सीमित स्रोतका कारण सन्तुष्ट हुने गरी काम गर्न सकिनँ : मेयर कोइराला – Nepal Press
नेपाल टक

सीमित स्रोतका कारण सन्तुष्ट हुने गरी काम गर्न सकिनँ : मेयर कोइराला

विराटनगर । निर्वाचनका बेला जनताका माझमा जाँदा विराटनगर महानगरका मेयर नागेश कोइरालाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सुशासनको मुद्दालाई प्राथमिकतामा राखेका थिए । उनले आफू विजयी भए आफू नेतृत्वको महानगरले विराटनगरको सरसफाइमा सुधार ल्याउने वाचा गरेका थिए ।

उनले प्रत्येक वडाको कम्तीमा एउटा सामुदायिक विद्यालय सुधार गर्ने र ती विद्यालयमा निजी विद्यालयमा जस्तै अभिभावकको आकर्षण बढाउने प्रतिबद्धता जनाएका थिए । मेयर काेइरालाल आफू विजयी भए विराटनगरलाई प्रदेशको शिक्षा र स्वास्थ्यको हब बनाउने सपना मतदातामाझ बाँडेका थिए ।

निर्वाचनका बेला मत माग्न जाँदा उनले कर्मचारी प्रशासनमा सुधार ल्याउने आश्वासन बाँडेका थिए । आफू मेयरमा विजयी भएसँगै श्वेतपत्र जारी गरेर उनले कांग्रेस नेतृत्वको अघिल्लो सरकारको समेत आलोचना गरेका थिए । २०७९ साल भदौ ९ गते श्वेतपत्र जारी गर्दै महानगरका मेयर कोइरालाले सार्वजनिक सम्पत्तिको संरक्षण र दरबन्दीविना राजनीतिक पहुँचका भरमा भर्ती गरिएका कर्मचारी हटाउने घोषणा गरेका थिए ।

महानगरवासीका बीचमा यिनै र यस्तै सपना बाँडेर विजयी भएका मेयर कोइरालाको आधा कार्यकाल बितिसकेको छ । आधा कार्यकाल बित्दा आफैंले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ । कर्मचारी भर्नामा राजनीतिक दबाब र प्रभावबाट मेयर कोइराला उम्किन नसकेको भन्दै आलोचना पनि हुने गरेको छ ।

मेयर कोइरालाले वाचा गरे जस्तै सार्वजनिक सम्पत्तिको संरक्षणका विषयमा महानगरको ठोस योजना नआएको, आफू निकटकालाई वितरणमुखी योजना बाँडेको आरोप उनीमाथि लाग्दै आएको छ । मेयरको आधा कार्यकालको सेरोफेरोमा रहेर विराटनगर महानगरका मेयर नागेश कोइरालासँग नेपाल प्रेसका सुमन पुरीले गरेको कुराकानी नेपाल टकमा :

– आधा कार्यकाल बिताँउदा बाहिरबाट देखेको महानगर र आफैंले नेतृत्व गरेको महानगरमा के फरक पाउनुभयो ?

हिजो निर्वाचित भएर आउँदा जुन तरिकाको उत्साह उमङ्ग थियो, त्यो कमी भएको छ । हिजो महानगरवासीले सोचेको चाहेको सबै काम भ्याउँछु भन्ने लागेको थियो । साधनस्रोत सीमित भएको र महानगरवासीको चाहना असीमित भएका कारण सबै काम गर्न सकिरहेको छैन ।

जति मैले इच्छा गरेको थिएँ, त्यति काम गर्न सकेको छैन । मलाई पनि मैले सोचे जस्तो काम गर्न सकिरहेको छैन भन्ने महसुस भइरहेको छ । महानगरमा हामीले गर्न चाहेका योजना थुप्रै छन्, तर स्रोत एकदमै कम छ ।

परार हामीले ६४ करोड ६ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेका थियौं । यसपालि ६२ करोडमा छ । यति पैसाले हामीले चाहेका योजनाहरू सुरु गर्न सकेका छैनौं । एउटा क्षेत्रलाई मात्रै प्राथमिकतामा राखेर हुँदो रहेनछ । शिक्षालाई पनि दिन पर्‍यो, स्वास्थ्यमा पनि छुट्टाउनुपर्‍यो । भौतिक पूर्वाधारमा सबैभन्दा बढी जनताको माग छ । वडामा पैसा पठाउनुपर्छ । सीमित स्रोतले प्राथमिकतामा रहेका सबै कामलाई कसरी अगाडि बढाउने भन्नेतर्फ सधैं हाम्रो ध्यान गइरहेको छ ।

– यो अवधिमा के काम गर्नुभयो ? हिजो निर्वाचनमा गरेका वाचा र घोषणापत्र सम्झिनु भएको छ ?

मैले हिजो जनताका बीचमा जाँदा विराटनगर महानगरलाई सफा बनाउँछु भनेको थिएँ । म आउनुभन्दा अगाडि र आएपछि के फरक भयो भनेर तपाईंहरुले पनि महसुस गर्नुभएको छ । मैले ठूल्ठूलो काम गर्छु भनेको थिइनँ । महानगर सफा बनाउँछु भनेको थिएँ । परिणाम आइरहेको छ । महानगरवासीले सरसफाइका विषयमा राम्रो फिडब्याक दिनुभएको छ । हामीले सबैभन्दा ठूलो फोकस सरसफाइमा दिएका छौं । हाम्रो फोकसले हिजोको भन्दा सरसफाइ राम्रो भएको छ भन्ने मेरो दाबी छ । हामीले बीसौं वर्षदेखि सफा नभएका महानगरका नाला सफा गरेका छौं । जसका कारण विराटनगरमा वर्षा याममा हुने डुबानमा धेरै कमी आएको छ ।

हिजो डुबानको समस्या कस्तो थियो ? आज कस्तो भयो ? यद्यपि हामीले फोहोर उठाए पनि त्यसको दिगो व्यवस्थापनको काम भने गर्न सकेका छैनौं । डम्पिङ साइटमा लगेर फ्याँक्ने काम गरेका छौं । डम्पिङ साइटको फोहोर पनि व्यवस्थापन गर्न सके दिगो रूपमा सरसफाइका लागि कोशेढुंगा बन्थ्यो । त्यो काम हामीले गर्न सकेका छैनौं । हामीले त्यो दिशातर्फ अगाडि बढ्न तीनचार वटा कम्पनीसँग कुरा अगाडि बढाएका छौं । एडीबी, कोरियन एजेन्सी, चाइनिज एजेन्सी र इन्डियन एजेन्सीसँग पनि कुरा गरिरहेका छौं । अब कसले पहिलो प्राथमिकतामा राखेर कुरा गर्छ, त्योअनुसार प्लान्ट लगाउने छौं ।

हिजो हामी आउँदा विराटनगर महानगरका सामुदायिक विद्यालय जुन तरिकाले चल्थ्यो, आज त्योभन्दा धेरै भिन्न भएको छ । हिजोको एडमिसन गर्ने परिपाटी र आजको परिपाटीमा धेरै फरक आएको छ । हिजो हामी आउँदा विराटनगर महानरका तीन वटा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण थियो । तीन वटा सामुदायिक विद्यालयमा मात्रै विद्यार्थी जान चाहन्थे । आजको दिनमा बजारभित्रका सबै सामुदायिक विद्यालयमा विद्यार्थी अभिभावकको आकर्षण बढेको छ । बजारका सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयको हाराहारीमा आएका छन् ।

त्यो भर्नाका बेला विद्यार्थीको रुझानले देखाउँछ । संख्यामा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । सामुदायिक विद्यालयमा भर्ना गराउन आज सोर्स लगाउनुपर्ने अवस्था आएको छ । यो मेरो दाबी हो । तपाईंले पनि तथ्याङ्कमै हेर्न सक्नुहुनेछ । अघिल्लो वर्ष हामीले महानगरका सबै विद्यालयका सबै कोठामा पङ्खा हाल्ने काम ग¥यौं । हामीले पङ्खा वितरण गरेपछि सबै कक्षा कोठामा पङ्खा व्यवस्था भएको छ । यो साल छात्राहरूका लागि मैत्री हुने शौचालय बनाउन बजेट विनियोजन गरेका छौं । सबै विद्यालयमा छात्रामैत्री शौचालय बनाउँछौं ।

