नेपालमा आत्महत्या बढ्दो : एकै दिनमा २० जनाले गर्छन्, एक वर्षमा ७ हजार २२३ जनाको ज्यान गयो (भिडिओ) – Nepal Press

नेपालमा आत्महत्या बढ्दो : एकै दिनमा २० जनाले गर्छन्, एक वर्षमा ७ हजार २२३ जनाको ज्यान गयो (भिडिओ)

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए ।

उनले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताए । एसडिजीको लक्ष्य ४.७ मा झार्ने भएपनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए ।

उनकाअनुसार आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताउनु भयो । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताए ।

‘आत्महत्याका धेरै कारणहरु छन् । सबै व्यक्तिमा एउटै कारण त हुन्न । तर मुख्य कारणहरु हेर्दा बायोलोजिकल कुराहरु, मानसिक रोगका कुराहरु पनि छन् । फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण पनि छन् । सामाजिक र सांस्कृतिक कारणहरु पनि छन् । आर्थिक कारणले पनि धेरैले आत्महत्या गरेका छन्’, उनले भने, ‘आत्महत्याको विद्यमान कारणहरु मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औं कारण हो । वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्दा रहेछन् । हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्दा रहेछन् ।’

त्यस्तै, तथ्यांकका अनुसार विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु लो एण्ड मिडिल इन्कम देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ । अध्ययनकाअनुसार ४ लाख ५५ हजार प्रतिवर्षको दरले मृत्यु भइरहेको अध्ययनले देखाएको छ ।

‘नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । सरदर दिनमा २० जनाले आत्महत्या गर्दा रहेछन् । प्रतिलाखले २५ जना हुन्छ । हाम्रो एसडिजीको लक्ष्य ४.७ मा झार्ने छ । यो बढ्दै गएको छ । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्दा रहेछन् । १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या हो, नेपालको सन्दर्भमा’, उनले भने ।

विश्वमा मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औं कारण रहेको बताए । विश्वमा वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्यांक रहेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको उनले बताए ।

विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ । यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलाैं भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर