भीम रावल र वामदेव गौतमलाई पार्टीमा भित्र्याउन संवादमा एकीकृत समाजवादी – Nepal Press

भीम रावल र वामदेव गौतमलाई पार्टीमा भित्र्याउन संवादमा एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका नेता भीम रावल र नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउन छलफल थालेको छ । आफ्नै नेता कार्याकर्ताहरुले एकपछि अर्को गर्दै पार्टी छाड्ने क्रम चलिरहेका बेलामा एमालेबाट असन्तुष्ट नेताहरुलाई पार्टीमा ल्याउनेगरी नेकपा एसले छलफल थालेको हो ।

दुई नेतासँग अध्यक्ष माधव नेपालसहित नेकपा एसका शीर्ष नेताहरुले पटकपटक भेटेर वार्ता गरिसकेका छन् । दुई नेतालाई पार्टीमा भित्र्याउनेगरी छलफल चलिरहेको नेकपा एसका सचिव सोमप्रसाद पाण्डे बताउँछन् । केही अघिदेखि छलफल चलेको भए पनि अहिलेसम्म घनीभूत रूपमा छलफल नभएको उनको भनाइ छ ।

उनले भने, ‘वामदेव गौतमले चाहिँ केही पदीय जिम्मेवारी पनि पाए हुन्थ्यो भन्नुभएको थियो । त्यो त अब सम्भावना छैन । अरु थप छलफल भएको छैन । हामी वाम एकताको निम्ति छलफल चलाइरहेका छौं ।’

अध्यक्ष नेपालसँगको भेटमा वामदेवले आफूलाई वरिष्ठ उपाध्यक्ष दिए प्रवेश गर्न तयार रहेको बताएका थिए, तर अहिले पार्टीको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन् ।

एमालेमा फर्किन गौतमले धेरै प्रयास गरे पनि केपी ओली र महासचिव शंकर पोखरेलबाट सकारात्मक जवाफ नपाएपछि विकल्पमा नेकपा एसमा जान चाहेका छन् । तत्कालीन नेकपा पनि नेता गौतमकै कारणले फुटेको कतिपय नेताहरुको आरोप छ, तर त्यो स्वीकार्न उनी तयार छैनन् ।

तत्कालीन नेकपाभित्रको विवादपछि गौतमले उपाध्यक्ष पदबाट राजीनामा दिएर एकता अभियान चलाएका थिए, तर अहिले त्यो अभियान पनि निष्क्रिय छ ।

वामदेवलाई नेकपा एसले पनि भित्र्याउन नचाहेको हो भन्ने जिज्ञासामा सचिव पाण्डे भन्छन्, ‘हामीले नचाहेको पनि छैन । बाहिर जसरी आएका छन्, त्यसरी प्रस्ताव पनि आएको छैन । कम्युनिष्ट पार्टी र आन्दोलन बचाउनुपर्छ भनेर लागिरहेका छौं ।’

तर १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग भिडेपछि धकेलेर डिलमा पुर्‍याइएका भीम रावललाई भने जिम्मेवारी दिन कुनै हिचकिचाहट नभएको उनको भनाइ छ ।

उनले भने, ‘उहाँ (भीम रावल)लाई ठाउँ दिन हामीलाई कुनै हिचकिचाहट छैन । कुनै समस्या छैन । उहाँले कस्तो खालको जिम्मेवारी लिने भन्ने उहाँको पनि प्रस्ताव आउनुपर्‍यो ।’

रावललाई नेकपा एसले महाधिवेशन अघि नै रोजेको पद दिन तयार भएको सन्देश पठाउँदासमेत अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । उनको लागि एमाले नेतृत्वबाट पार्टीमा ढोका बन्द रहेको अनौपचारिक सन्देश पाए पनि अहिलेसम्म पार्टी छाड्नेबारे निर्णय नगरेको बताउँदै आएका छन् । उनी उपयुक्त समयमा आफूले आगामी कदम चाल्ने तर्क गरिरहेका छन् ।

नेता रावल र वामदेवलाई पार्टीमा भित्र्याउन सके पार्टी संगठन बलियो बनाउन सकिने नेकपा एसको बुझाइ छ । एकता अभियानको नाममा गौतमले खडा गरेको संगठन र नेता रावलको सुदूरपश्चिममा बलियो पकड रहेकाले माधव नेपालले पनि प्रयास जारी राखेका छन् ।

उनले वाम एकताको लागि विप्लव, नारायणमान बिजुक्छे, मोहनविक्रम सिंह, मोहन वैद्य, सीपी मैनालीसँग पनि पछिल्लो समय छलफल गरिरहेका छन्, तर नेकपा माओवादी केन्द्रसँग केही समयअघि पार्टी एकताको चर्चा चले पनि अहिले कुनै सम्भावना नभएको नेताहरुले बताउँदै आएका छन् । नेकपा एसले अहिले समाजवादी मोर्चालाई नै अगाडि बढाउन चाहेको बताउँदै आएका छन् ।


प्रतिक्रिया

2 thoughts on “भीम रावल र वामदेव गौतमलाई पार्टीमा भित्र्याउन संवादमा एकीकृत समाजवादी

  1. हुन्छ हुन्छ । पार्टी र नेता ठ्याक्कै मिल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर