ढाडभरि भगवानको ट्याटु खोपेर भाइरल भएकी सजना, भन्छिन्- अझै पूरा भएको छैन – Nepal Press

ढाडभरि भगवानको ट्याटु खोपेर भाइरल भएकी सजना, भन्छिन्- अझै पूरा भएको छैन

दमौली । पोखराकी सजना तिवारी टिकटक र रिल्समा भाइरल भएकी छन् । कारण हो, उनले आफ्नो ढाडभरि खोपेको भगवानको ट्याटु ।

आफ्नै संगी स्वस्तिका भट्टराईले सजनाको ढाडको ट्याटु एक्सपोज गर्दै खिचेको भिडिओ टिकटकमा हालिदिएकी थिइन् । उक्त भिडिओले लाखौँ भ्यूज मात्र पाएन, भाइरल नै बन्यो । राम्रा नराम्रा दुवै खाले प्रतिक्रियाहरू उनले पाइरहेकी छन् ।

सजनाले ढाडमा गणेशको आकृतिको ट्याटु बनाएकी छन् । ढाडमा मात्र नभएर उनका दुवै हातभरि विभिन्न आकार प्रकारका ट्याटु छन् । अन्य अंगमा भने नभएको उनी बताउँछिन् ।

आफ्नो भिडियो भाइरल भएपछि सजना आफैँ अचम्ममा परेकी छन् । यति बेला शुभेच्छुकहरूको फोन र म्यासेज रिप्लाई गर्न भ्याइनभ्याई छ उनलाई । आखिर यसरी ट्याटु खोप्न उनलाई किन रहर जाग्यो त रु भाइरल हुनकै लागि त होइन ?

हामीले यस्तो प्रश्न गर्दा उनले जवाफ दिइन्, ‘म एउटा आध्यात्मिक लाइनको व्यक्ति हुँ । मलाई भगवानप्रति पूर्ण विश्वास छ । भगवान शिव र हनुमानजी एकदमै मन पर्छ । त्यही भएर भगवानको ट्याटु खोपेको हुँ ।’

अहिले शरीरमा भएका ट्याटु दुई वर्ष अगाडि नै खोपेको सजनाले सुनाइन् ।

उनी भन्छिन्, ‘रहर त पहिलेदेखि नै थियो । खोपेको चाहिँ दुई वर्ष भयो । बीचमा रेस्ट गर्दै करिब एक महिना लगाएर खोपेको हुँ । दुई हातमा भने पूरा हुन बाँकी छ । हनुमानको ट्याटु पूरा भएको छैन । अब जाडो लागेपछि थप्ने सोचमा छु । गर्मीमा त पाक्ने सम्भावना हुन्छ ।’

ट्याटु खोप्दा निकै दुख झेल्नुपर्ने उनको अनुभव छ । ट्याटु खोप्न थालेपछि एक हप्ता त उनलाई हनहनि जरो आएको थियो ।

सजनाले भनिन्, ‘गाह्रो हुन्छ नि । सियोले खोप्दा त दुख्छ, ट्याटु खोप्दा नदुख्ने त हुँदै भएन नि । लगभग एक महिना जति धेरै केयर गर्नुपर्छ ।’

ट्याटु खोप्दा शरीरलाई दुख हुने मात्र नभएर सास्ती पनि हुने उनी बताउँछन् ।

अहिलेसम्म ट्याटुमा कति खर्च गर्नुभयो भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘एकै पटक तिरेको होइन । बिस्तारै खोप्दै तिरेको हो । यति नै भनेर यकिन चाहिँ भएन । तर महँगो नै पर्छ । यत्तिको ट्याटु खोप्नलाई लगभग डेढ लाख लाग्छ ।’

सामाजिक सञ्जालमा भाइरल हुँदा न उनी हौसिएकी छिन् न आत्तिएकी । यसलाई आफूलाई खासै फरक नपर्ने उनी बताउँछिन् ।

‘मलाई त त्यस्तो केही फरक पर्दैन । सामाजिक सञ्जालमा पोजेटिभ न्यूज पनि छ, नेगेटिभ न्यूज पनि छ । मान्छेले हेर्ने दृष्टिकोण हो । आआफ्नो तरिकाबाट आफूलाई जस्तो लाग्यो, त्यस्तै कमेन्ट गरेका छन् । त्यसमा मलाई कुनै आपत्ति पनि छैन । त्यसले मलाई कुनै अप्ठ्यारो पनि पार्दैन ।’ उनले भनिन् ।

आफ्नो ट्याटुका कारण पारिवारिकरुपमा कुनै समस्या नपरेको सजनाले बताइन् । उनी भन्छिन्, ‘मेरो परिवारले पूरा सपोर्ट गर्नुहुन्छ । भगवानप्रति मेरो परिवारकै आस्था छ । त्यसैले कसैलाई पनि आपत्ति छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर