पूर्वमुख्यमन्त्री केदार कार्कीले थाले आमरण अनशन, कोशी सरकारको दाबी- सेटिङ भत्किएपछिको कदम – Nepal Press

पूर्वमुख्यमन्त्री केदार कार्कीले थाले आमरण अनशन, कोशी सरकारको दाबी- सेटिङ भत्किएपछिको कदम

कांग्रेसका प्रमुख सचेतक तामाङ भन्छन्- यो उहाँको एकल निर्णय हो

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन थालेका छन् । आफू मुख्यमन्त्री हुँदा सुरू गरेका योजना कटौती गरेको भन्दै प्रदेशसभा अगाडि बनस्खण्डी मन्दिर नजिकै उनले अनशन सुरू गरेका हुन् ।

कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । उनले आफ्ना माग पूरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

कार्कीले अनशन बस्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसोबाट अनिश्चितकालीन निषेधादेश जारी गरेको छ । पूर्वमुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम कटौती गरिएको दाबी गरेका छन् ।

उनले प्रदेश सरकरले ल्याउने बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति भए पनि कमका योजना हालेको भन्दै सच्याउन माग गरेका छन् । शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको सञ्चालन गर्न बजेट नहालेको भन्दै उनको आपत्ति छ । महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता काटेको, घीउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम रोकेको, सुनसरी मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रम रोकेको, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम रोकेकाले अनशन बसेको उनको जिकिर छ ।

पूर्वमुख्यमन्त्री कार्कीले कटौती गरेको भनिएका अधिकांश कार्यक्रम भने यस वर्ष पनि प्रदेश सरकारले सञ्चालन गर्ने गरी बजेट विनियोजन भएको सरकारी अधिकारीले बताएका छन् ।

पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘जनहितकारी एवम् समाजवादी कार्यक्रमलाई निर्ममताका साथ कटौती गरिएको छ । आर्थिक मामिला तथा योजना राम राना मगरले बजेट प्रस्तुत गर्नुभएपछि यसप्रति व्यापक असन्तुष्टि उत्पन्न भएको हो ।’

सेटिङ्ग भत्किएपछि अनशन : प्रदेश सरकार

पूर्वमुख्यमन्त्रीले आफू सरकारमा हुँदा निजी अस्पतालसँग गरेको सेटिङ भत्किएपछि हल्ला खल्ला गरेको दाबी गरेको छ । उनले सुरु गरेका धेरै जसो योजनालाई निरन्तरता दिँदा पनि अनशन बस्छु भन्दै हिँड्नुको पछाडि सेटिङ भत्किनु प्रमुख कारण भएको एक मन्त्रीले बताए ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले पूर्वमुख्यमन्त्रीले सुरु गरेको अधिकांश योजनालाई यो सरकारले निरन्तरता दिएको दाबी गरे ।

उनले भने, ‘पूर्व मुख्यमन्त्रीको सरकारले हालेको भन्दा बढी बजेट हाल्दा पनि उहाँ किन हो हल्ला गर्दै हिँडिरहनु भएको छ मैले बुझ्न सकेको छैन । ’

१० वर्ष मुनिका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम वर्तमान सरकारले निरन्तरता दिएको छ । उनले सो कार्यक्रमका लागि ३ करोड रूपैयाँ बजेट विनियोजन गरेका थिए । वर्तमान सरकारले भने सो कार्यक्रमलाई ३ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पूर्व मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा नोवेल मेडिकल कलेज र विराट टिचिङ अस्पतालसँग बालबालिकाको निःशुल्क उपचारका लागि सम्झौता गरेका थिए ।

यो वर्ष भने यी दुई अस्पतालसँग प्रदेश सरकारले सम्झौता नगर्ने तयारी गरेको छ । सरकारले आफू मातहतका सबै जिल्ला अस्पताल, प्रादेशिक अस्पताल मेची, कोशी अस्पताल र दमकमा रहेको बालबालिका अस्पतालबाट सो कार्यक्रम अगाडि बढाउने तयारी गरेको छ ।

‘हामी मापदण्ड बनाएर सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपचारको कार्यक्रम अगाडि बढाउँछौं’, मन्त्री रानाले भने ‘जसलाई पायो, जसरी पायो उपचारका नाममा प्रदेश सरकार पैसा बाँड्न सक्दैन । हाम्रो प्राथमिकता सरकारीमा रहन्छ ।’

यसअघि सो कार्यक्रम अन्तरगत पूर्वमुख्यमन्त्री कार्कीले सम्झौता गरेका अस्पतालहरूले २ करोड १८ लाख ८१४ रूपैयाँ ५८ पैसा बढी लिने प्रयास गरेका थिए ।

६ वटा अस्पतालले चार महिनामा ८ हजार २१३ जना बालबालिकाको उपचार गरेको बिल परीक्षण गर्दा २ करोड १८ लाख ८१४ रुपैयाँ १६ पैसा बढी भुक्तानीको माग गरेको पाइएको थियो ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखा फार्मेसी अधिकृत भरत साहले ६ वटा अस्पतालले ६ करोड ९७ लाख १३ हजार ६४२ रुपैयाँ २३ पैसा भुक्तानीको लागि दाबी पेस गरेको बताए ।

उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमा बोर्डबाट दक्ष कर्मचारीहरू ल्याएर एक हप्तासम्म उपचार गरेको बिल अध्ययन गर्दा बिमाको दररेटअनुसार ४ करोड ७९ लाख १२ हजार ८२८ रुपैयाँ ७ पैसाको मात्रै उपचार गरेको पाइको बताए ।

पूर्वमुख्यमन्त्री कार्कीले महिला स्वास्थ्य स्वयम सेविकालाई आफू नेतृत्वको सरकारले दिने प्रोत्साहन भत्ता काटेको दाबी गरेका छन् ।

उनले काटेको दाबी गरे पनि प्रदेश सरकारले सो कार्यक्रमलाई निरन्तरता दिएको मन्त्री रामबहादुर रानाले बताए । पूर्व मुख्यमन्त्रीको माग बजेट किताबले नै सम्बोधन गरेको उनको भनाइ छ ।

मन्त्री रानाले भने, ‘महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका लक्षित विभिन्न कार्यक्रम यो वर्ष पनि सञ्चालनमा रहेका छन् । हामीले महिला स्वास्थ्य स्वयंसेविकाका लागि १ लाख रुपैयाँको स्वास्थ्य बीमा गर्ने योजना बनाएका छौं ।’

कोरोना महामारीका बेला प्रदेश सरकारले सुरु गरेको कोरोना अस्पताललाई उनले शैलेजा आचार्य हृदयरोग केन्द्रमा रूपान्तरण गरेका थिए । सो अस्पताल सञ्चालनका लागि वर्तमान सरकारले बजेट हालेको भन्दै मन्त्री रानाले पूर्व मुख्यमन्त्रीको माग आश्चर्य जनक भएको बताए ।

कांग्रेस भन्छ- यो उहाँको एकल निर्णय हो

कोशी प्रदेशमा एमाले र कांग्रेसका बीचमा अहिले सत्ता साझेदारी भइरहेको छ । सत्तामा रहेको कांग्रेसका तर्फबाट केदार कार्की प्रदेशसभा सदस्य हुन् । आफ्नो दलको प्रदेश सभा सदस्य तथा पूर्व मुख्यमन्त्री कार्कीको माग व्यतीत भएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

दलका प्रमुख सचेतक गोपाल तामाङले केदार कार्कीले घोषणा गरेको अनशनको कुरा व्यक्तिगत भएको बताए ।

‘उहाँले सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको र आमरण अनशन बस्ने भनेर मलाई मौखिक जानकारी दिनुभएको छ,’ तामाङले भने, ‘दलले आवश्यक पर्‍यो भने निर्णय गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर