र वडास्तरीय योजनाको भुक्तानी नपाएको भन्दै तिनीहरु आन्दोलित भएका हुन ।

भुक्तानी नपाएका उपभोक्ताहरूले सङ्घर्ष समिति गठन गर्दै ७२ घण्टाभित्र भुक्तानी गर्न अल्टिमेटम दिएका छन् । उपमहानगर अगाडि पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले ७२ घण्टाभित्र भुक्तानी नभए उपमहानगरको कामकाज ठप्प पार्ने चेतावनी दिएको छ ।

इटहरी उपमहानगरपालिकाको आव २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएका योजनाको १९ करोड ५० लाख बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको छ । बजेट अभावमा नगरले भुक्तानी नदिँदा गाउँ-टोलमा बस्न नसक्ने अवस्था आएको सङ्घर्ष समितिका संयोजक दीपक श्रेष्ठले बताए ।

इटहरी उपमहानगरस्तरीय र वडा स्तरीय योजना कार्यान्वयन गर्न उपभोक्ता समिति गठन भई वडा कार्यालय र उपमहानगरपालिकाबीच सम्झौता भई योजना सम्पन्न भएको श्रेष्ठले बताए ।

उनले भने, ‘योजनासँग सम्बन्धित प्राविधिक मूल्याङ्कन, बिल तथा भर्पाइ, प्रगति विवरण संलग्न गरी उपमहानगरपालिकामा भुक्तानी गर्न पेश गरिसकेपश्चात् उपमहानगरबाट अनुगमन भई भुक्तानीका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी लेखा प्रशासनमा योजना सम्पन्न प्रस्ताव पेस भएको महिनौं बितिसक्दा पनि उपभोक्ता समितिलाई भुक्तानी भएको छैन ।’

उपभोक्ता समितिलाई आव २०८०/०८१ को आषाढ मसान्तभित्रमा भुक्तानी दिई सक्नुपर्ने रकम विभिन्न कारण देखाई भुक्तानी नदिई उपभोक्ता समिति तथा उपभोक्ता समितिसँग जोडिएका दक्ष तथा अर्धदक्ष जनशक्ति, ढुवानी व्यवसायी, उद्योगी तथा आपूर्तिकर्ताहरूलाई उपमहानगरपालिकाले दुःख, सास्ती र पीडा दिई मानसिक रुपमा विक्षिप्त बनाएको संयोजक श्रेष्ठले बताए ।

उपभोक्ताहरूले भुक्तानीका लागि मेयरसँग जिज्ञासा राख्दा उपमहानगरपालिकासँग बजेट नभएको जानकारी दिनु तथा अनेक बहानाबाजी गरी भुक्तानी दिन ढिला गरेकाले उपभोक्ताहरु आन्दोलन गर्न बाध्य भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर