राप्ती नदीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी
चितवन । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ ।
शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए ।
भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए ।
प्रहरी निरीक्षक केसीले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन ।’
शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आज पनि जारी रहेको उनले जानकारी दिए ।