माओवादी बैठकमा सुदनको लिखित सुझाव- अब सदस्यता जबर्जस्ती दिने हैन, आफैँ लिन आउने पार्टी बनाऔं
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भोजपुरका प्रतिनिधिसभा सांसद सुदन किरातीले पार्टी नेतृत्वसमक्ष ६ बुँदे लिखित सुझाव राखेका छन् ।
उदयपुरको बेलका नगरपालिका-८ रामपुरमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा किरातीले ‘नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन’ विषयक सुझाव पेस गरेका हुन् ।
उनले विचार निर्माणका लागि नेपाली सामाजिक जनजीवन बुझ्न अध्यक्ष प्रचण्डको नेतृत्वमा ‘महायात्रा’ चलाउनुपर्ने बताएका छन् । त्यस्तै आम पार्टी पंक्तिलाई जनविश्वविद्यालयमा पठाउन पठाउनुपर्ने, नेपाली विशेषताको समाजवादको विकास गर्नुपर्ने उनको भनाइ छ । चार ऋतुको आधारमा वार्षिक क्यालेन्डर बनाएर बार्है महिना संगठनलाई परिचालन गर्नुपर्ने किरातीको सुझाव छ ।
सार्वजनिक संस्था र स्थलहरूको सुधार गर्ने जिम्मेवारी लिएर फिल्डमा जानुपर्ने तर्क गर्दै उनले पार्टीको काम देखेर मानिसहरू आफैँ पार्टीप्रति आकर्षित हुने कार्यक्रम अघि सार्नुपर्ने बताएका छन् । अब सदस्यता जबरजस्ती दिने नभई, आफैँ सदस्यता लिन आउने खालको पार्टी बनाउन किरातीको सुझाव छ ।