पहलो त्रैमास घर्किँदै जाँदा बढेन कर्जा प्रवाह – बैंकका कर्मचारीलाई ऋणी खोज्न दबाब
काठमाडौं । सिद्धार्थ बैंककी एक कर्मचारी आजकाल ऋणी खोज्न बजार धाउँछिन् ।
उनी भन्छिन्, ‘बैंकले हामीलाई ऋणी खोज्नु भनेका छन् । ऋणी खोजेको छ वा छैन भन्ने जानकारी दिन भेटेका मान्छेहरूको विवरण पनि संकलन गर्नुपर्छ ।’
बैंकले ऋण बढाउन दिएको टार्गेटले दबाब थपिएको उनले सुनाइन् ।
त्यस्तै लुम्बिनी विकास बैंकका एक कर्मचारी ऋण शाखाका मात्र नभई सबै कर्मचारीलाई आ-आफ्नो तर्फबाट ऋणी खोज्न भन्दै निर्देशन आएको सुनाउँछन् । सांग्रिला डेभलपमेन्ट बैंकका एक कर्मचारी पनि बैंकले सबै कर्मचारीलाई ऋणी खोज्न टार्गेट दिएको बताउँछन् ।
यी तीन बैंक प्रतिनिधि उदाहरणमात्र हुन् । कोरोना माहामारीका कारण लोन रिकभरिमा (ऋण उठ्ती) सास्ती भोगेका बैंकहरू तिर्नसक्ने क्षमता भएका ऋणीलाई मात्र ऋण प्रवाह गर्ने सोचमा देखिन्छन् । तर, त्यस्ता ऋणी पाउन छाडेको बताइन्छ ।
अहिले बैंकहरूको रणनीति पहिलो त्रैमासमा कर्जा प्रवाह बढाएर त्यही कर्जाको ब्याज बर्षभरि खाने र अन्तिम त्रैमासदेखि रिकभरि (उठाउन) तर्फ लाग्नेमा केन्द्रित छन् ।
पहिलो त्रैमासको करिब २ महिना बित्तिसक्दा पनि बैकिङ प्रणालीमा थुप्रिएको रकम घट्न सकेको छैन । ऋण प्रवाह बढाउन बैंकले कर्मचारीलाई लगानी बढाउने उपायको लागि दबाब दिइरहेका छन् । बैंकहरू अब यो भन्दा बढी पैसा थुपारेर राख्ने पक्षमा नभएकाले ऋण प्रवाहका लागि सबै कर्मचारी खटाएर ऋण बढाउन खोजेको एक बैंकका सीईओ बताउँछन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्ग) मा अहिले सवा ६ खर्ब रूपैयाँभन्दा बढी ऋण दिनसक्ने क्षमता छ । जुन रकमले बैंकहरूलाई अहिले लागत मात्र बढाइरहेको छ ।
मंगलबारसम्म कुल निक्षेप ६४ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ भने कर्जा प्रवाह ५२ खर्ब १ अर्ब रूपैयाँ छ । बैंकहरूको कर्जा निक्षेप अुनपात (सीडि रेसियो) ७८.८५ प्रतिशत छ । जबकी बैंकहरुले आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने नियामकीय व्यवस्था छ । तर, अहिले नियामकीय व्यवस्थाभन्दा औसतमा सीडी रेसियो करिब १२ प्रतिशत कम छ ।
बैंकरहरूका अनुसार ऋणको माग बढ्न नसकेपछि उनीहरूले सबै कर्मचारीलाई परिचालन गरेका छन् ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोखरेल बैंकहरूले ऋणी खोज भन्नु सामान्य भएपनि अनावश्यक दबाब दिन भने नमिल्ने बताउँछन् ।
उनी भन्छन्, ‘बैंकका पनि आफ्नो विजनेश हुन्छ । रणनीति बनाएर अघि बढ्दा कर्मचारीको साथ चाहिन्छ उनीहरुलाई परिचालन गर्नु पर्छ । तर, परिचालनका नाममा नचाहिने दबाब चाहिँ दिनु हुँदैन ।’
बैंकहरूले पछिल्लो समय निक्षेपका साथ साथसाथै कर्जाको ब्याजदरसमेत घटाइरहेका छन् । तर, पनि माग आएको छैन । आर्थिक गतिविधि बढ्नेवित्तिकै ऋणको माग स्वत: बढ्छ । अहिले बैंकहरूले सस्तो ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप राखिरहेका छन् ।