पोखरामा रविः पहिले मकैको खोया, अहिले कालोझण्डा – Nepal Press

पोखरामा रविः पहिले मकैको खोया, अहिले कालोझण्डा

पोखरा । रास्वपा सभापति रवि लामिछाने अधिकांश मोफसलका कार्यक्रममा सहभागी हुन आउँदा केही समय कार्यकर्तासँगै पैदल हिँड्न रुचाउँछन् । तर, यसपाली पोखरामा आउँदा यस्तो मेसो मिलेन । बरु उनलाई विमानस्थलबाटै प्रहरीले स्कर्टिङ गरेर कार्यक्रम स्थलभित्र पुर्‍याउनुपर्‍यो ।

रवि रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी हुन मङ्गलवार पोखरा आएका हुन् । उनलाई बाक्लो संख्यामा सुरक्षाकर्मीका साथ कार्यक्रमस्थल पोखरा बिरौटामा रहेको ग्यालेक्सी बैंक्वैटभित्र लगियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यो बैंक्वैट करिब ३ किलोमिटर दुरीमा रहेको छ ।

लामिछाने आउने थाहा पाएपछि पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ता बिहानैदेखि कार्यक्रम स्थलमा जम्मा भएका थिए । सुरक्षा व्यवस्थालाई हेरेर प्रशासनले पनि बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाएको थियो । रवि कार्यक्रम स्थलमा नआउँदै सहकारी बचतकर्ताले चर्को नाराबाजी गर्न सुरु गरिसकेका थिए ।

रवि आउँदै गर्दा बचतकर्ताले उनलार्य कालो झन्डा देखाए । सायद पहिलोपटक हुनुपर्छ रविले कालोझण्डासहित यति चर्को विरोधको सामना गरेको । रविलाई स्कटिङसहित कार्यक्रम स्थलमा लगेपछि त्यहाँ कसैलाई प्रवेश गर्न दिइएन । पार्टी कार्यकर्ताबाहेक अन्यलाई रोक लगाइयो । बाहिर रविविरुद्ध चर्को नाराबाजी भइरहँदा भित्र ढोका बन्द गरेर कार्यक्रम सञ्चालन गरियो ।

यसअघि रविलाई पोखरामै गत पुस ७ गते भाषण गरिरहेकै बेला मकैको खोया प्रहार भएको थियो । पोखरा अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापतिलाई एक युवकले खोया प्रहार गरेका थिए ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्नता रहेको भन्दै रविविरुद्ध बचतकर्ताले पोखरामा कालो झन्डा तथा विरोध प्रदर्शन गर्दै आएका छन् । रविको विरोध गर्न आएका बचतकर्ताले निर्दोष भए खुलेआम हिँड्न चुनौति दिए । गृहमन्त्री हुँदा जीवी राईलाई लुकाएको आरोपसमेत उनीहरूले लगाए ।

रवि लामिछानेविरुद्ध यसअघि नै बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत पुरक उजुरी दिएका छन् । सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्तकुमार शर्माको नेतृत्वको टोलीले केही दिनअघि रविको बयानसमेत लिएको थियो ।

सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष तथा हालका संरक्षक गितेन्द्रबाबु राई (जीवी राई)अहिले पनि फरार छन् । जीवी ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुँदा रवि उक्त टेलिभिजनका प्रबन्ध निर्देशक थिए । ग्यालेक्सी टिभीको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत रवि पनि सहकारी बचत रकम हिनामिनामा संलग्न रहको वचतकर्ताको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर