कञ्चनपुरमा गिद्ध गणना सुरु – Nepal Press

कञ्चनपुरमा गिद्ध गणना सुरु

कञ्चनपुर । सोह्रौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा शनिबार कञ्चनपुरमा गिद्ध गणना भइरहेको छ । नेपाल पन्छी संरक्षण सङ्घको आर्थिक सहयोगमा गिद्ध पाइने सम्भावित क्षेत्रमा गणकलाई खटाएर गणना भइरहेको हो ।

अवलोकन, गणना र सचेतना प्रवाह गरी गिद्ध दिवस मनाउन लागिएको चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार गिद्ध गणना कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा नेचर गाइड एसोसियसन, एनटीएनसी, कञ्चनपुर चरा संरक्षण समूह, बेलौरी नगरपालिकास्तरीय युवा सञ्जाललगायतका प्रतिनिधि सहभागी छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटा, भतपुरी, तारापुर, निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानसँगै निकुञ्ज बाह्य क्षेत्रको बन्साहा, पर्सिया, कञ्ज, झिलमिला, बेलडाँडी, किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गणना गर्ने कार्यक्रम रहेको छ ।

योसँगै कैलालीको खुटिया क्षेत्र र बेलीपतेला क्षेत्रमा पनि गणना भइरहेको छ । पाँचदेखि १० जनासम्मको टोलीमा गणकलाई विभाजन गरी गणना अगाडि बढाएको चराविज्ञ डगौराले जानकारी दिए ।

‘गणकहरुलाई गिद्ध देख्न सकिने सम्भावित क्षेत्रमा पठाएका छौं’, उनले भने, ‘एक ठाउँबाट गणना गर्न कम्तीमा आधा घण्टा बसेर गणना गर्छौं, हिँड्दाहिँड्दै गणना गर्न एक घण्टा प्रतिकिलोमिटरभन्दा कम चालमा गणनाको कार्य हुन्छ ।’

गणकहरुले गिद्धका प्रजाति छुट्टयाइ सङ्ख्याका साथै क्रियाकलाप (सिनो खाएको, घाम तापेको, पानी खाएको वा नुहाएको, आकाशमा उडेको, झगडा गरेको आदि) अभिलेख राख्ने कार्यसँगै गिद्धलाई हुनसक्ने खतरा र चुनौतीको अभिलेख गर्ने, गिद्धका प्रजाति र उमेर समूह पहिचान सहयोगको लागि पुस्तक, पोस्टर, मर्लिन एपको प्रयोग गरी फोटो तथा भिडियो खिच्ने कार्य गरिने बताइएको छ ।

गिद्ध गणनाका लागि बिहान ७ देखि ११ बजे र साँझ ३ देखि ६ बजेसम्मको समय निर्धारण गरिएको छ । यसअघिको सर्भेमा कञ्चनपुरमा गिद्धका १२० बढी गुँड फेला परेका थिए । यसमध्ये लोपोन्मुख अवस्थामा पुगेको डंगर गिद्धका मात्रै ११४ गुँड फेला परेका थिए ।

कञ्चनपुरमा ३०० देखि ४०० को हाराहारीमा गिद्ध रहेको चराविज्ञहरुको अनुमान रहेको छ । नेपालमा ९ प्रजातिका गिद्धहरु पाइने जनाइएको छ । यसमा डंगर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् ।

प्रत्येक वर्षको सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने गरिन्छ । नेपालमा सप्ताहव्यायी रुपमा १ देखि ७ सेप्टेम्बरसम्म गिद्ध दिवस मनाइँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर