सरकार आफ्नै कानूनको भारीले थिचिँदा जलविद्युत आयोजनाहरुको लगानी जोखिममा–गोकुल बास्कोटा (भिडिओ)
काठमाडौं । पूर्व मन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारकै निकायको समन्वय अभाव र असहयोगका कारण २४१ जलविद्युत आयोजनाको अर्बौं लगानी जोखिममा परेको भन्दै तत्काल समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले वन र उर्जा मन्त्रालयबीच समन्वय नहुँदा कानूनी झमेलाका कारण नेपालले जलविद्युत उत्पादनमा आत्मनिर्भर बन्ने समय गुमाइरहेको बताए ।
बास्कोटाले वन,उद्योग र उर्जा मन्त्रीहरुले कान खोलेर सुन्नु पर्ने भन्दै अहिलेको जटिलता अन्त्य गर्न प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने समेत बताए । उनले सरकारबाट अनुमति लिएर विद्युत उत्पादनका लागि अध्ययन र अन्य काममा अर्बौ लगानी गरेका आयोजनाको काममा सरकारी निकायबाटै अवरोध भएको बताए ।
बास्कोटाले भने–यदि सम्बन्धित मन्त्रीले ध्यान नदिने हो भने प्रधानमन्त्री स्वयंले चासो राखेर कानूनी झण्झट अन्त्य गर्नुपर्छ । होइन भने सरकार आफ्नै नियम कानूनको भारी बोक्न नसकेर जंगलमा फसेको बारसिंगेको हालतमा पुग्छ । सर्बोच्च अदालतले पनि यसबारेमा फैसला गरेको छ,अब सरकारले निजी क्षेत्रका जलविद्युत उत्पादकका समस्या तत्काल समाधान गरोस् । विशेषगरी वन मन्त्रालयले अल्झाउने गरेको गुनासोको अन्त्य हुनुपर्छ ।
सांसद बास्कोटाले हाल निर्माणाधीन र निर्माणको तयारीमा रहेका ३०८ आयोजनाबाट १० हजार मेगावाट बिजुली उत्पादन हुनेमा ७ हजार निजी क्षेत्रबाट भइरहेको भन्दै वन र उर्जा मन्त्रालयको समन्वय कमजोर रहेको बताए ।