साम्बाला : दृश्य भाषामा लेखिएको सुन्दर ‘कविता’ – Nepal Press

साम्बाला : दृश्य भाषामा लेखिएको सुन्दर ‘कविता’

मीनबहादुर भाम निर्देशित ‘साम्बाला’ हेर्नकै लागि नेपाल आएका नवाजुद्दीन सिद्दिकी र अनुराग कश्यपलाई एकै छिन परै राखौँ । बर्लिन, लोकार्नो जस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा पुगेर इतिहास रचिसकेको यो फिल्म चाहिँ कस्तो छ त ? स्क्रिप्टले नै संसारभर करोडौँ रुपैयाँ फन्ड जितेको सम्बाला १४ करोड लगानीमा बनेको अहिलेसम्मकै महँगो नेपाली फिल्म पनि हो ।

‘साम्बाला’ अर्थात् मिथिकल ह्याभन । ‘साम्बाला’ भन्नाले यस्तो सहर, जहाँ पाप र हिंसा हुँदैन । रिम्पोछेहरुले पुनर्जन्म लिने ठाउँ हो । तर, फिल्म ‘साम्बाला’ र मिथक ‘साम्बाला’ फरक छन् ।

फिल्म ‘साम्बाला’मा उच्च हिमाली भेगको भूगोल छ । त्यहाँ हिउँमा जीवन खोज्ने मानिसहरू छन् । ती मानिसहरूको विश्वास पद्धति र संस्कृति छ । संस्कार छ । दर्शन छ । त्यहाँ दुःखलाई छिचोल्दै आफ्नै जीवनको गीत गाउन खोज्ने पेमाहरु छन् । र, पेमाहरु आफैँलाई खोजिरहेका छन् ‘साम्बाला’मा ।

आफैँलाई खोज्न/आफैँलाई चिन्न कति सजिलो छ ? सायद सजिलो छैन । अरूलाई खोज्ने बहानामा आफैँलाई खोजिरहेकी पेमाले आफूलाई भेट्छिन् त ? कसैलाई भेट्ने लालसामा भित्रभित्रै आफ्नै स्वतन्त्रताको खोजी गरिरहेकी पेमाले समाजसित विद्रोह गर्न सक्छिन् त ? यसका लागि ‘साम्बाला’ हलमै गएर हेर्नुपर्ने हुन्छ ।

खासमा ‘साम्बाला’ हिमालको कथा हो ।

हिमाल टाढाबाट हेर्दा सुन्दर देखिन्छ । नजिकबाट हेर्नेहरूका लागि हिमाल दुःख हो । चिसो हिउँ छिचोलेर बाँच्नु अर्को संघर्ष हो । मान्छे पनि हिमाल जस्तै त हो, दुरीबाट हेरे राम्रो, नजिकैबाट हेरे अप्ठ्यारो । परबाट हेरे मुस्कान देखिन्छ, नजिकबाट हेरे आँसु महसुस गरिन्छ ।

देखेका सबै सपनाहरू पूरा हुनुपर्छ भन्ने छैन । सबै सपना पूरा हुँदैनन् पनि । परिस्थितिले गिजोलेपछि, जिम्मेवारीले थिचेपछि कतिपय सपनालाई सदाको लागि बिर्सिदिनुपर्ने हुन्छ ।

सारमा ‘साम्बाला’ पेमा नामक महिलाको कथा हो ।

तीनजना दाजुभाइसित उनको विवाह हुन्छ । जेठो टासी, माइलो कर्म, कान्छो दावा । माइलो सानैदेखि लामा बनेर गुम्बामा छन् । टासी व्यापारको क्रममा तिब्बत जान्छ । यता पेमा गर्भवती छन् । तर, त्यो गर्भ टासीको होइन भन्ने हल्ला गाउँमा चल्छ । गाउँमा चलेको हल्लालाई हावाले उडाएर ल्हासाबाट फर्किरहेका टासीको कानमा ठोक्किन्छ । तासीको पुरुष अहम्मा चोट लाग्छ । ऊ उतै कतै हराउँछ, याकहरुलाई मात्रै घर फर्काउँछ ।

गर्भवती पेमा श्रीमान् टासीलाई खोज्न अनिश्चित यात्रामा निस्किन्छिन् । पेमाको यही यात्रालाई कवितात्मक दृश्य भाषामा पस्केका छन् भामले ।

०००

भनिन्छ नि, बिहानले दिनको संकेत गर्छ । फिल्मको ओपनिङ सट नै ‘साम्बाला’को कथा सार हो । ओपनिङ सटमा पेमाको टाउकोले घाम छेकेको छ । पेमा लुङ्दर मिलाइरहेकी छे । पेमाको अनुहार कालो छाया मात्रै देखिन्छ । बिस्तारै क्यामेरा चल्न थाल्छ । र बिस्तारै पेमाको अनुहार उज्यालो हुँदै आउँछ । अर्थात् पेमाले आफूलाई राम्रोसँग चिनेकी नै छैन । चिन्नै बाँकी छ । आफू को हो भनेर चिन्दै जानेछिन् ।

‘साम्बाला’ पेमाको आफैँभित्रको उज्यालोको यात्राको कथा हो । त्यो यात्रामा निस्कन उसले दुःखको अँध्यारो सुरुङको बाटो भएर हिँड्नुपर्ने छ । यति धेरै कुरा भामले एकै सटमा भनेका छन् ।

बहुपति प्रथालाई निरन्तरता दिइरहेको पुरानो सोच भएको गाउँमा परपुरुषसँगको ‘झुटो’ हल्ला चल्नु एक महिलाका लागि मृत्युसरह हो । त्यस्तो अवस्थाबाट समाजसँग विद्रोह गरेर स्वतन्त्रताको वकालत गर्नु अक्सिजनविना सगरमाथा चढ्नु जस्तै हो । पेमाका लागि झुटो हल्ला कति ठूलो समस्या हो भनेर भामले पेमाको नाबालक श्रीमान् दावामार्फत् भनेका छन् ।

१०/११ वर्षको दावा स्कुलमा झगडा गर्छ । पेमा स्कुल जान्छिन् । स्कुलबाट दावा दौडन्छ । पेमा दावालाई पछ्याउँछे । बाटोमा पुल आउँछ । पेमा पुलको बीचमा पुग्छिन् । त्यहाँ दावाले पेमा–रामको सम्बन्धबारे गाउँभरि हल्ला चलेको, पेटको बच्चा पनि रामको भएको र टासी आएपछि आफूले सबै बताउने बताउँछ । यसपछि दावा पुल तरेर जान्छ, पेमा पुलको बीचमा अडिन्छिन् । न अगाडि बढुँ, न पछाडि फर्कुँ ! पेमाको मनोविज्ञानलाई पुलको बीचमा राखेर भामले यसरी खिचेका छन् ।

……

देखेका सबै सपनाहरू पूरा हुनुपर्छ भन्ने छैन । सबै सपना पूरा हुँदैनन् पनि । परिस्थितिले गिजोलेपछि, जिम्मेवारीले थिचेपछि कतिपय सपनालाई सदाको लागि बिर्सिदिनुपर्ने हुन्छ ।

दावाको सपना हो, पाइलट बन्ने ।

बुद्ध धर्ममा माइलो छोरालाई लामा बनाइन्छ । ऊ गुम्बामा बस्छ । तर, कहिलेकाहीँ आवश्यक पर्दा लामा अध्ययनलाई निरन्तरता दिँदै घर परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ । जसका लागि ‘घोडा चढ्ने’ बिम्बको प्रयोग गरिएको छ ।

दावाले पाइलट बनेपछि पेमालाई हवाई जहाजमा उडाउने बताएको हुन्छ । तर परिस्थिति दावाको सपनाको प्रतिकूलतामा बदलिइसकेको हुन्छ । घर नआएका टासीलाई भेटेर सत्य बताउन पेमा घरबाट निस्कन्छे । निस्कने वेला चिठीमा घर हेर्नु, याक स्याहार्नु भनेर कागजमा लेख्छे । कागजलाई टेबलमा राख्छे । उक्त कागजलाई दावाको खेलौना हवाई जहाजले थिचिदिन्छे ।

दावाले ठूलो भएपछि आकाशमा उडाउने हवाई जहाज घरको जिम्मेवारीमा आएर अवतरण हुन्छ । अब चारैतिर हिमालले छेकेको सानो गाउँमा याकहरूलाई चराएर बस्नुपर्नेछ दावाले । यति धेरै कुरा मीन धामले कागजलाई हवाई जहाजले थिचिदिएको सानो सिनमै भनिभ्याएका छन् ।

…….

मध्यान्तरमा पेमा टासीलाई खोज्न निस्किएकी छन् । उनको पछाडि ब्लर गरिएको छ । त्यही ब्लरमा पेमालाई पछ्याउँदै आइपुग्छन् लामा कर्म । रिम्पोछेले कर्मलाई पेमासित पठाएको छ । तर, यसवेलासम्म पेमाले भने परिस्थितिलाई फरक तरीकाले सोचिसकेकी छे । यसको संकेत मीन भामले अलि अगाडि नै दिएका छन् । पेमाले आमासित ‘कर्म पनि छ’ भन्ने संवाद बोलेकी हुन्छे ।

पेमा बिस्तारै बदलिँदै गरेको देखाउन मीन भामले धेरै फुटेज र संवादको प्रयोग गरेका छैनन् । जस्तो: कविता पारखीहरूलाई थाहा हुन्छ नि, थोरै शब्दबाट धेरै कुरा कसरी भनिएको हुन्छ ! भामले शब्दको ठाउँमा दृश्यको प्रयोग गरेका छन् ।

…….

हाम्रो समाजमा केही कुरा हुन्छन्, जुन कानुन जस्तै हुन्छ । यो गर्न हुन्छ, यो गर्न हुँदैन भनेर हाम्रो समाजमा स्थापित केही मान्यताहरू हुन्छन् । जस्तो, चेलीलाई खुट्टाले छुनु हुँदैन ।

त्यस्तै मान्यता अनुरूप लामाहरू कतिपय ठाउँमा घोडा चढ्दैनन् । लामाहरूले घोडा नचढ्नु उनीहरूको विश्वाससँग जोडिएको कुरा भयो । जनावरलाई दुःख दिनुहुन्न, आफ्नै हातखुट्टा छँदै छ भन्ने विश्वास उनीहरूमा हुन्छ । उनीहरू यसै पनि अहिंसाको पक्षपोषक हुन् । तर, परिस्थिति बिस्तारै बदलिँदैछ । यसलाई भामले एउटा संवादमार्फत् प्रष्ट्याएका छन् ।

पेमाले कर्मलाई भन्छिन्, ‘अब तिमीले घोडा चढ्न सिक्नुपर्छ ।’

पेमाको घोडा चढ्ने प्रस्ताव कर्मको जिम्मेवारी पनि हो । किनभने टासी हराएको छ । घोडा चढ्नुलाई यौनिक बिम्ब पनि हो । लापत्ता भएका टासी, भविष्य अनिश्चित भएकी गर्भवती पेमा र गुम्बाबाट बाहिर निस्केका कर्मबीचमा ‘घोडा चढ्ने’ बिम्बलाई सुन्दर ढंगले भामले प्रयोग गरेका छन् ।

बुद्ध धर्ममा माइलो छोरालाई लामा बनाइन्छ । ऊ गुम्बामा बस्छ । तर, कहिलेकाहीँ आवश्यक पर्दा लामा अध्ययनलाई निरन्तरता दिँदै घर परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ । जसका लागि ‘घोडा चढ्ने’ बिम्बको प्रयोग गरिएको छ ।

पेमा र कर्म पठारको बाटो हिँड्दै हिँड्दै जाँदा हिमालको नजिक पुगिसकेका हुन्छन् । ब्याकग्राउण्डमा हिमाललाई देखाइएको छ । कर्म भने घोडामा चढ्छ । तर, लड्छ । सँगै अर्को दृश्यमा कर्म घोडा चढ्छ । जब ऊ घोडा चढ्छ, उसले गुरु रिम्पोछेलाई सम्झन्छ । घोडा चढ्नुअघि भने रिम्पोछेलाई सम्झिएको हुँदैन ।

यो दृश्यले के बताउँछ भने कर्ममा विरोधाभाष छ । कर्म मात्रै होइन, प्राय हरेक मान्छे विरोधाभाषपूर्ण नै हुन्छन् । हामी गल्ती गर्छौँ, अनि पछुताउँछौैं । यो मानवीय स्वभावलाई प्रष्ट्याउन भामले कर्मलाई घोडा चढाएर रिम्पोछे सम्झाएका छन् । दोधार मनस्थितिमा पेमालाई स्वको खोजीमा हिँडाएका छन् ।

स्वेटरसँगै पेमाको आफैँलाई चिन्ने/बुझ्ने यात्रा पनि सुरु भएको छ । जति जति पेमाको औँलाहरू कुरुषमा चल्छन्, उति नै पेमा बदलिँदै गएकी छे । सामान्य घर गृहस्थी गरिरहेकी उनी बिस्तारै गम्भीर कुरा गर्न थालेकी छन् । धागोलाई पहेँलो बनाउन पहेँलो फूल टिपेकी थिइन् । पछि कर्मले फूल टिपेर सिउरिदिन खोज्दा भन्छिन्, ‘फूललाई त्यहीँ फक्रन दिनू !’

…….

‘साम्बाला’मा एउटा पात्र छ- घोडा !

राम्रा फिल्महरूमा सधैँ व्यक्ति मात्रै पात्र भइरहँदैन । वस्तुहरू झनै सघन पात्र बनिदिन्छन् । ‘साम्बाला’ मा घोडाको यात्रा आफैँमा रोमाञ्चक छ । तासी हराएपछि (नियतवश) घोडामा निस्केकी पेमाले बाटोमा घोडा हराउँछे । घोडा हराएपछि घोडाले बोक्ने गरेको भारीको जिम्मेवारी कसको हो ? कर्मको ! टासी हराएपछि कर्मको काँधमा आइपरेको घरको जिम्मेवारी देखाउन भामले घोडाले बोक्ने भारी कर्मलाई बोकाएका छन् ।

तर, भारी बोकेको केही समयपछि घोडा भेटिन्छ । कर्मको ढाडमा थेचारिएको भारी घोडाको ढाडमा सर्छ ।

घोडाको यात्रा निरन्तर भइरहन्छ । पेमाको कुम्लोकुटुरो बोकिरहेको घोडा अन्त्यतिर हराउँछ । पेमाले खोज्छिन् । फ्याउराहरू कराउँछन् । र घोडाको लास भेटिन्छ । मृत घोडा भेटिनुले टासी मरिसकेको वा कहिल्यै नभेटिने संकेत गर्छ ।

साम्बालामा अर्को पात्र छ,- अक्षर खोपिएको ढुंगा !

लुङदरमा मन्त्रहरू हुन्छन् । उक्त मन्त्रलाई हावाले हल्लाउँछ । हावाको माध्यमबाट मानिसभित्र छिर्छ भन्ने विश्वास बौद्धमार्गीमा छ । त्यही विश्वास ढुंगामा खोपिएको मन्त्रमा पनि हुन्छ । भर्खरै विवाह गरेको टासीले पनि ढुंगा खोप्छ । आफूले खोपेको ढुंगा ल्हासा जाँदा लिएर गएको हुन्छ ।

टासी घर नफर्की बेपत्ता भएको त हुन्छ । तर, ऊ पूर्णरुपमा रूपमा हराउने नियतले बेपत्ता भएको हुँदैन । वा उसले कतै न कतैबाट पेमालाई नियालिरहेको छ । जस्तो: कर्मले घोडा चढ्न थालेपछि, पेमासँग बाजा बजाएर गीत गाउन थालेपछि अचानक टासीले छाडेको ढुंगा भेटिन्छ । ढुंगाले कर्मलाई पूर्ण रूपमा घर फर्कन पनि दिँदैन, गुम्बा फर्कन पनि दिँदैन ।

‘साम्बाला’मा अर्को पात्र पनि छ,- स्वेटर !

पेमाले धागो केलाउँदै स्वेटर बुन्न सुरु गर्दादेखि नै स्वेटरले पेमासँगै यात्रा गरेको छ । सबैले स्वेटर मन पराउँछन् । तर, पेमाले कसका लागि बुनिदिएकी हो ?

स्वेटरसँगै पेमाको आफैँलाई चिन्ने/बुझ्ने यात्रा पनि सुरु भएको छ । जति जति पेमाको औँलाहरू कुरुषमा चल्छन्, उति नै पेमा बदलिँदै गएकी छे । सामान्य घर गृहस्थी गरिरहेकी उनी बिस्तारै गम्भीर कुरा गर्न थालेकी छन् । धागोलाई पहेँलो बनाउन पहेँलो फूल टिपेकी थिइन् । पछि कर्मले फूल टिपेर सिउरिदिन खोज्दा भन्छिन्, ‘फूललाई त्यहीँ फक्रन दिनू !’

धागोको पहेँलो र लामा/आनीहरुले लगाउने लुगाको माथितिरको भागको पहेँलोबीच भामले केही न केही भन्न खोजेका छन् । जुन पहेँलो धागो स्वेटरको रूपमा बिस्तारै पूर्ण हुने तरखरमा छ । स्वेटरमार्फत् भामले भन्न खोजेका छन्, पेमा आफैँलाई भेटाउने यात्रामा छिन् ।

जसै पेमाले स्वेटर पूरा गर्छिन्, त्यही वेला रिम्पोछे मरेको खबर राम सरले ल्याइपुर्‍याउँछ । पेमाले कर्मलाई राम सरसँग गुम्बा पठाउँछिन् । र पेमा एक्लै यात्रामा निस्कन्छिन् । त्यो यात्रामा उनले बुनेर पूरा गरेको स्वेटर आफैँ लगाउँछिन् । यो ‘साम्बाला’ को जबरर्जस्त दृश्य हो ।

पछि पेमा र टासीको भेट हुन्छ । तर, टासीले बच्चा जसको भए पनि फालिदिनू भनेर भनिदिन्छ । एउटा निर्दोष बच्चालाई फाल्नुभन्दा बच्चा फाल्न लाउने टासीलाई छाड्नु उपयुक्त ठान्छिन् पेमाले । टासीले पेमाको ठाउँमा समाज रोज्छ, पेमाले आफ्नो स्वनिर्णय रोज्छिन् । पुरातन सोच भएको समाजमा योभन्दा ठूलो विद्रोह अर्को कुनै हुन सक्छ र !

जब राम सर र कर्मलाई फर्काएर पेमा एक्लै अगाडि बढ्छिन्, तब उनी हिमालको शिखरमा पुग्छिन् । हिउँ नै हिउँले भरिएको डाँडामा एक्लै घोडासँग हिँडिरहेकी हुन्छिन् । पुरुषहरुलाई घर फर्काएपछि पो पेमाले शिखर चढ्छिन् । जुन शिखरबाट टासीले देख्न नसके पनि देख्नुपर्ने अनन्त शिखरहरू देख्न सक्नेछिन् । ‘साम्बाला’को सबैभन्दा सुन्दर दृश्य यो पनि हो ।

०००

गौतम बुद्धबारे धेरैलाई थाहा छ । तर, उसकी श्रीमती यशोधराबारे धेरैलाई थाहा छैन । भामले ‘साम्बाला’ मार्फत् नभनिएको यशोधराको कथा भन्ने कोसिस गरेका छन् ।

‘साम्बाला’ यशोधराले आफूलाई खोजेको कथा हो । सुत्केरी श्रीमती छाडेर हिँडेका सिद्धार्थ गौतम पछि बुद्ध बने । बुद्ध बनेर गाउँ फिरे । ज्ञान बाँडे । तर, सुत्केरी यशोधराको आँखाबाट बुद्ध कस्ता देखिएलान् ? यशोधराको पनि त आफ्नो यात्रा होला । आफ्नै स्वको खोजी होला । भामले यही कुरा बताउन पेमा र टासीको सहारा लिएका छन् । र पेमालाई स्वको खोजीमा हिँडाएका छन् ।

पछि पेमा र टासीको भेट हुन्छ । तर, टासीले बच्चा जसको भए पनि फालिदिनू भनेर भनिदिन्छ । एउटा निर्दोष बच्चालाई फाल्नुभन्दा बच्चा फाल्न लाउने टासीलाई छाड्नु उपयुक्त ठान्छिन् पेमाले । टासीले पेमाको ठाउँमा समाज रोज्छ, पेमाले आफ्नो स्वनिर्णय रोज्छिन् । पुरातन सोच भएको समाजमा योभन्दा ठूलो विद्रोह अर्को कुनै हुन सक्छ र ! फिल्ममा सबै पात्रहरू आफ्नो विवेकको गच्छे अनुसार आफैंलाई खोज्न निस्किएका छन् । मान्छेले आफ्नो विवेककै आधारमा आफूलाई निख्खर देख्दै जाने हो ।

हिमालको जीवनशैली अनुसार सुस्त गतिमै क्यामेरा चलाइएको छ । मल्टिपल फ्रेमहरुमा काम गरिएको छ । आत्महत्या गरेकी युवतीको लासको अन्तिम संस्कारहरू गर्दा आकाशमा गिद्धहरूलाई घुमाइएको छ । एकै फ्रेममा अन्तिम संस्कार छ, उडिरहेका गिद्ध छन् । धनुकाँड हानेर आफूलाई निर्दोष सावित् गर्नुपर्ने दृश्यहरूमा चाहिँ समस्या छ । यदि यस्तो हो भने मानिसहरूले धनुकाँड हान्न पहिल्यै सिकिसकेका हुन्छन् । तर, आत्महत्या गरेकी महिलाले धनुकाँड नै समात्न जान्दिन । उपल्लो डोल्पामायो संस्कार छ जस्तो पनि लाग्दैन ।

गत वर्ष यो पंङ्तिकार उपल्लो डोल्पाको यात्रामा निस्किएको थियो, केही साथीहरूसहित । झण्डै एक महिनाको यात्रामा फोक्सुण्डो, से गुम्बा, साल्दाङ हुँदै धो–तराप पुगेपछि ‘साम्बाला’ को सुट सकाएका भामसँग भेट भएको थियो । त्यसवेला भामले कम्मरभन्दा माथिसम्मको हिउँमा उभिएर सुट गरेको बताएका थिए । उता साल्दाङमा हुँदैखेरि अभिनेता कर्मा बिरामी परेको खबर सुनेका थियौँ ।

जीवनमा उज्यालो पनि छ, अँध्यारो पनि छ । सुख छ, दुस्ख पनि छ । हाँसो छ, आँसु पनि छ । यसका लागि फिल्ममा खैरो रङलाई खेलाएका छन् भामले । खैरो अर्थात् कालो र सेतो रङको मिश्रण ।

उच्च हिमाली भेगमा खिचिएको‘साम्बाला’ भाम स्वयंको चिन्तनको नजिता हो । भाम स्वयं पनि बुद्धिजमप्रति गहिरो झुकाव राख्छन् सायद । फिल्ममा पुनर्जन्म जबरजस्त स्थापित गरिएको छ । सहलेखक अविनाश विक्रम शाह, कलाकार थिन्ले ल्हामो, सोनाम तोप्देन, कर्मा लगायतको काम जबरजस्त छ । समग्रमा नेपाली फिल्म क्षेत्रलाई भामले दिएको सुन्दर कविता हो ‘साम्बाला’ । संसार घुमेर आफ्नै घरमा फिरेको ‘साम्बाला’ आउँदो शुक्रबारबाट देशभरका हलहरुमा लाग्दैछ ।


प्रतिक्रिया

2 thoughts on “साम्बाला : दृश्य भाषामा लेखिएको सुन्दर ‘कविता’

  1. कुन भाषामा बनेको रहेछ यो फिल्म जानकारी पाउँन जानकारबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर