बहुआयमिक चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक: गृहमन्त्री लेखक – Nepal Press

बहुआयमिक चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवादलगायतका बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् ।

इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिएअनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

सो अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित सीआईडी म्यागागिन’ को विमोचन गरेका थिए ।

गृहमन्त्री लेखकले आपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताए ।

‘आपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदानप्रदान हुनुपछ’, उनले भने, ‘समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्छ ।’

गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको उल्लेख गरे ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको चर्चा गर्दै उनले अपराधका चुनौतीहरूलाई सम्बोधन गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुत बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील रहेको बताए ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवादलगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताइन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कानून कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदानप्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सकिने बताए ।

कार्यक्रममा गृहमन्त्री लेखकले दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस २०२४ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने ग्लोबल कलेज अफ म्यानेजमेन्टका रूचि खरेल, द्वितीय हुने जेभियर एकेडेमीका प्रत्युश महर्जन र तृतीय हुने विश्वनिकेतन माविका निर्मल विक तथा उक्त प्रतियोगिताका मूल्याङ्कनकर्ताहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

साथै इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसरमा इन्टरपोल महासचिवालयद्वारा सन् २०२३ मा आयोजित ग्लोबल भिडियो कन्टेस्ट प्रतियोगितामा नेपाल प्रहरीद्वारा निर्माण गरिएको ‘Let’s Save the Planet’ विषयक भिडियो सर्वोत्कृष्ट घोषित भएको हुँदा उक्त भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङ श्रेष्ठलाई समेत गृहमन्त्री लेखकले सम्मानपत्र प्रदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर