नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्षका लागि नियोनबाट श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा – Nepal Press

नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्षका लागि नियोनबाट श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा

काठमाडौं । नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन)ले नेपाल इन्जिनियर्स एशोसिएसन (नियोन)को अध्यक्षसहितको प्यानल घोषणा गरेको छ । ईन्जिनियर दिपक श्रेष्ठको अध्यक्षतामा नियोनले प्यानल घोषणा गरेको हो ।

श्रेष्ठको अध्यक्षतामा रहेको नियोन प्यानलको उपाध्यक्षमा श्यामनारायण चौधरी, महासचिवमा राजेन्द्रबहादुर क्षेत्री, उपमहासचिवमा गजेन्द्रकुमार झा, कोषाध्यक्षमा देवेन्द्रबहादुर राउत, सहकोषाध्यक्षमा भुवनबहादुर पौडेल रहेका छन् ।

यस्तै, सदस्य पदमा अनिल नेपाल, खेमराज पोखरेल, प्रविण ढकाल, निर्मल कडरिया, यादवराज घिमिरे, सन्दिप केसी, अनुप क्षेत्री, लोकेन्द्र कार्की, विजय पौडेल, आकाश थापामगर र समिर सुवेदी रहेका छन् ।

अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका श्रेष्ठ २० वर्षदेखि इन्जिनियरिङ पेशामा क्रियाशिल रहेका छन् भने श्रेष्ठले नेपाल इन्जिनियरिङ परिषद् सदस्यका रुपमा पनि काम गरिसकेका छन् ।

प्यानल घोषणा गर्दै अध्यक्षका प्रत्यासी श्रेष्ठले नेपाल इन्जिनियर्स एशोसिएसनलाई राज्यको विकास निर्माण क्षेत्रको थिंक ट्यांकका रुपमा स्थापित गर्ने बताएका छन् । उनले ७० वर्षको गौरवमय इतिहास भए पनि बाटो विराएको एशोसिएसनलाई सबैको साझा संस्था बनाउने, राज्य तथा सरकारसँग जोड्ने र भूमिका बढाउने योजना रहेको बताए ।

उनले भने, ‘नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल सरकारको बीचमा समन्वय छैन । एक खालको ग्याप छ । सरकारले एशोसिएसनलाई चिनेको जस्तो देखिँदैन । विकास निर्माण सेक्टरको स्टेकहोल्डर भन्दा पनि एउटा एनजिओको रुपमा व्यवहार गरिएको छ । नीति निर्माण, बजेट, विपद् व्यवस्थापन, प्लानिङको विषयमा एशोसिएसनसँग सरकारले मिलेर काम गर्नुपर्ने हो, तर यहाँ त्यस्तो देखिँदैन,’ उनले भने, ‘हामी सरकारसँग समन्वय, नीति निर्माण, विपद् व्यवस्थापन र बजेट निर्माणमा सक्रिय सहभागिताका साथ काम गर्छौं ।’

समृद्धिका बाहक इन्जिनियरको संस्थालाई विकास निर्माणमा राज्यको स्टेकहोल्डरका रुपमा विकास गर्ने आफ्नो एजेण्डा रहेको भन्दै श्रेष्ठले साथ दिन अनुरोध गरे । नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन यही भदौ २८ गते शुक्रबार हुँदैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर