श्रीमान वडा सदस्य भएपछि मजदुरी गर्नुपर्ने मजबुरीमा अस्मिता
चितवन । २०७४ सालको स्थानीय चुनावअघि मोहन स्याङ्तान रोजगारीका लागि दुबईमा थिए । करिब तीन वर्ष उनी दुबईमा नै रोजगारी गरे । त्यो समय मोहनकी श्रीमती अस्मिता तीन छोराछोरी पढाएर, घर सम्हालेर बसेकी थिइन् ।
उनीहरूको घर भएको ठाउँ माडी वडा नम्बर ९, बाँदरझुलामा माध्यमिक तहसम्म पढाइ हुने विद्यालय थिएन । त्यसैले छोराछोरी पढाउन बाँदरझुलाबाट वसन्तपुर बजारमा आएर कोठा भाडा लिई तीन छोराछोरीको साथमा बसेकी थिइन् अस्मिता ।
छोराछोरी पढाएर घरमा रक्सी बनाएर बेच्ने पनि गर्थिन् उनी । स्याङ्तान दुबई छँदै नेपाल संघीयतामा गयो । संविधान निर्माणसँगै २० वर्षदेखि रोकिएको स्थानीय तह निर्वाचन पनि हुने भयो ।
नेकपा माओवादीका कार्यकर्ता स्याङ्तानको खोजी त्यतिबेला स्थानीय नेतृत्वले गरे । । स्थानीय नेताहरूले उनलाई वडाध्यक्ष बनाउनुपर्छ भन्ने कुरा गरे । विदेश रहेको मोहनसम्म खबर पुग्यो । तीन वर्ष दुबई बसेका मोहन २०७४ सालमा आफ्नो वडाको नेतृत्व गर्ने अभिलासा लिएर फर्किए । तर, २०७४ को स्थानीय निर्वाचनमा उनले नेतृत्व गर्ने अवसर भने पाएनन् । स्थानीय साना विकासका काममा ठेक्कापट्टा गरेर जीविका चलाउन थाले ।
मोहन भन्छन्, ‘पार्टीले वडा अध्यक्ष बनाउँछु भनेर बोलाएर फर्किएको त हुँ । तर, त्यतिबेला अवसर पाइनँ ।’
दोस्रो निर्वाचनमा भने उनलाई पार्टीले उम्मेदवार त बनायो । तर, अध्यक्ष होइन वडा सदस्यमा । उनी वडा सदस्यमा निर्वाचित पनि भए ।
२०६१ सालदेखि तत्कालीन नेकपा माओवादीको लडाकु भएर भूमिगत जीवन बिताएका थिए मोहनले । त्यसपछि शक्तिखोरस्थित शिविरमा बसेर । घर फर्किएपछि दुबई गएका थिए उनी ।
मूलुक संघीयतामा गएपछिको दोस्रो स्थानीय तहमा वडा सदस्य बनाएपछि अहिले माडीको वडा नम्बर ९ का लागि नेता बनेका छन् स्याङ्तान । नागरिकका समस्या सुन्ने, अगुवाइ गर्ने नेता भएका छन् । तर, वडा सदस्य निर्वाचित भएपछि आफ्नै घर भने हेर्न भ्याएनन् उनले ।
मोहन वडा सदस्य निर्वाचित भएपछि सरकारको कानून अनुसार स्थानीय विकासको काममा ठेक्कापट्टा गर्न नमिल्ने भयो उनले । निर्वाचनअघि त उनले त्यही काम गरेर छोराछोरी पढाउने, परिवार चलाउने गरिरहेका थिए । तर, अहिले वडा सदस्यको मासिक ९ हजार ९ सय रूपैयाँ भत्ताबाहेक अरु आम्दानी हुने बाटो छैन मोहनसँग ।
उनी जनप्रतिनिधि भएपछि श्रीमतीलाई कामको बोझ थपिएको छ । छोराछोरीको पढाइ खर्चबाहेक महिनाको करिब १५ हजार रूपियाँ घरको खर्च छ, परिवारको खर्च हिसाब गर्दै मोहनकी श्रीमती अस्मिताले सुनाइन्, ,श्रीमानको भत्ता पनि तीन/चार महिनामा मात्र आउँछ त्यतिले त परिवार चल्नै पुग्दैन ।’
श्रीमान वडा सदस्य भएपछि श्रीमतीले घर चलाउने विकल्प खोज्ने अवस्था आयो । २०८० असारदेखि अस्मिता नगरपालिकाले घरघर उठाएको फोहोर छुट्याउने काममा मजदुरी गर्न थालिन् ।
माडीको वसन्तपुरमा भेटिएकी अस्मिताले भनिन्, ‘माडी नगरपालिका घरमा उठाएको फोहोर छुट्याउने काम गर्छु । दिनको हाजिरीमा साहूले काम दिन्छन् । दैनिक तीन सय रूपैयाँले महिनाको ९ हजार कमाइ हुन्छ । तर, काममा नगएको दिनको पैसा आउँदैन ।’
मोहन र अस्मिता दम्पतीका तीन सन्तान छन् । एउटी छोरी १२ कक्षा, एउटा ८ कक्षा र छोरा ५ कक्षामा पढ्छन् । उनीहरूलाई पढाउन र हुर्काउनको लागि पनि आफूले मजदुरी गर्नुपरेको उनले बताइन् ।
उहाँ चुनावमा जितेपछि त पैसा पनि हुँदैन, समय पनि छैन अस्मिताले गुनासो गरिन् । उनले श्रीमान जनप्रतिनिधि नहुँदा १० कक्षा जमिन ठेक्कामा लिएर खेतीपाती पनि गरेकी थिइन् । दाल चामल किन्नुपर्थेन । दाल चामल आफूले उब्जाउँदा खर्च कम थियो । श्रीमान वडा सदस्य भएपछि एक्लै खेती गर्न भ्याइनन् । महिनाको खर्च पनि नपुग्ने भएपछि घर चलाउन काममा जानुपर्यो । घरेलु रक्सी बनाएर बिक्री गर्ने काम पनि छोडेकी छन् ।
महिनाको खाने जुटाउनै काममा जानुपरेको उनले बताइन् । वडा सदस्यको श्रीमती भए पनि उनले अनौपचारिक क्षेत्रको मजदुरले पाउने दुःख भने भोगिरहेकी छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म फोहोरमा काम गर्नुपर्छ । उनलाई वडा सदस्यको श्रीमती भएर पनि फोहोरमा काम गर्न गएको पनि भन्ने गर्छन् । तर, मोहनले भने अस्मितालाई काम सानो ठूलो हुँदैन, काम गर्न लजाउनुहुँदैन भनेर सिकाउने गरेका छन् । त्यसैले उनलाई गरिखान लाज हुँदैन भन्ने लाग्छ ।
उनको काम सबैखाले मिसिएर ल्याइएको फोहोबाट प्लाष्टिक, सिसालगायतका सड्ने/नसड्ने फाहोर छुट्याउनु हो । स्थानीय नविन भन्ने दीर्घ सुनारले नगरपालिकासँग फोहोर वर्गिकरण गर्ने ठेक्का लिएका छन् । अस्मितासहित १० जनाले त्यहि फोहोर वर्गीकरण गर्ने काम गर्छन् ।
अस्मिताले फोहोरमा काम गर्दा हात खुट्टामा घाउ आउने एलर्जी हुने समस्या भएको बताइन् । ठेकेदारले फोहोरबाट बच्न खुट्टामा लगाउने बुट जुत्ता पनि दिएका छैनन् । पञ्जा र मास्क भने दिने गरेका छन् । तर, फोहोरमा लगाउने पोशाक र आफ्नो सुरक्षा सामग्री पनि नपाएको उनको गुनासो छ । मास्क पनि धोएर एउटै लगाउनुपर्ने बाध्यता भएको उनले गुनासो गरिन् ।
‘त्यही पञ्जा पनि एक महिनालाई पुर्याउनु भन्छन्’, अस्मिताले भनिन्, ‘फुटेका सिसाले पञ्जालाई एकै हप्तामा छियाछिया बनाइदिन्छ । खुट्टामा सिसा बिझ्छ । पुच्छर उम्रिएका किरा खुट्टाभरी हुन्छन् । घरबाटै लगाएको चप्पल लगाएर फोहोर छुट्याउनुपर्छ । तर, हामीलाई काम गरेको दिनको ज्याला र २५ रुपैयाँ खाजा खर्च बाहेक अरु केही पाइँदैन ।’
काम लगाउने साहूसँग पारिश्रमिक बढाउने कुरा गर्दा पनि कवाडी सामानको मूल्य नै घटेको भन्ने । कम काम गरे भनेर गाली गर्ने गुनासो गरिन् । उनले भनिन्, ‘तलब बढाउने कुरा गर्यो भने तिमीहरु काममा नआएपनि केही हुन्न यस्तो काम गर्ने जति पनि पाइन्छ भन्ने गर्छन् ।’
यी विषयमा मोहनले चाहे भने उनले वडामार्फत नगरपालिकामा आफ्नी श्रीमती जस्तै फोहोर वर्गीकरण गर्ने काम गरेका महिलाहरुका सुरक्षा सामग्री व्यवस्थाका लागि पहल गर्न सक्छन् । तर, उनलाई यो समस्याबारे जानकारी नै नभएको बताए ।
मोहन भन्छन्, ‘यो विषयमा मलाई थाहा नै थिएन । उसले काम गर्ने ठाउँमा म गएको छैन, कसरी काम गर्छ थाहा नै छैन ।’