– तपाईंले हिजो बजारका मात्रै होइन, हरेक वडामा एउटा विद्यालय मेरै कार्यकालमा बनाउँछु भन्नुभएको होइन ? बजारमा निजीका विद्यार्थी लगेर अङ्ग्रेजीमा पढाएर महानगरका संस्थागत विद्यालय सुध्रिए भन्न मिल्छ ?

सबै कुरा एकै पटक राम्रो हुँदैन । हामीले आएर सुरु गरेपछि तीन वटाबाट बढे नि ! हामी बजारमा मात्रै होइन, सबै वडामा सामुदायिक विद्यालय सुधार्न लागेका छौं । विद्यालय सुधार्छु भनेरमात्रै हुँदैन, विद्यालयको भौतिक पूर्वाधार पनि राम्रो बनाउनुपर्छ । हामीले महानगरको छुट्टै पाठ्यक्रम बनाएका छौं । शिक्षकहरूलाई दण्ड सजायको व्यवस्थालाई कडाइका साथ अगाडि बढाएका छौं ।

महानगरअन्तर्गतका शिक्षकहरूको हामीले सालैपिच्छे मूल्याङ्कन गर्ने व्यवस्था गरेका छौं । शिक्षकको मूल्याङ्कनका आधारमा स्कुलको दण्ड जरिवाना गर्न थालेका छौं । विद्यालयमा शौचालयको अवस्थालाई सुधार र शौचालयको सरसफाइको अवस्थालाई हामीले फेरेका छौं । हामी विद्यालय सुधार्ने विषयमा लयमा छौं । हाम्रो प्रयत्न जारी छ ।

– यहाँ मेयरको लागि उम्मेदवार भइरहँदा विराटनगर महानगरलाई प्रदेशकै स्वास्थ्य हब बनाउँछु भन्नुभएको थियो होइन ? विराटनगरभित्र ठूल्ठूला अस्पताल छँदैछन्, ती अस्पतालका कारण हब बन्छ भन्ने लागेर हो कि महानगरले पनि काम गर्ने भनेर त्यसो भन्नुभएको ?

स्वास्थ्यको क्षेत्रमा हामीले काम गरेका छौं । कोशी अस्पतालमा अथवा प्राइभेट इन्स्टिच्युटमा जाँदा अल्ट्रा साउन्डको १५ सय रुपैयाँ तिर्नुपर्छ । महानगरका स्वास्थ्य चौकीहरूमा ५०० रुपैयाँमा पाउने व्यवस्था गरेका छौं । हामीले महानगरका स्वास्थ्य चौकीहरूमा फिजियोथेरापीको सेवा दिएका छौं । हामीले १५ नम्बर वडामा यो सेवा निःशुल्क दिएका छौं । सरकारलाई रानी र झापा बैजनाथपुरमा भएको हेल्थ सेन्टरलाई १५ बेडको अस्पतालमा विस्तार गर्ने भनेका छौं ।

यस्तै विगतको पाठ सिक्दै विराटनगर र उर्लाबारीमा भएको आगलागीका कारण मानिसहरू मरे । महानगरले बर्न अस्पताल बनाउन प्रस्ताव गरेको छ । यी दुवै हेल्थ सेन्टरलाई बर्न अस्पतालको रूपमा विकास गर्न साझेदारी गर्न खोजेका छौं । किर्तीपरको बर्न अस्पतालसँग समन्वय गरेर दुवै हेल्थे सेन्टरमा बर्न अस्पतालका लागि बेड बनाउने निर्णय गरिसकेका छौ । स्वास्थ्य मन्त्रालयलाई हामीले चिठी लेखेका छौं । स्वास्थ्यले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । नेपाल सरकारले निर्णय गर्नेबित्तिकै हामी काम थाल्छौं ।

– विराटनगर महानगरले वितरणमुखी योजना बाँड्यो । आफ्ना आसेपासेलाई खुसी पार्न महानगर लाग्यो भन्ने आलोचना हुन थालेको छ । यहाँलाई यस्तो लाग्दैन ?

हामीले यसरी काम गरेका छैनौं । हामीले महानगरको आवश्यकतालाई हेरेर काम गरेका छौं, योजना बनाएका छौं । तपाईं आकाशबाट राति हेर्नुभयो भने सबैभन्दा उज्यालो ठाउँ जुन देख्नुहुन्छ, त्यो विराटनगर हुनेछ । हामीले विराटनगरको सडक बत्तीको व्यवस्थापन गरेका छौं । तपाईं राति १२ बजे गाडीमा विराटनगर छिर्नुभयो भने गाडीको बत्ती चाहिँदैन । सडक बत्तीको भरमा महानगरको हरेक टोल र घरमा पुग्न सक्नुहुन्छ ।

हामीले बहुवर्षीय योजनाहरू पनि गरिरहेका छौं । हामीले विराटनगरमा यो वर्ष ५ स्थानमा ट्राफिक लाइट लगाउने भनेका छौं । यसको काम सुरु गरिसकेका छौं । चाँडै कञ्चनवारी, घाँस चोक, जलजला चोक, तीनपैनी र रोड शेषमा ट्राफिक बत्ती हाल्नेछौं । यसको काम भइरहेको छ । १५ दिनभित्रमा यो सुचारु नै हुन्छ ।

हामीले महानगरको २ नम्बर वडामा सन्ध्याकालीन आरतीको योजना अगाडि बढाएका छौं । यो हनुमान मन्दिरमा सन्ध्याकालीन आरतीका लागि कन्स्ट्रक्सन काम गरिरहेका छौं । १८ करोडको लागतमा प्रधानमन्त्री पार्क बनाउने काम गरिरहेका छौं । तीन वटा पोखरीको सौन्दर्यीकरणको काम गरिरहेका छौं । ऐतिहासिक र पुरातात्त्विक विराट राजाको दरबार क्षेत्रमा रहेको पोखरीको सौन्दर्यीकरणको काम गरिरहेका छौं । मन्ता पोखरी र रानी पोखरीको सौन्दर्यीकरणको काम पनि भइरहेको छ ।

एक नम्बर वडाको बालोद्यानलाई पनि हामीले पौडी पोखरीसहितको पार्क बनाइरहेका छौं । जहाँ बच्चाहरूले खेल्न कुद्न सक्नेछन् । योबाहेक किसानहरूका लागि हामीले काम गरेका छौं । मल र बीउ वितरणको काम गरेका छौं । विराटनगर महानगरमा उपप्रमुखको नेतृत्वमा देशमै नमुना न्यायिक समितिको काम गर्नुभएको छ भन्ने म दाबी गर्नसक्छु । मलाई लाग्छ, नेपालभरकै इफेक्टिभ न्यायिक समिति विराटनगर महानगरपालिकाको बनेको छ ।

– यहाँहरूले धेरै कार्यक्रम अगाडि बढाउने निर्णय गर्नुभयो । कार्यक्रमहरू अगाडि बढाएर पनि ब्याक फर्कनुभयो । सुरुमा विराटनगरको बजार क्षेत्रमा पार्किङ निषेध भन्नुभयो । अहिले सडकमै पार्किङ गर्न दिइरहनु भएको छ ।

यसमा मेरो रिजर्भेसन छ । तपाईंले जसरी बुझ्नुभएको छ । मैले जसरी बुझाउन खोजिरहेको छु, तपाईंले नबुझे जस्तो लाग्यो । म जनताबाट मत पाएर निर्वाचित भएको मान्छे हो । म जुन ठाउँमा जान्छु, मलाई नगर पिता भन्छन् । अब व्यापारीहरु पनि त यही महानगरका नागरिक हुन् । यहीका मान्छेहरू हुन् नि ! अब महानगरले बजारको सडकबाट पार्किङ हटाउँदाखेरि व्यापारीहरुले सटर बन्द भयो भन्नु थाल्नुभयो । मेयर साबले हेर्न पर्‍यो भन्नुभयो । मोटरसाइकल पार्किङ गर्न नपाउँदा व्यापार भएन भन्नुभयो । उहाँहरूलाई समस्या भएको कुरा सुनेर हामीले पार्किङ खोलेको हो । मैले पार्किङ खोलेपछि हाम्रो व्यापार फस्टायो भनेर स्याबासी दिनुभयो । मैले जे गरें, ठीक गरें जस्तो लाग्छ ।

हामीले गरेका सबै निर्णय जनताका लागि ठीक नहुन सक्छन् । जनतालाई ठीक लागेन भने त्यो निर्णय किन र कसका लागि गर्न पर्‍यो । नेपालको संविधान त परिवर्तन हुन्छ । संशोधन हुन्छ । संविधान संशोधन हुन्छ भने हामीले गरेको निर्णय कुनै लकिर होइन, जुन बदलिँदैन । हामीले गरेको कुनै निर्णयले जनतालाई दुःख हुन्छ भने हामी पनि सच्चिनुपर्छ । हामीले जनतालाई रिलिफ हुने काम गर्दा मान्छेहरू महानगर एकपछि अर्को निर्णयबाट पछि हट्दै भनेर भन्छन् । यसले हामीलाई केही फरक पर्दैन । हामीले गरेको निर्णय पत्थरको लकिर हो र, नफेरिने ? महानगर सबैको चित्त बुझाउँदै अगाडि बढ्छ । जनतालाई दुःख भयो भने सच्चिन्छ । हामीले त्यहीअनुरूपको कार्य गरेको हो ।

– यहाँले महानगरको कर्मचारी प्रशासन सुधार्छु भन्नुभएको थियो । कर्मचारी धेरै भए, आवश्यकताका आधारमा भर्ना भएका छैनन् भन्नुभएको थियो । हटाउनु त भएन ?

त्यो मैले भन्दा पनि अरूले मूल्याङ्कन गर्ने कुरा हो, तर म भन्छु अहिले विराटनगर महानगरपालिका भित्रको कार्यको विषयमा कम्पलेन आएको छैन । विगतको भन्दा हामीले धेरै सुधार गरेका छौं । महानगरमा वर्षौंदेखि जरो गाडेर बसेका कर्मचारीहरूको हामीले सरुवा गरेका छौं । क्षमताका आधारमा हामीले कर्मचारीलाई जिम्मेवारी दिएका छौं न कि सम्बन्धका आधारमा । महानगवासीले मूल्याङ्कन गर्ने कुरा हो । अब केही कम्पलेन आएको छ खासगरी वडामा कर तिर्ने विषयमा । यो हाम्रा कारणले मात्रै समस्या आएको होइन । करको प्रविष्ट गर्ने सिस्टम नेपाल सरकारले दिएको सर्भरको डाटामा जाने हो । नेपाल सरकारको सर्भर डाउन हुँदा जनताले दुःख पाएको कुरा आउनसक्छ, तर महानगरले दिने सेवामा अहिले समस्या छैन । कमी कमजोरी भएको छैन ।

अब कर्मचारी धेरै भएको कुरा । यसमा हामीले जनतालाई दुःख दिएको गुनासो नआउञ्जेल निकाल्न पनि सकेका छैनौं । हामीसँग क्वालिटीभन्दा पनि क्वान्टिटी बढी छ । यो सुरुदेखिकै कुरा हो, तर प्रक्रिया पुगेर नियुक्त भएका कर्मचारीलाई निकाल्नु पनि अस्वाभाविक हुनेरहेछ, तर हामीले उहाँहरूलाई कसरी काममा लगाउने भन्नेतिर ध्यान दिएका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर