अलपत्र रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न मुख्यमन्त्रीको चासो
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित निर्माणको पर्खाइमा रहेको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चासो देखाएका छन् ।
उनले सामाजिक सञ्जालमा प्रदेशकै दीर्घकालीन महत्त्वको गौरवपूर्ण योजना रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि अत्यावश्कीय कार्य पूरा गर्न लागेको उल्लेख गरेका हुन् । उनको स्टाटसले १७ वर्षदेखि अलपत्र अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने चर्चा पुनः सतहमा आएको छ ।
सरकारले जनकपुरधाममा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अनुमति दिएपछि २०७४ मा राष्ट्रिय खेलकुद परिषद्ले गुठी संस्थासँग रजौलमा १७ बिघा जग्गा ३० वर्षका लागि लिजमा लिएको छ । तर विडम्बना अहिलेसम्म रंगशाला निर्माण हुन सकेन ।
जनकपुरधामका अगुवा तथा खेलाडीहरूको दबाबमा रंगशाला निर्माण अगाडी बढाउने भन्दै मधेशका तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले अनुगमन तथा निरीक्षण गरे । तर उनले घेराबेरा मात्र गर्न सके । उपमहानगरको सहयोगमा क्रिकेट पिच निर्माण भएको छ । त्यसबाहेकका काम भएको छैन ।
एकै समयमा निर्माणको अनुमति पाएको पोखराको रंगशाला अन्तर्राष्ट्रियस्तरको भइसकेको छ । तर जनकपुरधामको श्रीरामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई सरकारले पनि उपेक्षा गरेको छ ।
रंगशाला निर्माणको पर्खाइमा रहेका यहाँका थुप्रै खेलप्रेमी निराश छन् । यस्तो अवस्थामा मुख्यमन्त्री सिंहले चासो देखाएका हुन् । अब छिट्टै अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने सपना बाँड्दै उनले भनेका छन्- ‘जनकपुरधाममा निर्माण हुने सो रंगशालाको अवधारणात्मक डिजाइन उत्कृष्ट र सुन्दर छ । सपना अनि दृढ परिकल्पना साकार हुन्छ । अब हामी परिकल्पना यथार्थमा परिणत हुने क्षणको पर्खाइमा छौँ ।’
मुख्यमन्त्री सिंहको चासोलाई जनकपुरधामका युवाहरू सकारात्मक रूपमा लिएका छन् । युवा अभियन्ता तथा खेलप्रेमी सरोज मिश्रले सरकारले रंगशाला निर्माणका लागि लिएको अग्रसरता र देखाएको इमान्दारिताप्रति आभार प्रकट गरेका छन् ।
उनले रंगशाला निर्माणमा चासो देखाएकोमा मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सचिव र कर्मचारीहरूलाई शुभकामना दिए । मधेश प्रदेशकै गौरवको योजनाको रूपमा कार्यान्वयनतर्फ वायु वेगमा बढ्न आग्रह गर्दै उनले भनेका छन्- कुनै पूर्वाग्रह विग्रह नासोची निर्माण कार्य यथाशीघ्र बढोस् ।