लुम्बिनीमा संविधान दिवस तीन दिन मनाउने – Nepal Press

लुम्बिनीमा संविधान दिवस तीन दिन मनाउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई तीन दिन मनाउने तयारी गरेको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाइने भएको हो ।

संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिन सम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले संविधान दिवसमा आयोजना गरिने कार्यक्रमहरू स्वीकृत गरेको छ ।

आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेशभित्र विभिन्न कार्यक्रम आयोजना गरिने भएको हो ।

असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेबसाईडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपले मनाउने बारेमा सूचनाहरू सार्वजनिक गर्ने, संविधान कार्यान्वयनको पहिलो दशक: उपलब्धि र चुनौती विषय विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागी फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गर्ने निर्णय भएको छ । आम नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, बरन्डामा दीपावली गर्न आह्वान गरिएको छ ।

असोज ३ गते संविधान दिवसको मूल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभात फेरीको आयोजना गरिने भएको हो ।

लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रसारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गर्ने निर्णय गरिएको छ ।

यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाहरूको समन्वयमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर