एक वर्षको जेल सजाय पाएका सांसद केसी एक दिनमै रिहा, कैदको साटो रकम तिरेपछि उन्मुक्ति – Nepal Press

एक वर्षको जेल सजाय पाएका सांसद केसी एक दिनमै रिहा, कैदको साटो रकम तिरेपछि उन्मुक्ति

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी एकै दिनमा रिहा भएका छन् । कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । आइतबार अदालतमा आत्मसमर्पण गरेका उनी कारागार पठाइएपनि भित्र नबसी बाहिरै बसेका थिए ।

रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका थिए । कैद सजाय पूरा नगरेका उनी रुकुम पूर्व जिल्ला अदालतमा आइतबार उपस्थित भएका थिए ।

उनले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन् ।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो । निवेदकले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएको रिजाले जानकारी दिए । स्रोतका अनुसार उनलाई आइतबार राति कारगारमा राखिएको थिएन ।

२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए ।

उनी कारागार चलान भएको पत्र नै प्रदेश सभामा नआउँदै उनी रिहा भएका हुन् । प्रदेश सभा सचिवालयले यसबारै कुनै औपचारिक जानकारी नआएको जनाएको छ ।

प्रदेश सभा सचिवले सांसद केसी पक्राउ परेको, कारागार चलान भएको, छुटेको केही जानकारी नै नभएको नेपाल प्रेसलाई बताए । ‘खै हामीले समाचार पढेर हेरेर थाहा पाएका छौं, औपचारिक केही जानकारी छैन’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर