उपेन्द्रलाई आफ्नै समूहद्वारा असहयोग, महासचिवका उम्मेदवार अशोक यादवले गराए निर्वाचन आयोगमा उजुरी दर्ता – Nepal Press

उपेन्द्रलाई आफ्नै समूहद्वारा असहयोग, महासचिवका उम्मेदवार अशोक यादवले गराए निर्वाचन आयोगमा उजुरी दर्ता

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उनकै समूहका नेताहरु असन्तुष्ट बनेका छन् । पार्टीको महाधिवेशनका विषयमा यसअघि उनलाई साथ दिएका नेताहरुले असन्तुष्टि जनाउँदै निर्वाचन आयोगमै उजुरी दिएका छन् ।

उपेन्द्र निकटस्थ सोही पार्टीका नेता अशोक यादवले निर्वाचन आयोगमा उजुरी दर्ता गराएको नेपाल प्रेसलाई जनाए । अशोक जसपा नेपालको महाधिवेशनमा महासचिवका उम्मेदवार रहेका थिए । अहिले पनि उनी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष रहेका छन् । यादवले आज निर्वाचन आयोगमा पुगेर उजुरी दर्ता गराएका जनाए ।

जसपा नेपालको गत जेठमा सम्पन्न एकता महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र यादव मात्र सर्वसम्मतिले चयन भएका थिए भने बाँकी सबै पदमा भने उम्मेदवारीहरू परेका थिए । चुनाव भए पार्टीको समावेशी सन्तुलन बिग्रिने डरले चुनाव स्थगित गरेर केन्द्रीय समिति चयन गर्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको थियो ।

अशोकले केन्द्रीय समिति, पदाधिकारी चयनलगायतका विषय विधान तथा निर्देशिका विपरीत भएको र त्यसको छानबिन गरी गैरकानुनी रूपमा भएका कामकारबाहीहरू बदर गर्न माग गरेका छन् । अध्यक्ष यादवले केन्द्रीय समितिसहित कार्यकारिणी र पदाधिकारीहरू पनि घोषणा गरिसकेका छन् ।

तर त्यो घोषणाप्रति पार्टीका थुप्रै नेताहरूले असहमति जनाउँदै आएका छन् । लामो समयमा पार्टीमा योगदान दिएकाहरूले कुनै पद नपाएको तथा पार्टीमा भर्खर प्रवेश गरेकाहरूले पदाधिकारी बनेकोमा उनीहरू असन्तुष्ट बनेका हुन् ।

पार्टी विधानको धारा ८५(२) मा तोकिए बमोजिमको योग्यता नभएका तथा पार्टीमा आबद्ध भएको १ वर्ष पनि पुरा नगरेका रामकुमार शर्मालाई महासचिव बनाएको छ भने बाँके जिल्ला अध्यक्ष मोहमद कमरुदिन राईलाई सचिव तथा पार्टीको साधारण सदस्य मात्र रहेकी सुरिता साहलाई कोषाध्यक्ष पदमा विधानविपरीत चयन गरेको नेता अशोक यादवले निर्वाचन आयोगमा दर्ता गराएको उजुरीमा उल्लेख छ ।

त्यसैगरी विधानको धारा ८५ (३) विपरीत धरान उपमहानगरपालिका सदस्य मात्र रहेका ताजुब लिम्बू लगायतका थुप्रैलाई केन्द्रीय सदस्यमा चयन गरेको उजुरीमा दाबी गरिएको छ ।

पार्टीको विधान तथा महाधिवेशन निर्वाचन निर्देशिका अनुसार केन्द्रीय कार्य समितिको निर्वाचनमा कम्तीमा एक तिहाइ महिलासहित नेपालको विविधतालाई प्रतिबिम्बित हुने गरी आदिवासी, जनजाति, मधेसी, खस क्षेत्री र ब्राह्मण समूह, थारु, दलित, मुस्लिम, अपाङ्गता भएका र अल्पसङ्ख्यक समुदायका जातीय/सामाजिक समूहबाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू (पदाधिकारीबाहेक) निर्वाचित गरिने र यसरी निर्वाचित गर्दा ४० प्रतिशत युवा हुने गरी निर्वाचित गर्ने व्यवस्था भएको तर यसलाई पनि ख्याल नगरिएको आरोप उनको छ ।

महाधिवेशन चुनावका लागि विभिन्न पदमा ३७२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्येबाट २०१ जना केन्द्रीय पदाधिकारी, कार्यकारिणी सदस्य र केन्द्रीय सदस्य चयन गर्ने अधिकार उपेन्द्र यादवलाई दिएको थियो । तर अध्यक्ष यादवले महाधिवेशनमा उम्मेदवारी नै दर्ता नगराएका कतिपय नेतालाई पदाधिकारीदेखि कार्यकारिणी तथा केन्द्रीय सदस्यमा मनोनीत गरेको नेता अशोक यादवले आरोप लगाएका छन् ।

अध्यक्ष यादवले गरेका ती सबै निर्णय पार्टीको विधान र निर्वाचन निर्देशिका, २०८१ को नियम ४ (ग) विपरीत रहेको भन्दै नेता अशोक यादवले पदाधिकारी, कार्यकारिणी विभिन्न निकाय प्रमुख र सदस्य चयन गरेका सम्पूर्ण काम कारबाही बदर गरी पार्टीको विधान र निर्देशिका बमोजिम पदाधिकारी, कार्यकारिणी र केन्द्रीय सदस्यको चयन गराउनका लागि आयोगसँग माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर