नेपाल पत्रकार महासंघको ऐतिहासिक संघर्ष र भविष्यको चुनौती – Nepal Press

नेपाल पत्रकार महासंघको ऐतिहासिक संघर्ष र भविष्यको चुनौती

नेपाल पत्रकार महासंघ (एफएनजे) को इतिहास स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संघर्षको एक जीवित दस्तावेज हो । यसको ऐतिहासिक यात्रा र चुनौतीहरू नेपाली पत्रकारिता र लोकतन्त्रको विकाससँग गहिरो सम्बन्धित छन् । महासंघले निरंकूश पञ्चायती व्यवस्था, गणतन्त्रात्मक संघर्ष र विभिन्न राजनीतिक परिस्थितिहरूसँग आफ्नो सशक्त र सम्मानित भूमिका निर्वाह गरेको छ ।

हामीले यहाँ के भुल्नु हुँदैन भने नेपाल पत्रकार महासंघको स्थापना र विकासको यात्रा एक अपूर्व संघर्षको इतिहास हो । महासंघको मूल उद्देश्य पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु, विभिन्न राजनीतिक र सामाजिक परिवर्तनको सामना गर्नु हो । २०४६ सालको जनआन्दोलनपछि नेपालमा लोकतन्त्रको पुनःस्थापनासँग महासंघको भूमिका अत्यन्त महत्वपूर्ण बन्यो । महासंघले निरंकुश पञ्चायती व्यवस्थाको विरोधमा दृढ रुपमा उभिएर लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठायो ।

तथापि, महासंघको ऐतिहासिक संघर्षले त्यति सजिलो यात्रा रहेन । जनगणतन्त्रात्मक व्यवस्थाको पक्षमा लड्ने शक्ति र तत्कालीन राज्यसत्ताको बीचको सशस्त्र मुठभेडले महासंघ चेपुवामा पर्दा पनि महासंघले पत्रकारहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्न कठिन संघर्ष गर्‍यो । फरक विचारको सम्मान गर्दै साझा रुपमा संस्थालाई सुरक्षित राख्यो ।

२०५६ सालको नेपाल पत्रकार महासंघको निर्वाचनमा तत्कालीन अर्धभूमिगत अवस्था भएका पत्रकारहरूले पनि महासंघको प्रगतिशील प्यानलबाट सक्रिय भूमिका निर्वाह गरे । प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रगतिशील प्यानलमा सर्वाधिक मत ल्याउनु भएको थियो । तत्कालीन सचिवका उम्मेदवार विष्णु निष्ठुरीसँग धेरै झिनो मतले पराजित हुनुभयो । केन्द्रीय सदस्यमा ओम शर्मा, रामरिझन यादव लगायतले जित्नु भएको थियो ।

जबकि तत्कालीन सञ्चार तथा गृहमन्त्री पूर्णबहादुर खड्काले हिंसाको पक्षमा लेख्ने पत्रकारहरूलाई वहिष्कार गर्ने, मत नदिने भन्दै प्रमुख अतिथिको रूपमा बोल्नुभएको थियो । राजनीतिक दबाबका बाबजुद निर्वाचनमा देखाइएको मतले महासंघको आलोचनात्मक र रचनात्मक भूमिका, पत्रकारहरूको आत्मनिर्भरता र बहसका क्षमताको पुष्टि गरेको छ ।

महासंघले एकताबद्ध र साझा दृष्टिकोण राख्न सक्षम रह्यो । गणतन्त्रात्मक आन्दोलनमा सामाजिक संस्थाको हिसाबले अग्रणी भूमिका खेल्यो ।

माओवादी केन्द्र र एमालेका शुभेच्छुक संगठनहरू क्रमशः प्रेस सेण्टर र प्रेस चौतारीमाथि दबाब त हुँदै हो, यसले महासंघमाथि पनि हस्तक्षेप पुर्‍याएको हो । यसैको निरन्तरतामा कांग्रेसका तर्फबाट गृहमन्त्री बनेका रमेश लेखक र हालका प्रधानमन्त्री केपी ओलीको हस्तक्षेपले महासंघको स्वायत्तता र प्रभावलाई चुनौती दिएको थियो । महासंघले यस कठिन समयमा बलियो अडान लिएर स्वतन्त्रता र अभिव्यक्ति अधिकारको रक्षा गर्नुपर्ने आवश्यकता छ ।

पछिल्ला दिनमा यसले विभिन्न राजनीतिक दबाब र हस्तक्षेपको सामना गरेको छ । राजनीतिक दलहरूको भागबण्डा र महासंघको स्वायत्तता खतरामा परेको अवस्थाले महासंघको मूल उद्देश्य र स्वतन्त्रताको रक्षा गर्ने चुनौतीलाई थप गम्भीर बनाएको छ ।

नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष गोविन्द आचार्यले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा रहँदा प्रेस सेन्टरको कार्यदलको नेतृत्व गर्नुभयो र सत्तारुढ गठबन्धनका नेता केपी शर्मा ओली र प्रचण्डको योजनामा ओलीको विश्वासपात्रलाई महासंघको सभापतिमा उठाउने सहमति गरियो ।

माओवादी केन्द्र र एमालेका शुभेच्छुक संगठनहरू क्रमशः प्रेस सेण्टर र प्रेस चौतारीमाथि दबाब त हुँदै हो, यसले महासंघमाथि पनि हस्तक्षेप पुर्‍याएको हो । यसैको निरन्तरतामा कांग्रेसका तर्फबाट गृहमन्त्री बनेका रमेश लेखक र हालका प्रधानमन्त्री केपी ओलीको हस्तक्षेपले महासंघको स्वायत्तता र प्रभावलाई चुनौती दिएको थियो । महासंघले यस कठिन समयमा बलियो अडान लिएर स्वतन्त्रता र अभिव्यक्ति अधिकारको रक्षा गर्नुपर्ने आवश्यकता छ ।

भविष्यमा, नेपाल पत्रकार महासंघले स्वतन्त्रता र स्वायत्तताको रक्षा गर्न आफ्नो भूमिका निरन्तर कायम राख्नुपर्नेछ । महासंघले आफूलाई राजनीतिक दबाब र हस्तक्षेपबाट बचाइराख्न र पत्रकारहरूको अधिकार र हकहरूको रक्षा गर्न सशक्त र प्रभावकारी दृष्टिकोण अपनाउन आवश्यक छ । पत्रकारहरूले पनि महासंघको सम्मान र गति दिनका लागि सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ ।

नेपाल पत्रकार महासंघको भविष्य यसको ऐतिहासिक मूल्य र सिद्धान्तहरूको रक्षा गर्ने क्षमतामा निर्भर गर्दछ । महासंघले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहनुपर्छ र यो सुनिश्चित गर्नुपर्नेछ कि यसका गतिविधिहरू निष्पक्ष र स्वतन्त्र रहन्छन् । पत्रकारहरूको आत्मनिर्भरत, श्रमजीवी पत्रकारहरूको लागि सशक्त भूमिका महासंघको भविष्यमा महत्वपूर्ण हुनेछ । यसैगरी, महासंघले अभिव्यक्ति स्वतन्त्रताको लागि बलियो अडान राख्न, स्वायत्तता बचाउन र श्रमजीवी पत्रकारहरूको अधिकारको संरक्षण गर्न नयाँ मार्गदर्शन र रणनीतिहरू अपनाउनुपर्नेछ ।

नेपाल पत्रकार महासंघको ऐतिहासिक संघर्ष र भविष्यको चुनौतीहरूको विश्लेषण गर्दा, यो स्पष्ट हुन्छ कि महासंघको भूमिका अझै पनि नेपाली समाजको लोकतान्त्रिक विकास र अभिव्यक्ति स्वतन्त्रतासँग सम्बद्ध छ । महासंघले आफ्नो ऐतिहासिक मूल्य र सिद्धान्तहरूको रक्षा गर्दै भविष्यमा पनि पत्रकारिता, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुका लाडि लड्न आफ्नो संकल्पलाई मजबुत राख्न आवश्यक छ ।


प्रतिक्रिया

One thought on “नेपाल पत्रकार महासंघको ऐतिहासिक संघर्ष र भविष्यको चुनौती

  1. समयसापेक्ष रूपमा चल्न नसक्दा गाैरवमय इतिहास बाेकेकाे नेपाल पत्रकार महासंघकाे अस्तित्व नै संकटमा परेकाे छ । जसले नेपाली संचार जगत मात्र नभई समग्र लाेकतन्त्रलाई नै दिर्घकालसम्म गम्भिर असर गर्ने देखिन्छ । समयमै सराेकारवालाकाे ध्यान जाआेस्, ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *