सरकारले उपसभामुखलाई राजीनामाका लागि बलजफ्ती गरेको छैनः सांसद बर्तौला – Nepal Press

सरकारले उपसभामुखलाई राजीनामाका लागि बलजफ्ती गरेको छैनः सांसद बर्तौला

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन् ।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताएका हुन् । उनले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकुलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको बताए ।

उनले उपसभामुखको विषय सरकारले सिर्जित गरेको नभइ संसदमा उठेको विषय भएको बताए । उनले उपसभामुखले संसदसँग असम्बन्धित व्यक्तिहरुलाई भिसाका लागि अमेरिकी दुतावासमा पत्र लेख्नुले संसदको मर्यादामाथि हुर्मत लिएको बताए ।

‘उपसभामुखसँग जोडिएको घटना संसदको विषय हो । संसदमा उठेका विषय हुन् । सरकारले बनाएको । सरकारद्वार सिर्जित समस्या, विषय होइन । उहाँले गर्नु भएको काम पदीय जिम्मेवारी अनुकुल होइन । त्यो कुरा बेठिक हो । बेठिक हो भन्ने कुरा संसदमा उठ्यो’, उनले भने, ‘एम्बेसीसँग भिसा माग्न पत्राचार गरेको व्यवहारबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको संसदको पदाधिकारीको हैसियत के हो भन्नेकुरा जसरी उजागर भएको छ, संसदको मर्यादामाथि हुर्मत लिने काम गरेको पनि तथ्य हो । मार्ग प्रशस्त गर्ने कुरा उहाँ स्वयम्को कुरा हो । हामीले कुनै बलजफ्ती गरेका छैनौँ ।’

उनले प्रतिपक्ष दलहरुले उपसभामुखको विषयमा संसदमा बोलेर परिस्थिति भड्काउने काम गरेको आरोप लगाउनु भयो । प्रतिपक्षले सत्ता पक्षलाई उत्तेजित पार्ने कोसिस गरिरहेका उनको भनाइ छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर