भारतको जिरिबाम जिल्लामा झडप हुँदा ५ जनाको मृत्यु – Nepal Press

भारतको जिरिबाम जिल्लामा झडप हुँदा ५ जनाको मृत्यु

मुम्बई । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तीमा ५ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा ५ जनाको मृत्यु भएको हो ।

‘जिरिबाममा बिहानदेखि नै दुई समुदायबीच झगडा भइरहेको छ । हालसम्म झडपमा ५ जनाको मृत्यु भइसकेको छ र हामी थप विवरणको प्रतीक्षामा छौं’, एक स्थानीय सरकारी अधिकारीले भने ।

घटनामा एक जनाको सुतिरहेको बेला गोली हानेर हत्या गरिएको थियो । अन्य ४ जना सशस्त्र व्यक्तिको त्यसपछि भएको गोली हानाहानको क्रममा मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

मणिपुर राज्यमा मुख्यतया हिन्दू बहुमत मेइतेई र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि द्वन्द्व बढ्दै आएको हो । द्वन्द्व बढ्दै गएपछि हाल पहिले बसोबास गर्ने समुदायलाई जातीय रेखामा विभाजन गरिएको छ ।

विद्रोही समूहले शुक्रबार गरेको रकेट आक्रमणमा एक ७८ वर्षीया वृद्धको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएपछि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो । एक स्थानीय सरकारको सूचनामार्फत ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षा’का लागि राज्यका सबै विद्यालय शनिबार बन्द गरिने घोषणा गरिएको हो ।

मणिपुरका पूर्वमुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट आक्रमण हुँदा एक वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

इन्डियन एक्सप्रेस नामक पत्रिकाले एक अज्ञात सुरक्षा स्रोतलाई उद्धृत गर्दै रकेटहरू गेल्वनाइज्ड फलामको पाइप प्रयोग गरेर बनाइएको ‘इम्प्रोभाइज्ड प्रोजेक्टाइल’ जस्तो देखिने जानकारी गराएको छ ।

शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसाको उल्लेखनीय वृद्धि भएको बताएको छ ।

मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ । अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन् । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर