कोशीका पूर्वमुख्यमन्त्रीले पुन: थाले आमरण अनशन
विराटनगर । निषेधित क्षेत्रमा अनशन बसेका कोशीका मुख्यमन्त्रीलाई अनशन स्थलबाट प्रहरीले उठाएर घर लगे पनि कार्कीले पुन: अनशन सुरु गरेका छन् ।
घरमा लगेर प्रहरीले छाडेसङै उनले फेरि सोही स्थानमा अनशन थालेका हुन । विराटनगरको देवकोटा चोकमा उनी अनशनमा बसेका छन् । अनशनस्थलमा केही समर्थकहरू पनि छन् ।
प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक निषेधित क्षेत्रभित्र मङ्गलवार दिउँसो ४ बजेबाट आमरण अनशन सुरु गरेका कार्कीलाई राति प्रहरीले हटाएको थियो ।
नियन्त्रणमा लिएर प्रहरीले उनलाई बूढीगंगा गाउँपालिका-२ टंकीसिनवारीस्थित घरमा लगेर छाडेको थियो । निषेधित क्षेत्रको अनशन हटाउने क्रममा कार्कीका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । त्यस क्रममा नियन्त्रणमा लिइएका १५ जना समर्थकलाई प्रहरीले राति नै छाडिदिएको छ ।
निषेधित क्षेत्रबाट हट्नका लागि ‘माइकिङ’ गरेर आग्रह गर्दा पनि नमानेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । अहिले पनि अनशनस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कार्कीको अनशनमा नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षधर प्रदेश सांसद तथा नेता कार्यकर्ताले साथ दिएका थिए । कार्कीको अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
उनी आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशनमा बसेका हुन् ।