जुनियरलाई निर्देशकको जिम्मेवारी दिइएको भन्दै संगिना वैद्यले दिइन् राजीनामा – Nepal Press

जुनियरलाई निर्देशकको जिम्मेवारी दिइएको भन्दै संगिना वैद्यले दिइन् राजीनामा

काठमाडौं। वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगिना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट राजीनामा दिएकी छिन्।

वैद्यले आइतबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन्। दुई वर्षअघि उपनिर्देशक नियुक्त भएकी वैद्यले तालिम विभागमा हालै भएको निर्देशक नियुक्तीमा असन्तुष्टी जनाएर राजिनामा दिएकी हुन्।

राखेपले तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा कराँतेका वरिष्ठ प्रशिक्षक सोभितराज प्रसाईलाई नियुक्त गरेको थियो। उपनिर्देशक हुँदाहुँदै बाहिरबाट ल्याएर निर्देशक बनाइएको र सिनियरलाई अन्याय गरिएको वैद्यले गुनासो गरिन्।

‘उहाँ (सोभितराज प्रसाई) बढुवामा पनि मभन्दा एक वर्षपछि सेकेन्ड क्लास अफिसर हुनु भएको हो। अहिले उपनिर्देशक नहुँदा पनि उहाँलाई सोझै निर्देशक बनाइएको छ। अन्यायमा परेको महसुस भयो’, नेपाल प्रेससँग कुराकानी गर्दै वैद्यले भनिन्।

बक्सिङ प्रशिक्षक प्रचन्ड शर्माले भदौ अन्तिम साता अनिवार्य अवकाश पाएपछि तालिम तथा प्रशिक्षण विभागमा निर्देशक पद रिक्त थियो। उपनिर्देशक रहेका वैद्य र विष्णुबहादुर सिंहमध्येबाट निर्देशक नियुक्त हुने आँकलन गरिएपनि प्रसाईलाई ल्याइएपछि राखेपका खेल प्रशिक्षकहरुको नेतृत्व गर्ने विभागमा विवाद देखिएको हो।

‘विभागमा उपनिर्देशकबाट निर्देशक नियुक्त गरिन्थ्यो’, वैद्यले भनिन्। २०५२ भदौ ३० गते सरकारी सेवामा प्रवेश गरेकी संगिना त्यसको झन्डै ११ वर्षपछि सेकेन्ड क्लास अफिसरमा बढुवा भएकी थिइन् जुन उपसचिव सरहको हुन्छ। २०५० सालमा करार प्रशिक्षकबाट राखेपमा प्रवेश गरेका प्रसाई २०६४ सालमा सेकेन्ड क्लास अफिसरमा बढुवा भएका थिए। प्रसाईले उमेर हदका कारण आगामी चैतमा अवकाश पाउँदैछन्।

‘निर्देशक, उपनिर्देशक पदहरु जिम्मेवारी हुन्। राखेपलाई आफुलाई आवश्यक लागेको अवस्थामा त्यहाँबाट हटाउन पनि सक्छ’, राखेपका एक उच्च अधिकारी हुन्।

संगिना नेपाली खेलकुदकी कीर्तिमानी खेलाडी हुन्। एसियाली खेलकुद(एसियाड)मा कास्य पदक जितेकी उनले एसियन च्याम्पियनसिपमा स्वर्ण हात पारेकी थिइन्। दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण जितेकी उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन्। हालसम्म तालिम तथा प्रशिक्षण विभागको नेतृत्व महिलाले गरेको छैन।


प्रतिक्रिया

One thought on “जुनियरलाई निर्देशकको जिम्मेवारी दिइएको भन्दै संगिना वैद्यले दिइन् राजीनामा

  1. माओवादीको नेतृत्व अझै छ त्याहाँ । हटाईहाल ओलि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर