अपहरण तथा शरीर बन्धक मुद्दामा आहुतीको पार्टीका नेताहरू पक्राउ, ठगिएको रकम उठाउन खोज्दा फन्दामा – Nepal Press

अपहरण तथा शरीर बन्धक मुद्दामा आहुतीको पार्टीका नेताहरू पक्राउ, ठगिएको रकम उठाउन खोज्दा फन्दामा

काठमाडौं। अपहरण तथा शरीर बन्धक मुद्दामा विश्वभक्त दुलाल (आहुती) महासचिव रहेको वैज्ञानिक समाजवादी पार्टीका नेताहरू पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उक्त पार्टीको केन्द्रीय सदस्य सुवासचन्द्र पाण्डे, विद्यार्थी संगठन संयोजक हिमान्सु घिमिरे, केन्द्रीय सदस्य तुलराज विक, जात व्यवस्था उन्मुलन मोर्चाका केन्द्रीय सदस्य बेगबहादुर विकलगायत पक्राउ परेका छन्।

प्रेमप्रकाश वलीलाई अपहरण गरी सुन्धाराको गेस्ट हाउसमा बन्धक बनाएको आरोपमा उनीहरूसहित ७ जनाविरुद्ध अभियोग पत्र दायर भएको छ।

पक्राउ पर्नेमा दाङका २९ वर्षीय अर्जुन विक, २५ वर्षीय डिल्लीबहादुर विक, बाजुराका २५ वर्षीय निर्जन विश्वकर्मा पनि छन्।

अनुसन्धान प्रतिवेदनअनुसार अर्जुनले टर्कीमा वैदेशिक रोजगारीका लागि जानेभन्दै जाहेरवाला वलीसहितलाई २ लाख ९० हजार रुपैयाँ बुझाएका थिए।

तर टर्कीमा पठाउन नसकेपछि अर्जुनले जाहेरवाला वलीलाई भेटेर दिएको रकम बराबरको चेक लिएका थिए। चेक नसाँटिएपछि वलीविरुद्ध चेक बाउन्समा मुद्दा दायर पनि भएको थियो।

जाहेरवाला वलीका अनुसार आफू वैदेशिक रोजगारीमा पठाउने मान्छे खोजिरहेको बताएपछि उनले अर्जुनलाई प्रदीप अधिकारी भन्ने व्यक्तिसँग सम्पर्क गराएका थिए।

प्रदिपले टर्की पठाउन नसकेपछि ‘तपाईँले भेटाएको मान्छेले पैसा लिएर पठाएन, पैसा फिर्ता पनि गरेन’ भन्दै अर्जुनले आफूसँग चेक मागेको वलीले दिएको जाहेरीमा उल्लेख छ।

कसरी भयो अपहरण ?

वलीका अनुसार भदौ २ गते उनैले विकलाई केही रकम दिनेभन्दै बोलाएका थिए। चेक बाउन्सको जाहेरी दर्ता गरेपछि पनि विकले निरन्तर थर्काउने गरेका कारण आफूले केही रकम दिन उनलाई त्यस दिन बोलाएको जाहेरवालाको भनाई छ।

तर अर्जुनले अन्य ४ जना मानिसहरू साथमा लिएर आएको र गाडीमा राखेर बुढानीलकण्ठस्थित एक रिसोर्ट पुर्याएर कुटपिट गरेको वलीको दाबी छ। उनीहरूले चेक बमोजिमको रकम र ब्याजसमेत गरेर चार लाख रुपैयाँ मागेको जाहेरीमा उल्लेख छ।

त्यसपछि राति सुन्धाराको गेस्ट हाउस ल्याएर रातभर यातना दिइएको दाबी गरिएको छ। त्यसमा आईफोन र मोबाइलबाट भिडियो खिच्दै ‘म यो स्थानमा आफै आएको हुँ, अपहरण गरेको होइन’ भन्न लगाएको वलीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। वलीले भोलिपल्ट आफूलाई अनामनगरमा ल्याएर छाडिएको र लगत्तै प्रतिवादीहरू पक्राउ परेको बताएका छन्।

यता पक्राउ परेका अर्जुनले वली आफैले पैसा दिन भनी बोलाएकाले आक्रमण हुन सक्छ भनेर केही साथीहरू लिएर गएको बताएका छन्।

उनलाई भेटे लगत्तै आफूसँग पैसा छैन भनी बताएको र चाहिने भए बुढानीलकण्ठ हिँड भनेपछि त्यहाँ पुगेको पनि उनले बयानमा उल्लेख गरेका छन्।

मासिक एक लाखको ३ हजार रुपैयाँ ब्याज बुझाउँदै आएको र वलीलाई दिएको २ लाख ९० हजारको ब्याजसमेत गरेर ४ लाख रुपैयाँ बुझाएकाले त्यही बराबरको रकम आफूले वलीसँग दाबी गरेको उनले अनुसन्धानका क्रममा बताएका छन्।

उनको बयानअनुसार बुढानीलकण्ठस्थित रिसोर्टमा पुगेपछि वलीले आफ्ना एक आफन्तलाई फोन गर्दै एक लाख रुपैयाँ खातामा हाल्न लगाएका थिए।

त्यसपछि बाँकी रकम अनामनगरमा दिने भन्दै त्यहाँ ल्याइपुर्याको र प्रहरीमा गएर कुराकानी गरौँ भन्दा पक्राउ पर्न सक्ने डरले उनले आफैले आज सुन्धारामा गएर बसौँ भनेको अर्जुनले दाबी गरेका छन्।

वलीबाट तत्काल पैसा आउने नदेखेपछि भोलिपल्ट प्रहरीकहाँ छलफल गर्न जान खोज्दा उनले उल्टै अपहरणमा परेँ भनेर फसाउन खोजेको उनले बयान दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *