नवराजपुरकाे भ्रष्टाचारमा तत्कालीन अध्यक्ष, अधिकृत र उपभोक्तासहित १४ जना दाेषी ठहर  – Nepal Press

नवराजपुरकाे भ्रष्टाचारमा तत्कालीन अध्यक्ष, अधिकृत र उपभोक्तासहित १४ जना दाेषी ठहर 

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकामा भएको एउटै भ्रष्टाचार काण्डमा तत्कालीन अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र उपभोक्ता समितिसहितका १४ जना दोषी ठहर भएका छन् ।

विद्यालयको अपुरो भवन निर्माण भएको भनेर झुठो विवरणको आधारमा भुक्तानी दिएको/लिएको मुद्दामा तत्कालिन गाउँपालिका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्यसहित १४ जना दोषी ठहर भएका हुन् ।

वडा नम्बर २ स्थित रामजानकी दलित आधारभूत विद्यालयमा आव २०७७/०७८ मा भवन निर्माण गरेको भन्दै १४ लाख ५१ हजार ५५१ रुपैयाँ भुक्तानी गरेको पाइएको छ । तर भवन निर्माण भने गरिएको छैन ।

उक्त विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी भ्रष्टाचार भएको दावी गर्दै ०८१ जेष्ठ २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले आज उनीहरुलाई भ्रष्टाचार गरेको ठहर गर्दै सजाय समेत सुनाएको छ ।

दोषी ठहर भएका यादव नेपाली काँग्रेसकी नेतृ चित्रलेखा यादवको आफ्नै सहोदर भाइ हुन् । तत्कालीन योजना शाखा प्रमुख रमेश निधी, जिन्सी प्रमुख संजय प्रसाद यादव, वडा ४ का अध्यक्ष मदन यादव, वडा ५ का अध्यक्ष मनोज यादव र वडा २ का अध्यक्ष खुशीलाल साहलाई पनि दोषी ठहर गरिएको छ ।

अधिकृत कुसियैत र लेखापाल आचार्य बाहेक उनीहरु सबैलाई ३ महिना कैद र १० हजार जरिवाना तोकेको छ । अधिकृत कुसियैत र लेखापाल आचार्यलाई ३/३ महिना कैद र २ लाख ७ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ ।

गलत प्राविधिक मुल्यांकन प्रतिवेदन दिएका इन्जिनियर कृष्णा साह र सब-इन्जिनियर सन्तोष कुमार यादव पनि फसेका छन् । दोषी ठहर भएका उनी दुबै जनालाई पनि ३ महिना कैद र १० हजार जरिवाना तोकिएको छ ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखियालाई पनि दोषी ठहर भएका छन् । उनीहरु झुठा बिल पेश गरेका थिए । उनीहरुलाई ३ महिना कैद सजाय सुनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर