प्रचण्डको जिकिर- प्रतिक्रान्तिका हर्कत भइरहेका छन्, फेरि एउटा संघर्ष आवश्यक छ – Nepal Press

प्रचण्डको जिकिर- प्रतिक्रान्तिका हर्कत भइरहेका छन्, फेरि एउटा संघर्ष आवश्यक छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिका हर्कतहरू भइरहेको दाबी गरेका छन् । यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको उनको भनाइ छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’ को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासविरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको जिकिर गरेका हुन् ।

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको दाबी गर्दै प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए ।

पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।

‘हामीले गरेको परिवर्तनकारी जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ’, अध्यक्ष दाहालले भने, ‘तर देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भए पनि जनताले गरेको त्यागको समूचित मूल्यांकन भएन । देश र जनता हितका खातिर संकल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

सहिद रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरूले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उनले बताए ।

सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रुपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिङ्गो पार्टीपङ्क्तिमा बलिदानीभाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताए ।


प्रतिक्रिया

One thought on “प्रचण्डको जिकिर- प्रतिक्रान्तिका हर्कत भइरहेका छन्, फेरि एउटा संघर्ष आवश्यक छ

  1. प्रतिक्रान्तिको नाईके नै प्रचण्ड हो । दिल्लीको दलाली गरेर देशलाई दिल्लीको अगाडि निरीह बनाउने यस्ता मतियारले प्रतिक्रान्ति भन्ने ? अब पनि हामी जनताले यस्ता झुटका कुरा सुन्ने ? हुन त जनताले यस्तालाई तिरस्कार गरिसके । अब जति फलाके पनि काम छैन । दलाली गर्ने मिडिया, विशेषगरेर १२ भाइ नामका देशका दुस्मनले त अलि अलि महत्व देलान । तर अब जनताले प्रचण्ड र दलाल मिडियाले भनेका कुरा पत्याउन छाडिसके । यो चाहिँ राम्रो भैरहेको छ देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर