आज थारु समुदायको पुरुष व्रत बस्ने बर्का अट्वारी पर्व, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा – Nepal Press

आज थारु समुदायको पुरुष व्रत बस्ने बर्का अट्वारी पर्व, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

धार्मिक, सांस्कृतिक र परम्परागत महत्त्व जोगाउन मुख्यमन्त्री आचार्यको आग्रह

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने बर्का अट्वारी एक विशेष धार्मिक र सांस्कृतिक पर्व भएको बताएका छन् ।

बर्का अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।

‘थारू समुदायमा बर्का अट्वारी पर्वको निकै महत्व रहेको छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ’शुभकामना सन्देशमा भनिएको छ,‘आइतबारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य ।

सूर्य अग्निको प्रतीक पनि हो । प्रकृति पूजक थारू समुदायले विशेष गरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धूमधामका साथ मनाउने प्रचलन रहिआएको छ । यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।’

लुम्बिनी प्रदेश सरकार प्रदेशभित्र बसोबास गर्ने सबै जाति, समुदायले मनाउने आ–आफ्नै मौलिक, धार्मिक, सांस्कृतिक परम्पराहरूको संरक्षण, सम्वद्र्धन र प्रवर्धनको लागि प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

मौलिक, कला, संस्कृतिहरूको प्रवर्द्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने भएकाले संरक्षणसँगै यसको प्रवर्धनमा जुट्न पनि उनले आह्वान गरेका छन् । लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लामा मा सार्वजनिक बिदा दिएको छ ।

बर्का अट्वारी पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ । यो पर्व निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर