ओलम्पिकमा पदक जितेकी पलेशालाई सम्मानको लहर- पुरस्कार रकम एक करोड रुपैयाँ नजिक – Nepal Press

ओलम्पिकमा पदक जितेकी पलेशालाई सम्मानको लहर- पुरस्कार रकम एक करोड रुपैयाँ नजिक

काठमाडौं। पेरिस पारा ओलम्पिकमा कास्य जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाएकी पलेशा गोबर्धनलाई यतिबेला सम्मान थाप्न भ्याईनभ्याई छ। तेक्वान्दो खेलाडी पलेशा दिनहुँ जसो सम्मान कार्यक्रममा सहभागी भइरहेकी छन्।

उनका लागि घोषणा गरिएको पुरस्कार रकम करिब एक करोड रुपैयाँ पुग्न लागेको छ। सरकारले उक्त सफलताका लागि ६५ लाख रुपैयाँ दिँदै छ। खेलकुद विकास नियमवालीमा ओलम्पिकमा कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ दिइने उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कर नकाटी ६५ लाख रुपैयाँ दिइने बताएका छन्।

नेपाल तेक्वान्दो संघले १० लाख रुपैयाँ दिएको छ  भने काठमाडौं महानगरपालिका र नेपाली कांग्रेसले ५/५ लाख रुपैयाँ दिएका छन्।

यस्तै उधोग बाणिज्य महासंघले ३ लाख, रिपोटर्स क्लबले १ लाख रुपैयाँ दिएको छ भने युनिग्लोब कलेज र नेपाल पौडी संघले २५/२५ हजार रुपैयाँ दिएका छन्। यसरी हेर्दा अहिलेसम्म घोषणा भएको र पाएको रकम ८९ लाख ५० हजार रुपैयाँ पुगेको छ।

उनलाई एनसेलले पनि अर्को साता सम्मान गर्दै छ। राष्ट्रिय खेलकुद परिषद्(राखेप) र मन्त्रालयले पनि छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दैछन्।

नेपालप्रेससँग कुरा गर्दै पलेशाले नेपाल तेक्वान्दो संघले सम्मान कार्यक्रमको संयोजन गरिरहेको बताइन्। ‘ अन्य कार्यक्रमहरु पनि तय हुन लागेको भन्ने सुनेको छु’, उनले भनिन्। पलेशा अर्को साता अध्ययनका लागि चीन फर्किँदैछिन्।

यसअघि ओलम्पिक खेलकुदमा कुनैपनि खेलाडीले नेपालका लागि पदक जित्न सकेको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *