‘भ्रष्टाचारको चपेटामा देश’ लिएर आए सुशासन अभियन्ता हेम पाठक, म्युजिक भिडियो रिलिज – Nepal Press

‘भ्रष्टाचारको चपेटामा देश’ लिएर आए सुशासन अभियन्ता हेम पाठक, म्युजिक भिडियो रिलिज

काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता अमेरिका निवासी हेम पाठकको भ्रष्टाचार विरोधी गीत मंगलवार काठमाडौंमा सार्वजनिक भएको छ । हेम-सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक समेत रहेका पाठकले रचना रचना गरेको भ्रष्टाचार विरुद्धको गीत ‘भ्रष्टाचारको चपेटामा देश’ म्युजिक भिडियोको एक समारोहबीच सार्वजनिक गरिएको हो ।

नेपाल सरकारका पूर्व मुख्य सचिव लीला गड्तौला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले म्युजिक भिडिओको लोकार्पण गरेका थिए । कार्यक्रममा गीतकार हेम पाठकले विशेष मन्तव्य राख्दै गीत सिर्जना र संस्थाको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए ।

साथै गीतकार पाठकले आफू नेपालमा रहँदा तीन दशकअघि सामाजिक विकास समाज, अनामनगरमार्फत भ्रष्टाचार विरुद्धको जुलुस निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाकक्षमा भ्रष्टाचार विरुद्धको कार्यक्रम गरेको स्मरण गरेका थिए ।

सोही अवसरमा गीतकार पाठकले बृद्द भ्रष्टाचारीहरु मरेर गए पनि तिनीहरुको हड्डी जेलमा हालेर असुलउपर गर्नुपर्ने बताए । फाउन्डेसनकी संरक्षक सरिता पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका विशिष्ट अतिथिहरु वरिष्ठ सर्जक एवं भ्रष्टाचार विरुद्धको अभियन्ता भरत जंगम, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी. र नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा सहभागी थिए ।

कार्यक्रममा फाउन्डेसनका सल्लाहकारहरु रवीन्द्र मिश्र, रामेश्वर फुँयाल, विज्ञान शर्मा, रमेश खरेल, देवेन्द्र सिटौला र तीर्थ कोइराला तथा पूर्व राजदूत अर्जुन कार्की,फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीको उपस्थिति रहेको थियो ।

यसैगरी संस्थाका भ्रष्टाचार विरुद्धका अभिव्यक्ति दूत किरण के. सी. (म्युजिक भिडियोका नायक), “भ्रष्टाचारको चपेटामा देश“ म्युजिक भिडियोकी गायिका कुन्ती मोक्तान, गायक शिशिर योगी, र सङ्गीतकार बी बी अनुरागी लगायत म्युजिक भिडियोका कलाकारहरु विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू, आर. के. मानन्धर र म्युजिक भिडियोका निर्देशक सुदन के. सी. सहभागी थिए ।

फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन कार्यक्रम प्रस्तोता बिबुसा बस्नेतले गरेकी थिइन । फाउन्डेसनले भ्रष्टाचारविरुद्ध समाचार लेख्ने पत्रकार तथा कविहरुलाई समेत पुरस्कृत गर्दै आएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर