सन्तोष परियारलाई प्रश्न- सत्तापक्षले उपसभामुख हटाउने तयारी गरेपछि रास्वपा अब के गर्छ ?
काठमाडौं । सत्ता गठबन्धन उपसभामुख इन्दिरा राना हटाउने तयारीमा लागेपछि भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमा जुटेको छ । महाभियोग लगाउने तयारी आधिकारी रूपमा पुष्टि भएपछि आफूहरू अनौपचारिक छलफलमा रहेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनले भने, ‘यो विषयमा केही समय अघिदेखि नै कुरा आएको थियो । हिजोको बैठकपछि उहाँहरूले तयारी गरिरहेको पुष्टि भयो। मैले पनि बुझेँ । त्यस विषयमा हामी छलफलमा छौँ ।’
पार्टीमा छलफल गरेपछि आफूहरू आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । यो विषय आजको सदनमा पनि उठाउनुहुन्छ ? भन्ने जिज्ञासामा उनले थपे, ‘हामी छलफलमा छौँ। केही समयमा ठोस धारणा बन्ला ।’
हिजो बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै हटाउनुपर्ने प्रस्ताव गरेका थिए । त्यही अनुसार अहिले गठबन्धनका दलहरू छलफलमा जुटेका छन् । राजीनामा नआए आजै आचरणविपरीत कार्य गरेको प्रस्ताव दर्ता गर्नसक्ने सत्ता गठबन्धन दलहरूको तयारी छ ।
अमेरिकाको भिसाका लागि असम्बन्धित व्यक्तिलाई अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा रहेकी राणालाई हटाउन खोजेको छ । उपसभामुखलाई हटाउँदा संवैधानिक परिषद्मा पनि आफू अनुकूल हुने भएकाले सत्ता गठबन्धनमा आबद्ध दलहरू हटाउन तयार भएका हुन् ।