नागरिक उड्डयन क्षेत्र सुधार्ने नेपाल एयरलाइन्सले नै होः मन्त्री पाण्डे (भिडिओ)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् ।भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए। उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए । मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको शुरुवात कहाँबाट गर्नुपर्छ भन्नेकुरा बुझिसकेको बताए ।
सत्य र निष्ठाबाट विचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताए। भाषाहरुको संरक्षण, संवद्र्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने बताए । उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ । नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन तबसम्म अरु सुधार्न सक्दैन । अहिले एनएसी भन्छौँ । अब मैले त्यसलाई आरएनएसी नै भन्ने विचार गरेको छ । आरएनएसी भनेको पुरानो रोयल होइन की, रिफर्म नेपाल नेपाल एयरलाइन्स हो । रिफर्म गरेपछि मात्रै यो नेपाल एयरलाइन्सले एउटा बाटो लिन्छ । नेपाल एयरलाइन्स रिफर्म भयो भने त्यसले नै बुद्ध एयरलाइन्सलाई नियमन गर्छ । टिकट बढी मूल्य लिन सक्दैन । त्यसले नै कतार एयरलाइन्सलाई नियमन गर्छ । उसले पनि टिकटको पैसा बढी लिन सक्दैन । यो दिशामा अब हाम्रो संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा, रिफर्मको दिशामा जानका लागि हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ ।’
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको मुल जरो उत्पादन भएको बताए । उनले संस्कृति पनि भाषामै अड्किएको बताए । भाषा नरहे संस्कृति नरहने बताए । उनले भाषा बिना संस्कृतिको मौलिकता हराउने पनि बताए ।
उनले भने, ‘भाषाको मुल जरो हो उत्पादन पद्धति । संस्कृति पनि त्यसैमा अडिएको हुन्छ । त्यही संस्कृतिको एउटा भाग भाषा पनि हो । हामी हाम्रो उत्पादन पद्धति यदी समाप्त पार्छौं भने हाम्रो संस्कृति पनि रहँदैन । हाम्रो संस्कृतिको मौलिकता पनि हराउँछ । हाम्रो भाषा पनि हराउँछ ।’ भाषा आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न आग्रह गरे ।