राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीको अध्यक्षमा सुनार, २ जना पत्रकार नगदसहित पुरस्कृत – Nepal Press

राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीको अध्यक्षमा सुनार, २ जना पत्रकार नगदसहित पुरस्कृत

रुपन्देही । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो अधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । पुनः टंक सुनारको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गर्दै अधिवेशन सकिएको हो ।

त्यस्तै गरी उपाध्यक्षमा सुरेश परियार, सचिवमा कृष्ण रणपाल, सहसचिवमा गोविन्द रसाईली, कोषाध्यक्षमा ज्ञानकुमारी विक सर्वसम्मतरुपमा चयन भएका हुन् ।

कार्यसमिति सदस्यहरूमा प्रमोद नेपाली, मनीषा बस्याल नेपाली र भोजेन्द्र नेपाली चयन भएका छन् भने एक जना सदस्य पछि संघको पहिलो बैठकबाट मनोनयन गरिने भएको छ ।

यसअघि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले जातीय पहिचानको पेशा पछाडि परेर युवाहरू बेरोजगार भएको बताउँदै पेशा संरक्षण हुन आवश्यक रहेको बताए ।

उनले पेशालाई समयसँगै आधुनिकीकरण गर्न सक्नुपर्ने बताउँदै बिसे नगर्चीको योगदानको बारेमा चर्चा गरेका थिए । उनले उपमहानगरपालिकाले रोजगारसँग प्रत्यक्ष सरोकार राख्ने किसिमका विभिन्न तालिमहरू प्रदान गरेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बोल्दै रुपन्देहीमा दलित पत्रकारहरूको संख्या तुलनात्मकरुपमा धेरै भएकाले गुणात्मक रुपमा अगाडि बढ्नु पर्ने बताए । उनले पत्रकार महासंघले सधैँ सहकार्य गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रीय अध्यक्ष डा बालकृष्ण चापागाईंले २१ औँ शताब्दीमा पनि जातीय विभेद हुनु अत्यन्तै दुःखद भएको बताए ।

उनले यसको अन्त्य र समतामूलक समाज निर्माणका लागि आफू सधैँ लागिरहेको बताए । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार गोविन्द खनालले बोल्दै दलित अधिकार नै मानव अधिकार भएको बताए । उनले शान्ति समाजले जातीय विभेदका विषयमा सधैँ पहलकदमी गरेको बताए ।

त्यस्तै गरी राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियारले बोल्दै रुपन्देही शाखाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै पुरस्कार सौजन्य गर्ने बिसे नगर्ची फाउण्डेशनलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यम बहादुर सुनार, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री, केन्द्रीय सदस्य चिन्ता परियार, संयुक्त दलित संघर्ष समितिका अध्यक्ष हरिओम विश्वकर्मा, बिसे नगर्ची एकताको प्रतीक नेपालका अध्यक्ष रामकुमार रणपाल, प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पोखरेल, प्रेस युनियन रुपन्देहीका उपाध्यक्ष कल्पना तिवारी, आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका अध्यक्ष सोनु थापालगायतले बोल्दै दलित पत्रकारहरूको हक अधिकार र संरक्षणका लागि सधैँ सहकार्य गर्ने बताए ।

कार्यक्रममा अध्यक्ष टक सुनारले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण रणपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

पत्रकार परियार र सुनार पुरस्कृत

अधिवेशनका अवसरमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीले बिसे नगर्ची एकताको प्रतीक नेपालसँगको सहकार्यमा स्थापना गरेको पुरस्कारबाट पत्रकार विनोद परियारलाई पुरस्कृत गरेको छ ।

जातीय भेदभाव तथा सामाजिक न्यायका पक्षमा कलम चलाएको भन्दै पत्रकार परियारलाई नगद दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, बिसे नगर्ची एकताको प्रतीक नेपालका अध्यक्ष रामकुमार रणपाल, संघका अध्यक्ष टंक सुनारले पुरस्कार प्रदान गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव समेत रहेका परियार विगत १७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्।

यस्तै सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकार फूलु सुनार पुरस्कृत भएकी छन् । संघले ओम पाल्पाली सुनचाँदी पसलका सञ्चालक शेरबहादुर गहतराजसँगको सहकार्यमा पुरस्कार स्थापना गरेको हो ।

सुनारलाई बुटवलका नगरप्रमुख पाण्डेय, संघका अध्यक्ष सुनार र पुरस्कारका संरक्षक गहतराजले नगद सहित दोसल्ला ओढाएर पुरस्कृत गरेका हुन् ।

विगत एक दशकदेखि पत्रकारितामा सक्रिय सुनार संघको केन्द्रीय सदस्य हुन । सुनार बुद्ध टेलिभिजन जनता टुडेमा आबद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *