नेपाल प्रहरीबाट एआइजी ज्ञवालीको अवकाश, बिदाइ कार्यक्रममा आइजीपीले गरे प्रशंसा – Nepal Press

नेपाल प्रहरीबाट एआइजी ज्ञवालीको अवकाश, बिदाइ कार्यक्रममा आइजीपीले गरे प्रशंसा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवाली प्रहरी सेवामा अनिवार्य अवकाशमा गएका छन् । मंगलबारबाट अनिवार्य अवकाशमा गएका एआईजीपी ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा एक समारोहका बीच बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा एआईजीपी ज्ञवालीले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य राखेका थिए । अनिवार्य अवकाशमा गएका एआईजीपी ज्ञवाली २०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले नेपाल प्रहरीमा इन्सपेक्टर देखि एआईजीपीसम्म गरेर साढे २९ वर्ष बिताएका छन् ।

उनले एआईजीपी पदमा रहदाँ नेपाल प्रहरीको महत्वपूर्ण निकाय केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) हुँदा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय प्रमुख लगायतका निकायसँगै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको भूमिका निर्वाह गरेका छन् ।

ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख हुदाँ नै भुटानी शरणार्थी काण्डमा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतको उच्च नेतृत्वलाई कानूनी दायरमा ल्याउन सफल भएका थिए ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अनिवार्य अवकाशमा गएका एआईजीपी ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको बताए ।

उनले अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा गरेको अतुलनीय योगदानको पनि चर्चा गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवरले अनिवार्य अवकाशमा गएका एआईजीपीबाट सेवा निवृत्त जीवनपछि पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लागेका एआईजीपी ज्ञवालीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) एवम् वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर