आत्महत्याको ग्राफ बढ्दो, यसरी रोक्न सकिन्छ – Nepal Press
विश्व आत्महत्या राेकथाम दिवस

आत्महत्याको ग्राफ बढ्दो, यसरी रोक्न सकिन्छ

दृष्टिकोण बदलौं, आत्महत्या रोकौं

बुटवल । आत्महत्या रोकथाम कसरी गर्न सकिन्छ ? यसका समाधानका उपायहरु केके हुन् ? वैज्ञानिक अध्ययन अनुसार आत्महत्या गर्ने सोच भएका व्यक्तिहरुको कुरा राम्रोसँग ध्यानपूर्वक सुनिदिए मात्रै पनि धेरैहदसम्म न्यूनीकरण गर्न सकिन्छ । झनै आत्महत्या सम्बन्धी गरिने कुराकानीलाई बेवास्ता गर्ने, ख्यालठट्टा गर्ने वा व्यक्तिको कमजोरी ठानिदिने मानसिकताको परिणाम डरलाग्दो हुनसक्छ ।

नेपाल यसै पनि विश्वमा सबैभन्दा धेरै आत्महत्या गर्ने राष्ट्रमध्येमा आठौं स्थानमा पर्छ । विगत केही वर्षयताको तथ्यांक केलाउँदा नेपालमा आत्महत्याको दर बढ्दो देखिन्छ । लुम्बिनी प्रदेशमा मात्रै गएको चार वर्षमा पाँच हजार तीन सय ८१ जनाले आत्महत्या गरेको रिपोर्ट छ । विश्व स्वास्थ्य संगठनको हालैको ‘प्रिभेन्टिङ सुसाइड अ ग्लोबल इम्पेरेटिभ’ शीर्षकको अध्ययनको निस्कर्षले नेपाललाई धेरै आत्महत्या हुने मुलुकको सूचिमा राखेको थियो ।

विभिन्न अध्यय्न प्रतिवेदनहरुले आत्महत्यालाई नेपालको सबैभन्दा प्रमुख स्वास्थ्यजन्य समस्याका रुपमा औंल्याएको छ । नेपालका मनोचिकित्सकहरुले पनि यसलाई जनस्वास्थ्यको गम्भीर समस्याका रुपमा लिने गरेका छन् । राज्यका सम्बन्धित निकायहरुले जनस्वास्थ्यको समस्यालाई कम गर्न उपचारलाई प्रभावकारी बनाउने अभियान थाल्न ढिलाई भइरहेको गुनासो छ ।

विश्व स्वास्थ्य संगठनको हालैको प्रतिवेदन अनुसार विश्वमा प्रति ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् । नेपालमा भएका आत्महत्याका घटनामध्ये ९५ प्रतिशतभन्दा बढि मानसिक रुपमा कुनै न कुनै समस्या वा प्रभाब परेर भएका पाइएको छ । प्रहरी कार्यालयमा संकलन हुने विवरणमा अधिकांश घटना मानसिक समस्यासंग जोडिएको देखिएका छन् ।

लुम्बिनी प्रदेशमा चार वर्षमा ५३८१ आत्महत्या

लुम्बिनी प्रदेशका १२ जिल्लामा गत चार वर्षयता मात्रै ५ हजार ३ सय ८१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । आर्थिक वर्ष ०७७/७८ मा एक हजार चार सय १५ जनाले आत्महत्या गरेका थिए । आ.व ०७८/७९ मा एक हजार तीन सय ४१ जना, ०७९/०८० मा एक हजार तीन सय ४ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी माधवप्रसाद श्रेष्ठका अनुसार आव ०८०/०८१ मा मात्रै एक हजार तीन सय २१ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । झुण्डिएर मात्रै एक हजार १५ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा धेरै आत्महत्या भएका जिल्लामा नवलपरासी (बसुप) अगाडि छ ।

चालु आव ०८१/०८२ को साउन मसान्तसम्म लुम्बिनी प्रदेशमा एक सय २२ जनाले आत्महत्या गरेका छन् । यसमा सबैभन्दा धेरै नवलपरासी (बसुप) का ३५ जना छन् । यहाँ पनि महिलाको तुलनामा पुरुष बढी छन् ।

यस्तो छ रुपन्देहीको १४ वर्षको तथ्यांक

रुपन्देहीको मात्रै तथ्यांक हेर्दा पनि जनस्वास्थ्यको गम्भीर समस्याका रुपमा रहेको पुष्टि हुन्छ । रुपन्देहीमा मात्रै विगत १४ वर्षको तथ्यांक हेर्दा दुई हजार नौ सय १७ जनाले आत्महत्या गरेका छन् । यो तथ्यांक जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुमा रेकर्ड भएको मात्रै संख्या हो ।
रुपन्देहीमा गत आवमा मात्रै दुई सय ५४ जनाले आत्महत्या गरेका छन् । यहाँ पनि पुरुषको संख्या धेरै छ । महिलाको संख्या सय छ भने पुरुष एक सय ५४ जन छन् । दुई सय ५४ मध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या २१३ रहेको छ ।

मनोसामाजिक पक्षमै वेवास्ता

सामाजिक चुनौतिका रुपमा रहेको आत्महत्यालाई राज्यले नै जनस्वास्थ्यको समस्या मानेर रोकथामका प्रभावकारी उपाय अपनाउन जरुरी रहेको मानसिक रोग विशेषज्ञ डा.मनोज ढुंगानाको भनाइ छ । विश्वका कैयन मुलुकले राज्यका निकायबाटै जनस्वास्थ्यको समस्यका रुपमा लिएर रोकथामका प्रभावकारी उपाय अपनाउने गरे पनि नेपाल भने तथ्यांक संकलनमा मात्रै सिमित रहेको ढुंगानाको गुनासो छ ।

‘मनोसामाजिक पक्षलाई वेवास्ता गर्दा पनि समस्या निम्तिने गरेको छ । सामाजिक, जैविक र वंशानुगत कारणले पनि आत्महत्याको तहसम्म मान्छेहरु पुग्छन् । यो समस्याको जरैदेखि उपचार गर्न जरुरी छ,’ ढुंगाना भन्छन्, ‘उपचारका लागि मसम्म आउने धेरैजसो व्यक्ति मानसिक रुपमा विछिप्त वा कुनै न कुनै हिसाबले मानसिक समस्यामा परेका हुन्छन् । उनीहरुलाई बेलैमा उचित उपचारको खाँचो पर्छ । सुरुवातमा विरामीलाई बुझ्ने भनेकै नजिकैको मान्छे वा परिवारले हो ।’

यस विषयमा राज्य गम्भीर बनेर अभियान सञ्चालन गरेको खण्डमा सबैको साझा अभियान बनेर आत्महत्याबाट व्यक्तिहरुलाई बचाउन सकिने मानसिक रोग विशेषज्ञ डा. सुदीप सुवेदीको जोड छ । सुवेदी भन्छन्, ‘राज्यले नै विशेष स्वास्थ्य नीति बनाएर अभियान चलाउन जरुरी छ ।’

आत्महत्याका जोखिम

आफन्तहरुको मृत्यु वा बिछोड खप्न नसक्दा, पहिला पनि आत्महत्याको प्रयास गरेको व्यक्ति, मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्याहरु भएका व्यक्तिहरुमा आत्महत्याको जोखिम बढी रहने विभिन्न रिपोर्टहरुले देखाउँछ ।

त्यस्तै सामाजिक रुपमा बहिस्करणमा परेका, पारिवारिक सदस्यहरुले आत्महत्या वा प्रयास गरेको भए, यातना वा हिंसा सहनुपर्ने अवस्थामा व्यक्तिले आत्महत्यासम्मको बाटो राज्ने मानसिक रोग विशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार भावनात्मक रुपमा हौसला दिने व्यक्तिहरुको कमी हुँदा, कुनै दीर्घ रोगको समस्या भएर समयमै उपचार गराउन नसक्दा, असफल हुँदा, आर्थिक समस्या विकराल हुँदा व्यक्तिले आत्महत्याको बाटो. रोज्न सक्छ ।
एसएसपी श्रेष्ठका अनुसार आत्महत्याका बारे कुरा गरिरहने, आत्महत्या गर्न मिल्ने साधनहरु खोज्नु वा जम्मा गर्नु, सामाजिक भेलाबाट टाढिनु, निराशा र विरक्तलाग्दा सन्देश दिने कुराहरु संजालमा पोस्ट वा सेयर गर्नु लगायत क्रियाकलापले निज व्यक्ति आत्महत्याको जोखिममा रहेको बताउँछ ।

आत्महत्या रोक्न सकिन्छ

मानसिक तथा मनोसामाजिक समस्या नै आत्महत्याको मूल कारण भएकोले समयमै पहिचान गरी मानसिक चिकित्सक वा मनोपरामर्शकर्तासंग परामर्श लिएर उपचार गरे आत्महत्या रोक्न सकिने चिकित्सकहरु बताउँछन् । आत्महत्याका जोखिम बढी भएका व्यक्तिसंग मायालु व्यवहार गर्ने, उनीहरुको मनको कुरा सक्रियतापूर्वक सुन्ने र सहानुभूति प्रकट मात्र गरेमा आधाभन्दा बढि समस्या कम हुने बताइन्छ ।

आत्महत्या गर्नेमा महिला र पुरुषको संख्या लगभग बराबर जस्तै छ । पछिल्ला वर्षमा नाबालकहरु पनि यस्ता घटनामा परेको प्रहरीको तथ्यांक छ । बालबालिकाहरु अरुको सिको गर्दा, पढाईमा कमजोर भएको हीनतवोध हुँदा पनि आत्महत्याको जोखिम बढेर जान्छ । एसएसपी श्रेष्ठ भन्छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग भएर, अनाधिकृत अनलाइन र युट्यूबमा आउने गलत सामग्री हेरेर पनि आत्महत्या गरेका विवरण पनि प्रहरी कार्यालयमा रेकर्ड गरिएका छन् । मानसिक समस्या भएर, मानसिक रोगी भएर, एक्लोपनको महशुस गरेर र जीवनदेखि निराशा लागेर आत्महत्या गरेका कारणहरु प्रहरीको विवरणमा उल्लेख छन् ।’

आत्महत्या भएका ठाउँमा फेला परेका सुसाइट नोटमा उल्लेख गरिएका र परिवारमा सोधपुछ गरिएका आधारमा प्रहरीले तयार परेको विवरणमा यस्ता कारणहरु समेटिएको छ । आत्महत्या गर्नेहरुका साथमा भेटिएका नोटमा कत्तिले दीर्घ रोगका कारण, कत्तिले पढाइमा असफल भएर, प्रेममा असफल भएर आत्महत्या गर्नुपरेको लेखेको पाइएको छ । उपचार गराउने पैसा नभएर आत्महत्या गर्नेहरु पनि छन् । जसलाई सानो सहयोग र मनोपरार्श गराउन सकिएको भए रोक्न सकिने चिकित्सकहरु बताउँछन् ।

आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विविध कार्यक्रम गरिँदैछ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर