पूजा र पल ‘रावायण’ लाई दर्शक खोज्दै मोफसल, पुण्य गौतमदेखि सन्तोष देउजासम्मको जोडबल – Nepal Press

पूजा र पल ‘रावायण’ लाई दर्शक खोज्दै मोफसल, पुण्य गौतमदेखि सन्तोष देउजासम्मको जोडबल

पुण्य गौतमसँग पूजाको फोन संवादः मलाई इन्डष्ट्रीबाटै लखेट्न खोज्या छन्, तर अझै १० वटा फिल्म बनाउँछु

काठमाडौं । चलचित्र ‘रावायण’ की निर्मात्री तथा अभिनेत्री पूजा शर्मा अभिनेता पल शाहलाई लिएर मोफसल यात्रामा छिन् । उनीहरू विभिन्न हलहरूमा पुगेर दर्शकहरूसँग भेटघाट र अन्तरक्रिया गरिरहेका छन् ।

उच्च महत्वाकांक्षाका साथ निर्माण गरेको ‘रावायण’ ले अपेक्षित व्यापार गर्न नसकेपछि पूजालाई धक्का लागेको छ । काठमाडौंसहित देशभरका हलहरूमा तेस्रो दिनबाटै दर्शकको खडेरी परेको थियो । तर, पनि हार नमानीकन पूजा दर्शक जुटाउन प्रयासमा मोफसल यात्रामा निस्किएकी हुन् । उनले सामाजिक सञ्जालबाट आफ्नो चलचित्रमा दर्शक बढिरहेको भान पार्न प्रयास गरिरहेकी छन् ।

पल र पूजा हिजो नेपालगञ्ज पुगेका थिए । त्यहाँको एक हलभित्र उनीहरूले दर्शकहरूसँग केही समय बिताए । पलको पेजबाट केहीबेर लाइभसमेत गरिएको थियो । आज उनीहरू दाङ पुगेका छन् भने भोलि धनगढी जाने योजना छ । दाङ पल शाहको गृहनगर हो । दुवैले चलचित्रमा अकुपेन्सी बढ्न थालेको दाबी गर्दै केही हलको बुकिङका स्क्रिनसट सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

कमेन्ट बक्समा केही दर्शकको सहानुभूति पनि उनीहरूलाई प्राप्त भएको छ । एकजनाले लेखेका छन्, ‘पूजाजी एकमात्र त्यस्तो कलाकार हो, जसले नेपाली फिल्म ईन्डस्ट्रीलाई माथि पुर्‍याउन र टिकाइराख्न आफू अहोरात्र खटिएर, आफू मैनबत्ती बन्नु परे पनि सहेर फिल्मी प्रकाश छरिरहनुभएको छ, सलाम छ पूजाजी ।’

एकजनाले ‘यति दर्शक आएर फिल्मले लगानी उठाउँछ त ?’ भनेर सोधेका छन् । जवाफमा पूजाले अलिअलि गर्दै बढ्दै जाने बताउँछिन् ।

‘म पनि एकैपटक सफल भएको होइन, विस्तारै हुन्छ,’ उनले लेखेकी छन् । यद्यपि, यो रिप्लाई कमेन्ट उनले पछि हटाइन् ।

दर्शकबाट केही रमाइला प्रतिक्रिया पनि आएका छन् । कसैले फिल्म चलाउनका लागि ‘काण्ड’ निकाल्न सुझाव दिएका छन् त कसैले पहिलेजसरी नै ‘रुन’ आग्रह गरेका छन् । तर, पूजालाई भने आफ्नो मिहिनेतमै विश्वास छ । उनी लेख्छिन्, ‘आशा गर्छु कि कडा मिहिनेत कहिल्यै असफल हुँदैन । जय वास्तविक दर्शक ।’

केही दर्शकको कडा प्रतिक्रिया पनि देख्न सकिन्छ । एकजनाको कमेन्ट यस्तो छः

‘के गर्छौ मङ्गगले आफ्नै ढङ्गले । बोलीमा सुधार ल्याउनु घमण्ड अलिक कम गर्नु नारीको सत्रु नारी नहुनु फ्लिम तेसै हिट ।’

युट्यूवरहरूको साथ, पुण्य गौतम पनि मिसिए

दर्शकको साथ नपाए पनि पूजालाई युट्यूवरहरूले भने बलियो साथ दिएका थिए । पूजानिकट केही युट्यूव च्यानलले शुक्रबार र शनिबार दर्शकको भेलबाढी नै आएजसरी होहल्ला गरे । जबकि ती दुई दिनमा पनि हलहरूको अकुपेन्सी सन्तोषजनक थिएन । आइतबारदेखि भने युट्यूवरहरू सेलाएको देखिन्छ ।

यसैबीच सामाजिक सञ्जालका विश्लेषक पुण्य गौतमले पूजाप्रति दह्रो समर्थन र ऐक्यवद्धता प्रस्तुत गरेका छन् । उनले पूजासँग फोनमा कुराकानी गर्दै एक च्यानलबाट लाइभसमेत गरेका थिए ।
पुण्यसितको कुराकानीमा पूजाले आफू विरुद्ध सञ्जाल नै लागेको गुनासो गरेकी छन् । उनीहरूबीच संवादको एक अंश यस्तो छः

पुण्य गौतमः ‘ल फिल्म एकदम सफल भयो भन्ने सूचना पायौं । भिडिओ पनि हेर्‍यौं । वास्तवमा तपाईंहरूविरुद्ध ग्रान्ड डिजाइन गरेर प्रपोगाण्डा गरिया छनि, मैले बोल्न सुरू गरिसक्या’छु । हिजो पनि बोलेँ, आज पनि बोल्दैछु । रावायण ब्लक बस्टर हो र हुन्छ । र, यसले अपार सफलता हासिल गर्छ भनेर बोल्या’छु पूजाजी ।’

पूजा शर्माः धन्यवाद पुण्यजी ! आफूले सत्कर्म राम्रो गर्नुपर्छ । एक-दुई दिन हो, लास्टमा राम्रो कामले नै बोल्छ । सञ्जालै लाग्या छ । तर, त्यसले केही पनि हुँदैन । भगवान् छ साक्षी दाइ । मलाई यो इन्डष्ट्रीबाट लखेट्न खोज्या छन् । अझै १० वटा फिल्म बनाउँछु । झन्-झन् राम्रो फिल्म बनाउँछु । यति भए पुग्छ दाइ मलाई ।

पुण्य : ऐश्वर्या रायले एउटा फिल्म तलमाथि भयो भन्दैमा फिल्मबाट हात धोइन् र ? एन्जेलिना जोलीले गरिन् र ? तपाईं भनेको त मैले बोलेकै छु, करिश्मा मानन्धर दिज्यू रेखा थापापछि अहिलेको जेनेरेसनको सबैभन्दा उम्दा एक्ट्रेस हो । तपाईं अगाडि बढ्नुपर्छ । सुरूदेखि नै पलजी र तपाईंलाई हाम्रो साथ छ क्या । म यहाँ धेरै कुरा गर्न चाहन्न । तपाईंसँग पनि माइक्रो इन्फर्मेसन होला । मैले बुझेको के हो भने इन्डष्ट्रीभित्र तपाईंहरूको खुट्टा तान्ने र दुष्प्रचार गरेर दर्शकलाई हलबाट लखेटन् ग्रान्ड कन्स्पिरेसी भो । तर, दर्शकले बुझिसके । यो फिल्म राम्रो छ र हेर्नुपर्छ । पलजीलाई पनि नमस्कार भन्दिनुहोला ।’

यस्तै कपुरबोट मिडियाका सञ्चालक चर्चित युट्यूवर सन्तोष देउजा पनि पूजाको प्रतिरक्षामा उत्रेका छन् । फेसबुकमा उनले एक स्टाटस लेख्दै रावायणको प्रचारप्रसार गरे । सन्तोषका अनुसार एउटा स्टाटसको विषयलाई लिएर पूजाले उनीसँग रावायण रिलिजको अघिल्लो दिन अबेर रातिसम्म झगडा गरेकी थिइन् ।

उनी लेख्छन्, ‘पूजाको मुख अलि छुच्चो भएपनि मन सफा छ भन्ने सोचेर आज स-परिवारै चलचित्र रावायण हेरेर भर्खर फर्केँ । ‘यति राम्रो फिल्मको तपाईंले किन सपोर्ट नगर्नुभएको ?’ भन्दै फर्कदा अनुष्काले मलाई गाली गरिन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर