ममताकी छोरीको ‘कस्टडी’ विवाद : ‘गो फन्ड मी’ मा उठेको सवा तीन करोड कसको हातमा ? – Nepal Press

ममताकी छोरीको ‘कस्टडी’ विवाद : ‘गो फन्ड मी’ मा उठेको सवा तीन करोड कसको हातमा ?

काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता भट्टकी नाबालिग छोरीको कस्टडी (संरक्षण अधिकार) लाई लिएर विवाद उत्पन्न भएको छ । आमा ममता जीवित हुन सक्ने सम्भावना नगण्य रहेको तथा बुवा आजीवन जेल जानुपर्ने हुन सक्ने सम्भावना रहेकाले कस्टडीको विवाद उब्जेको हो ।

ममता बेपत्ता भएको केही दिनसम्म बुवा नरेशले एक वर्षिया छोरीको हेरचाह गरिरहेका थिए । तर, उनलाई नै प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । नरेशलाई पक्राउ गर्दा उनकी छोरी पनि प्रहरीले ब्ल्यांकेटमा छोपेर लगेका थिए । त्यसपछि ममताकी पारिवारिक साथी सरिता न्यौपानेले उनलाई हेरचाह गरिरहेकी छन् । त्यसबेला ममताको परिवारका कोही पनि अमेरिकामा उपलब्ध नभएकाले सरितालाई अस्थायी कस्टडी दिइएको थियो ।

गत साता ममताकी आमा र दाजुसमेत अमेरिका पुगिसकेका छन् । उनीहरु गएपछि सबैले ठानेका थिए कि अब हजुरआमालाई नै बच्चाको जिम्मा लगाइनेछ । तर, कानूनीरुपमा यो त्यति सरल छैन । हजुरआमाले नातिनी हेर्न त पाएकी छिन्, तर कानूनीरुपमा नातिनीको संरक्षण गर्ने हक उनलाई प्राप्त भएको छैन ।

यो विषय जटिल बन्नुको कारण हो ममताका बुवा नरेशको रणनीति । उनी कुनै पनि हालतमा आफ्नी छोरीको कस्टडी ससुराली परिवारलाई दिने पक्षमा छैनन् । आमा यदि बितिसकेको भए बाबुले जेलमै रहेर पनि कस्टडीका लागि कानूनी लडाईं लड्न सक्ने व्यवस्था छ । नरेशले ममताको माइतीको साटो आफ्नो परिवारमा कस्टडी ल्याउनका लागि जोडबल गरिरहेका छन् । यसका लागि उनले कारागारभित्रैबाट आफ्नो वकिलहरुलाई परिचालन गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नरेशले नै श्रीमती ममताको हत्या गरेको अहिलेसम्म प्राप्त प्रमाणहरुले देखाउँछन् । यद्यपि, लाश नभेटिएकाले प्रहरीले हत्या मुद्दा लगाउन सकेको छैन । लाश लुकाएको अभियोगमा उनलाई हिरासत राखिएको हो । तर, ठोस प्रमाण भेटिनासाथ नरेशमाथि हत्या मुद्दा नै लाग्ने छ र उनले कठोर जेल सजाय भोग्नुपर्ने हुन सक्छ । त्यो भनेको आजीवन कारावास हो । भर्जिनियामा मृत्यूदण्डको कानून भने छैन ।

यो घटनामा ममताकी आमा पनि ‘भिलेन’ का रुपमा प्रस्तुत भइरहेकी छन् । नरेशले एक अन्तरवार्तामा ममताले आमालाई आफूहरुसँगै राख्न नचाहेको दावी गरेका थिए । ममताको माइतीपक्षले पनि नरेशकी आमा अमेरिका गएपछि नै समस्या उत्पन्न भएको बताएका छन् । यद्यपि, टिकटकमा थुप्रै भिडिओहरु भेट्न सकिन्छ, जसमा ममता आफ्नी सासुसँग रमाइलो गरिरहेकी देखिन्छिन् ।

अमेरिकाको कानूनले बाबु र आमाको अनुपस्थितिमा बच्चाको कस्टडी दुवैको परिवारलाई समानरुपमा हुन व्यवस्था गरेको छ । अर्थात्, कानूनीरुपमा नरेशको परिवार र ममताको परिवार बराबर हकदार छन् । तर, अर्को जटिलता चाहीँ के हो भने अमेरिकामा जन्मेकी बालिका अमेरिकी नागरिक हुन् । आफ्नो देशको नागरिकलाई अर्को देशको परिवारलाई जिम्मा लगाउनका लागि कानूनी समस्या हुन सक्ने कतिपयको भनाइ छ ।

जर्ज वासिङ्टन युनिभर्सिटीकी ल प्रोफेसर जोन मरिससले एबीसी सेभन न्यूजसँग भनेकी छन्, ‘कानूनी रुपमा अन्तिम निरुपण नहुँदासम्म ममताकी आमाले अस्थाइ कस्टडी पाउन सक्छिन्, तर दिर्घकालमा यो कानूनी लडाईं पेचिलो बन्न सक्नेछ । यदि ममताका श्रीमानले हिरासतबाटै कस्टडीको लागि लडेको खण्डमा न्यायालयले यसलाई सल्टाउन सहज छैन । कानूनतः हजुरआमा–हजुरबा भन्दा पनि बुबाको निर्णयलाई अदालतले ध्यानमा राख्नुपर्ने हुन्छ ।’

उनी थप्छिन्, ‘यदि हजुरआमा हजुरबाले नेपाल छोडेर अमेरिका बस्ने निर्णय गरे भने उनीहरुको हकदावी बलियो हुन सक्छ । तर, यदि उनीहरुले बालिकालाई नेपालमै लैजाने भने चाहीँ अदालतले निर्णय लिन कठिन छ । त्यस्तोमा अदालतले ममताकी पारिवारिक साथी (जसले अहिले हेरिरहेकी छन्) लाई नै कस्टडी दिने निर्णय पनि लिन सक्छ । तर म चाहीँ जुनसुकै अवस्थामा पनि ममताका आमाबुबाले नै यो अधिकार पाउनुपर्छ भन्ने ठान्छु ।’

यसमा आर्थिक पाटो पनि गाँसिएको छ । ममताकी साथी सरिताले नरेश पक्राउ परेपछि ‘गो फन्ड मी’ मा सहयोग आह्वान गरेकी थिइन् । ‘ममताका लागि न्यायः उनको छोरीलाई बाँच्न सहयोग गरौं’ शीर्षकमा उनले आह्वान गरेकोमा अहिलेसम्म करिब २ लाख ४२ हजार डलर (करिब २ करोड २४ लाख रुपैयाँ) संकलन भइसकेको छ ।

२ लाख ५० हजारको लक्ष्य नजिक संकलन भइसकेको छ । अब यो रकममाथिको अधिकार उसैलाई दिनुपर्ने हुन्छ, जसले ममताको कस्टडी प्राप्त गर्छ । ममताकी छोरी बालिग भइसकेपछि भने उनैले यो हक प्राप्त गर्छिन् । यो रकम एउटा ट्रस्टमा जाने र ममताकी छोरीका लागि मात्र खर्च हुने सरीताले बताएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *