‘इन्जिनियर्स एशोसियसनमा प्राज्ञिक र अन्तर्राष्ट्रिय अनुभवको नेतृत्व दिन्छौं, २ वर्षमा रिपोर्ट कार्ड हेर्न सकिन्छ’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘इन्जिनियर्स एशोसियसनमा प्राज्ञिक र अन्तर्राष्ट्रिय अनुभवको नेतृत्व दिन्छौं, २ वर्षमा रिपोर्ट कार्ड हेर्न सकिन्छ’ (भिडिओ)

प्रगितशील प्यानलका अध्यक्ष र महासचिव उम्मेदवारको दाबी- सरल एजेण्डा, सशक्त टीम र प्राज्ञिक नेतृत्व नै हाम्रो जितको आधार हुन्,इन्जिनियर्स एशोसियसन नवोदित इन्जिनियरहरूका लागि ‘जब प्लेटफर्म’ बन्न सक्छ

काठमाडौं । देशभरका सरकारी तथा निजी क्षेत्रमा कार्यरत ईञ्जिनियरहरूको छाता संगठनको रूपमा रहेको ‘नेपाल इञ्जिनियर्स एसोसियसन’ को ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको चुनाव ३ दिनपछि हुँदैछ । इन्जिनियरहरूको पेशागत हकहित र अधिकारको विषयमा आवाज उठाउने संस्थाको रूपमा इञ्जिनियर्स एसोसियसनलाई स्थापित गराउने मूल एजेण्डा बोकेर यतिबेला विभिन्न समुहहरू चुनावी मैदानमा होमिएका छन् ।

राजनीतिक दलमा आबद्ध इन्जिनियरहरूका आ-आफ्ना संगठनबीच चुनाव प्रतिस्पर्धा चलिरहेका बेला नेपाली कांग्रेसनिकट लोकतान्त्रिक प्यानल र एमालेनिकट प्रगतिशील प्यानल नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

यसैबीच २०८१ भ्दौ २८ गते सम्पन्न हुन लागिरहेको निर्वाचनमा बलियो दाबेदारमध्ये एक मानिएको प्रगतिशील समूहका अध्यक्ष उम्मेदवार ई. प्रा.डा. विष्णुप्रसाद पाण्डे र महासचिव पदका उम्मेदवार ई. डा लक्ष्मणप्रसाद घिमिरेसँग चुनाव केन्द्रित मुद्दा , बहस र एजेण्डालाई समेटेर  गरिएको कुराकानी नेपाल टकमा-

सबैभन्दा पहिले तपाईँहरूको छोटो परिचयबाट सुरू गरौँ न ।

विष्णुप्रसाद पाण्डे- नमस्कार ! मेरो नाम इन्जिनियर, प्राध्यापक विष्णुकुमार पाण्डे । मेरो घर नुवाकोट । मेरो चाहिँ सिभिल इन्जिनियरिङ्ग ब्याकग्राउण्ड हो । पुल्चोकबाट सिभिलमा डिप्लोमा र बि. ई गरेँ मैले । मास्टर्स एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बैंककबाट ‘वाटर रिसर्सेस’ मा गरेँ । जापानको युनिभर्सिटी अफ यामानासीबाट पीएचडी र पोस्ट डोक्ट्रेट अध्ययन गरेँ । यसरी नेपाल बाहिर विभिन्न संस्थामा काम गर्दै, नेपाल फर्केर पनि विभिन्न इन्टरनेशनल एजेन्सीहरूसँग काम गर्दै, विगत साढे तीन वर्षदेखि इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसमा टीयूले खोलेको ओपन कम्पिटिससनबाट सीधै प्रध्यापकमा नाम निकालेर काम गरिरहेको छु । म अहिले आसन्न नेपाल इन्जिनियरिङ्ग एशोसिएसनको चुनावमा केन्द्रीय अध्यक्षको उम्मेदवार रहेको छु ।

लक्ष्मणप्रसाद घिमिरे- नमस्ते ! म इन्जिनियर डाक्टर लक्ष्मणप्रसाद घिमिरे । मैले ब्याच्लर इन इलेक्ट्रिकल इन्जिनियरिङ्ग पुल्चोक क्याम्पसबाट २०५९ देखि २०६३ सालसम्म गरेँ । त्यस पछाडि मैले विभिन्न क्षेत्रसँग सम्बन्धित र विशेष गरी नवीकरणीय ऊर्जासँग सम्बन्धित क्षेत्रमा काम गर्दै आएको छु । मैले २०७० देखि २०७६ सालसम्म दक्षिण कोरियाको सिओल नेश्नल युनिभर्सिटीबाट इनर्जी पोलिसी र इनर्जी म्यानेजमेण्टमा मास्टर्स र पीएचडी सकेँ । हाल म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा उप-निर्देशकको रूपमा कार्यरत छु, नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्छु । आसन्न नेपाल इन्जिनियरिङ्ग एशोसिएसनको ३४ औँ कार्यसमितिमा प्रगतिशील समूहको तर्फबाट महासचिव पदको उम्मेदवार छु ।

– इन्जिनियर्स एसोसियनको निर्वाचन किन चाहियो भन्नेबाट प्रश्न गरौं ?

लक्ष्मण प्रसाद घिमिरे,महासचिव उम्मेदवार-नेपालमा रहनुभएका सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टहरूको साझा संस्थाको रूपमा नेपाल इन्जिनियरिङ्ग एशोसिएसन हो । यो पेशागत संस्था हो जुन १९६० को दशकदेखि स्थापित भएर निरन्तर रूपमा कृयाशील रहँदै आएको छ । यो सबै इन्जिनियर्स तथा आर्किटेक्टहरूलाई गोलबद्ध गर्ने एउटा सशक्त पेशागत संस्थाको रूपमा हकहितको संरक्षण गर्ने, इन्जिनियरिङ्ग सेक्टरका पेशागत मर्यादाका विषयवस्तु उठाउने र इन्जिनियरिङ पेशालाई थप मर्यादित बनाउने हिसाबले स्थापित भएको संस्था हो ।

– इन्जिनियर्स एसोसियसन प्रतिको आकर्षण त घट्दो मात्रामा छ भन्ने गरिन्छ नि !

लक्ष्मण प्रसाद घिमिरे,महासचिव उम्मेदवार-तपाईंले एकदम सही प्रश्न उठाउनु भयो, यसका लागि धन्यवाद ! तपाईंले भनेकै कुरालाई हामीले तथ्याङ्कमा हेर्‍यौं भने हाल नेपालमा वर्षेनी लगभग १ लाखको हाराहारीमा इन्जिनियरहरू उत्पादन भएको हामी पाउँछौ । त्यसमध्यबाट इन्जिनियरहरूलाई लाइसेन्स दिने संस्था नेपाल इन्जिनियरिङ्ग काउन्सिलमा लगभग ८५ हजार इन्जिनियर तथा आर्किटेक्टहरू दर्ता भएको पाईन्छ ।

त्यसैगरी हामी जुन पेशागत शसक्त संस्था भनिरहेका छौँ, नेपाल इन्जिनियरिङ्ग एशोसिएसनमा ८५ हजारमध्येबाट झण्डै ४२ हजार इन्जिनियर तथा आर्किटेक्टहरू जोडिनुभएको छ । यो चुनावसम्म आइपुग्दा जसले आफ्नो सदस्यता नवीकरण गर्नु भयो त्यो संख्या १८ हजार ६ सयको हाराहारीमा रहेको छ ।

यसबाट पनि कतिपय साथीहरू विदेशमा हुनुहुन्छ , कतिपय साथीहरूलाई चुनावप्रति आकर्षण नहुन सक्छ । यसरी हेर्दा झण्डै १०-११ हजारमात्र मतदान हुने हामीले देखेका छौँ । यो तथ्यले के उजागर गर्छ भने स्थापना कालदेखि नै जुन यस संस्थाको लक्ष्य छ, कार्यक्षेत्र छ हामीले नेपाल इन्जिनियरिङ्ग एशोसिएसनलाई त्यो लेभलमा पुर्‍याउन सकेका छैनौं ।

त्यसकारण हाम्रो लक्ष्य भनेकै सबै इन्जिनियर तथा आर्किटेक्टहरूलाई गोलवद्ध गर्ने, पेशागत सुरक्षा दिने, अभिभावकत्व ग्रहण गर्ने र ती ८५ हजार इन्जिनियर तथा आर्किटेक्ट सम्म पुग्ने भन्ने हो । हाम्रो प्रगतिशील समुहको उम्मेदवारी नै यसैका लागि हो ।

– यदि त्यसो भने तपाईँहरूको यो संस्थालाई सशक्त बनाउनका लागि तपाईहरूले अगाडि सारेका एजेण्डाहरू के-के हुन् त ?

प्रा.डा. विष्णुप्रसाद पाण्डेहामीले ३४ बुँदे एजेण्डाहरू सार्वजनिक गरेका छौँ । त्यसलाई समष्टिगत रूपमा हेरियो भने एउटा इन्जिनियरिङ्ग प्रोफेसनको लाइफ साइकल, इन्जिनियर अथवा आर्किटेक्ट ग्राजुएट भएपछि सुरू हुन्छ र पोस्ट रिटायरमेण्ट सम्म रहन्छ । हामीले यसका विभिन्न स्टेपका इस्यूहरूलाई यसमा समावेश गरेका छौँ ।

जस्तै ग्राजुएट भएपछि एउटा इन्जिनियर वा आर्किटेक्टहरूले पहिलो चरणमै उसले जब सर्चको बेला दुःख पाउने गरेको छ त्यसमा नेपाल इन्जिनियरिङ्ग एशोसिएसनजस्तो संस्थाले एउटा जब कनेक्टिङ प्लेटफर्मको रूपमा काम गर्न सक्छ । रोजगार मेलाहरू आयोजना गर्न सक्छ ।

जागिर पाएकै इन्जिनियर वा आर्किटेक्टहरूले पनि न्यून तलबमा काम गर्नु पर्ने अवस्था छ । यस विषयमा पनि हामी एकजुट भएर अगाडि बढ्न सकिन्छ । कुनै इन्जिनियरको हायरिङ भएपछि पनि विनातालिम काममा पठाउने परिपाटी पनि व्याप्त छ । यसका लागि इन्जिनियरिङ्ग स्टाफ कलेजका अवधारणा पनि आएका छन् ।

यो अवधारणालाई मुर्तरूप दिनको लागि केही समय लाग्ने देखिएमा यसका वैकल्पिक उपाय खोज्न सकिन्छ । जस्तै एशोसिएसनले कुनै तालिमको व्यवस्था आफैँ गर्ने, पाइलटिङ गरेर अरु संस्थालाई पनि यसै गर्नुहोस् भनेर लबी गरेर अगाडि बढ्ने जस्ता कामहरू हामी गर्न सक्छौँ ।

लाइफ साइकलको मिड स्टेजमा पुगेपछि सबैलाई करियर ग्रोथको चाहना हुनु स्वाभाविक पनि हो । तर आफ्नो क्षमता नबढाइकन त्यो सम्भव छैन । तसर्थ हरेक इन्जिनियर आर्किटेक्टहरूलाई निरन्तर प्रोफेसनल विकासमा पनि लगानी गर्नु पर्छ । किनकी यो पेशा भनेको गतिशील पेशा हो । आज जे पढिन्छ , जानिन्छ वा सिकिन्छ त्यो केही समयमा परिवर्तन हुन्छ ।

अब इन्जिनियरिङ्ग लाइफ साइकलको अन्त्यको बारेमा कुरा गरौँ, एउटा इन्जिनियर जवान छँदा शक्ति हुन्छ दुःखले काम गर्छ तर जीवनको उत्तरार्द्धमा पुगेपछि इन्जिनियरहरूमा विभिन्न खालका रोगहरूबाट ग्रसित हुनुपर्ने समस्या हामीले देखेका छौँ । क्यान्सर जस्ता प्राण घातक रोग लागेका इन्जिनियर, आर्किटेक्टहरूको संख्या बढ्दो छ ।

एउटा विशेष इन्स्योरेन्स प्याकेज जुन सरकारले बनाउनु पर्छ, त्यसमा विभिन्न एजेन्सीहरूले फन्डिङ गर्न सक्छन् । यस खालका बीमाहरू इन्जिनियरको लागि गरिनुपर्छ भन्ने पनि एजेण्डा छन् । यस किसिमका एजेण्डाहरूले भर्खर ग्राजुयट भएकोदेखि इन्ड करियरमा रहेको इजिनियरसम्मका मुद्दाहरूलाई सम्बोधन गर्छ । त्यो चाहे स्थानीय निकायमा काम गर्ने इन्जिनियर हुन् वा निजामती सेवामा काम गर्ने हुन् । चाहे निजी क्षेत्रमा काम गर्ने हुन् वा शैक्षिक क्षेत्रमा काम गर्ने हुन् । विभिन्न क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको मुद्दालाई हाम्रा ३५ बुँदे मागले समेटेको छ ।

– चुनावी एजेण्डा सबैका राम्रानै सुनिन्छन् , तर तपाईंका यी एजेण्डालाई मुर्तरूप दिने आधार चाँही के के हुन त ?

लक्ष्मणप्रसाद घिमिरे- यसका लागि २-३ वटा कुराहरू हेर्नु पर्छ जस्तो लाग्छ । पहिलो त हामीले प्रगतिशील समूहको तर्फबाट जुन उम्मेदवार घोषणा गरेका छौँ उहाँहरूको दक्षताबाट सुरू गर्नुपर्छ । हाम्रो टीमलाई जसले नेतृत्व गरिरहनुभएको छ उहाँ आँफै इन्जिनियरिङ्ग क्षेत्रको सबैभन्दा युवा प्रोफेसर हुनुहुन्छ । इन्जिनियरिङ्ग शिक्षण क्षेत्रमा यो एकदम चिरपरिचित नाम हो । उहाँले अध्यापन गर्ने सिलसिला र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने सिलसिलामा आफ्नो दक्षता प्रमाणित गरिसक्नु भएको छ । उहाँले विभिन्न संघ संस्थामार्फत आफ्नो नेतृत्व क्षमता प्रमाणित गरिसक्नुभएको छ । उहाँको टीममा अरु हामी पदाधिकारी तथा सदस्यहरू छौँ ।

ई. डा. लक्ष्मणप्रसाद घिमिरे ।

हामी ‘जेन्डर’ को हिसाबले, भूगोलको हिसाबले र इन्जिनियरिङ्ग क्षेत्रका विभिन्न विधाहरूको हिसाबले पनि समावेशी छौँ । हाम्रो टीममा रहेका सबै उम्मेदवारहरूको बायोग्राफी पनि हामीले सार्वजनिक गरेका छौँ । त्यसबाट हाम्रो ट्र्याक रेकर्डको बारेमा थाहा पाउन सक्नुहुन्छ । हाम्रो उम्मेदवारको दक्षता, क्षमता हेर्नु भयो भने हाम्रो समूह अरुभन्दा अब्बल र सबल छ भन्ने लाग्छ । जसको माध्यमबाट नेपाल इन्जिनियरिङ्ग एशोसिएसनलाई सशक्त पेशागत संस्था बनाउन कोशेढुङ्गा सावित हुनेछ ।

– विष्णु सरलाई इंगित गर्दै मैले एउटा प्रश्न सोध्न चाहेँ तपाईँजस्तो शैक्षिक क्षेत्रमा लागेको व्यक्ति यता चुनावी मैदानमा किन ?

विष्णुप्रसाद पाण्डेराम्रो प्रश्न उठाउनु भयो । नेपाल इन्जिनियरिङ्ग एशोसिएसन हरेक इन्जिनियर तथा आर्किटेक्टको साझा संस्था हो । इन्जिनियर तथा आर्किटेक्टको हक हितको पैरवी गर्ने संस्था हो । म एउटा इन्जिनियर र यस संस्थाको सदस्य भएको नाताले यो क्षेत्र उज्वल भएको हेर्न चाहनु र यो क्षेत्रलाई योगदान पुर्‍याउनु मेरो दायित्व पनि हो ।

ई. प्रा.डा. विष्णुप्रसाद पाण्डे ।

अहिले मैले जुन अध्यापन गराउँदै छु त्यो मेरो पेशागत क्षेत्र हो । मैले त्यहाँ आत्मसन्तुष्टि हुनेगरी काम गरेको अनुभूति हुन्छ । त्यो गरिरहँदा यता एनईएको सदस्य भएको हैसियतले यो संस्थाले प्रोफेसनल प्लेटफर्मको हिसाबमा काम गर्न सकेन भनेको सुन्दा दुःख लाग्दो रहेछ । त्यसैले हामीले साथीहरूसँग बसेर सल्लाह गर्‍यौं, यसलाई परिवर्तन कसरी गर्ने ? यसमा हामीले के पायौँ भन्दा यसको लागि प्राज्ञिक र अन्तराष्ट्रिय अनुभव भएको नेतृत्व चाहिन्छ र नीतिगत तहमा हस्तक्षेप गर्न सक्ने खालको चाहिन्छ ।

– इन्जिनियर्स एसोसियनप्रतिको जुन विकर्षणको पनि जुन कुरा छ, त्यसलाई हटाउन पनि हामी आँफैले गएर केही गर्नुपर्छ भन्ने लागेर हामी यसतर्फ लागेका हौँ र यसमा हाम्रो अनुभव पनि छ ।

एनईएसँगको आवद्धता मेरो लामो समयदेखिको हो । एनईएजस्तो संस्थाले गर्नु पर्ने विभिन्न आयाममा प्राज्ञिक जर्नल पनि महत्वपूर्ण मानिन्छ । विगत ३ वर्षदेखि एनईएको जर्नललाई नयाँ नाम दिएर त्यसको प्रधान सम्पादकको हिसाबले राम्रो सम्पादकीय टीम बनाएर काम गरिरहेको छु । यसले अन्तर्राष्ट्रिय मान्यताअनुसारको विश्वसनीयता पनि कमाएको छ । यी यावत् गर्न सकिने तर हुन नसकेका कुराहरूको लागि हामी आँफै लाग्नु पर्छ भनेर म यस तर्फ लागेको हुँ भन्नुपर्छ ।

– तपाईँहरू त चुनावको मुखमा हुनुहुन्छ, विभिन्न ठाउँमा पुगेर इन्जिनियरहरूको कुरा पनि सुनिरहनु भएको होला, आखिर नेपालका इन्जिनियरहरूको समस्या, चाहना, अपेक्षा चाहिँ के रहेछन् त ?

लक्ष्मणप्रसाद घिमिरे- हामी चुनावको प्रचार प्रसारको सन्दर्भमा सुदूरपश्चिमको महेन्द्रनगरदेखि पूर्वको मोरङ उर्लाबारीसम्म पुगेर आयौँ । यसक्रममा उहाँहरूले उठाउनु भएका कुराहरू मुलभुत रूपमा हाम्रा ३४ बुँदे घोषणा पत्रमा समेटिएकै छन् । पहिलो कुरा त उहाँहरूले हाम्रो ३४ बुँदे घोषणालाई पूरा गर्नुहोला भन्ने नै सुझाव रह्यो ।

त्यसबाहेक स्थानीय तथा प्रदेश सरकार अन्तरगतका कार्यालयका इन्जिनियर साथीहरूसँगको भेटघाटमा उहाँहरूले दुई-तीनवटा मुद्दामा चाहिँ विशेष चासो राख्नु भएको अवस्था छ । स्थानीय तथा प्रदेश सरकार अन्तरगत काम गरिरहनुभएका साथीहरूलाई एउटा तहगत समस्या छ । छैठौं तहमा इन्जिनियरहरूलाई लिने र प्रशासनिक नेतृत्वको मुनि राख्ने तहगत समस्या देखिएको छ । यस्तै स्थानीय क्षेत्रमा सरुवामा लचकता कम भएको पायौँ । एउटा स्थानीय तहमा नियुक्त भएपछि अन्त सरुवा हुन नपाउने समस्या छ । यस्तै इन्जिनियरप्रति गलत भाष्य निर्माण भएको पनि हामीले पायौँ । काम गर्ने दौरानमा भौतिक आक्रमण हुने, अपुष्ट र अप्रमाणित आरोप लागाउने गरेको पाइयो यो परिवर्तन हुन जरुरी छ ।

-पेशागत हकहितका लागि स्थापना भएका संस्थामा राजनीतिक अनुरूपमा समूह बनाएर चुनावमा जानु पर्ने अवस्था चाहिँ किन त ?

विष्णुप्रसाद पाण्डेयो एकदमै धेरैजनाको प्रश्न हो । एनईए जस्तो प्रोफेसनल संस्था हो त्यसको पर्फर्मेन्स प्रोफेसनल हिसाबले हुनुपर्छ यसमा कुनै दुई मत नै छैन । कतिपय अवस्थामा जुन अहिले ३३ औं कार्यकारणी सक्किने अवस्थामा छ, अहिलेसम्मका अधिकांश समितिहरूले यो संस्था ननपोलिटिकल संस्था हो भनेर अनुभूति गराउन नसकेको अवस्था हो ।

अघि पनि जुन आकर्षण घटेको कुरा भयो त्यसलाई हेर्दा पनि यहाँ ट्रान्स्फर्मेसनको आवश्यकता छ भन्ने देखिन्छ । एनईएको विधानले कुनै पनि समूह चिन्दैन । तर, अभ्यास के हुँदै आएको छ भने, कुनै राजनैतिक आस्थासँग जोडिएर समूह बनाउने चुनाव लड्ने गरिएको छ । यस्तो अवस्थामा दुईवटा कुरा हुन्छन् । कि त एनईए जस्तो होस् त्यही अवस्थामा छोड्दिने र अर्को भनेको कुनै पाथ वे बाट नेतृत्वमा जाने र त्यहाँ गएर एनईएलाई एपोलिटिकल संस्थाको रूपमा स्थापित गराउने ।

अहिलेको अवस्थामा एक्लै उठेर वा अर्को उम्मेदवार एक्लै उठेर जित्ने अवस्था देखिँदैन । त्यो यथार्थबाट हामी भाग्न सक्दैनौँ । तसर्थ हाम्रो उद्देश्य ‘एपोलिटिकल’ बनाउने नै हो, यसलाई प्रोफेसनल संस्थाको रूपमा काम गर्न सक्छ भनेर नै प्रमाणित गर्ने हो । मेरै कुरा गर्नुपर्दा मैले जतिपनि ठाउँमा काम गरेको छु मैले पोलिटिकल फ्लेभर आउने गरेर काम गरेको छैन । यस विषयमा कसैले प्रश्न उठाउँछ भने म छलफल गर्न तयार छु । यसकारण प्रगतिशील समूह परिवर्तन चाहने समूहको रूपमा बुझ्नु पर्छ जस्तो लाग्छ ।

– तपाईँको प्रगतिशील समूहले चुनाव जित्छ भन्ने आधार के हुन् त ?

विष्णुप्रसाद पाण्डे- जुनसुकै समूह होस् वा उम्मेदवार होस् , चुनावी दौडमा लागेपछि जित्ने केही आधार पक्कै हुन्छन् । मैले चाँही ३-४ वटा आधार देख्छु । एउटा भनेको एजेण्डाको आधार हो । हामीले जति एजेण्डा फ्लोट गरेका छौँ अधिकांश गर्न सकिने र सरल छन् । सुन्दा फ्यान्सी लाग्ने तर परिणाम नआउने एजेण्डा छैनन् । दुई वर्षमा रिपोर्टकार्ड ल्याएर नै रिपोर्ट दिने खालका हाम्रा एजेण्डा छन् ।

एजेण्डालाई इम्प्लिमेण्ट गर्न टीम चाहिन्छ । हाम्रो टीम अनुभवको हिसाबले राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासको हिसाबले, नीतिगत तहमा हस्तक्षेप गर्न सक्ने हिसाबले सक्षम छ । रिजल्ट दिएर आएको टीम छ जसले एजेण्डालाई इम्प्लिमेन्ट गर्ने हैसियत राख्छ । र, अर्कोकै छ भने अहिले ६ वटा समूह चुनावमा उठेको छ र हामीले हरेक टीमलाई हेर्दा अरु भन्दा यो टीम बढी प्रोफेशनल छ । यो टीमले जितेर गएको खण्डमा हामीले खोजेको जस्तो एपोलिटिकल र प्रोफेसनल टीम पाउँछौ भन्ने धेरैमा विश्वास छ । जसको कारण एक किसिमको व्यक्त अव्यक्त ऐक्यवद्दता आम इन्जिनियरहरूको छ यस आधारमा हामीले चुनाव जित्छौँ ।

यो पनि पढ्नुहोस्- 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर