पूर्वमुख्यमन्त्रीको अनशनले लज्जित बनायो, संसद्को अवहेलना गरेकाले कारबाही गरिनु पर्छ : एमाले – Nepal Press

पूर्वमुख्यमन्त्रीको अनशनले लज्जित बनायो, संसद्को अवहेलना गरेकाले कारबाही गरिनु पर्छ : एमाले

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले संसद्को अवहेलना गरेको नेकपा एमालेले दाबी गरेको छ । नेकपा एमाले संसदीय दलको तर्फबाट प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सभा सदस्य तिलचन पाठकले अनशनका नाममा कार्कीले भ्रम फैलाएको बताएका छन् ।

पाठकले प्रदेश सभामा बोल्दै भने, ‘पूर्व मुख्यमन्त्री कार्की १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार कटौती भएको भन्दै अनशनमा बस्नु भएको छ । प्रदेश सरकारले यो कार्यक्रमका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ । यो भैम नभएर के हो ?’

बुधवार प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद तिलचन पाठकले १० वर्ष मानिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रम सरकारले कटौती नगरेको बताए । उनले भने, ‘बालबालिकाको निःशुल्क उपचार कार्यक्रम निरन्तर छ, उहाँ लास्ट बेञ्चर भएका कारण बजेट पढ्न पाउनु भएन ।’

पाठकले कोशी प्रदेशमा अनसनको नाममा प्रदेश सभा सदस्य केदार कार्कीबाट भएको नौटङ्कीले लज्जित र गम्भीर बनाएको बताए । अनसनको नाममा भएको अराजक हर्कतले संसदीय मूल्यमान्यताको धज्जी काढ्ने काम भएको बताए ।

संविधान धारा १८७ मा भएको व्यवस्था अनुसार यस्तो हर्कत गर्ने व्यक्ति उपर विशेष समिति बनाएर छानबिन र कारबाही गर्नु पर्ने उनले माग राखे ।

‘पूर्व मुख्यमन्त्री समेत भई सकेका कार्कीबाट संसदीय मर्यादाको धज्जी उडाउने काम भएको छ’, उनले भने, ‘गत आर्थिक वर्षमा रातो किताबमा आएका योजनाहरू कटौती गर्ने काम कसले गरेको हो, उहाँले मुख्यमन्त्री भएको बेला काटेको हैन ? के त्यसो भए सबै माननीय ज्युहरू त्यसरी अनसन बस्नु पर्थ्यो ?

प्रदेश सभा सदस्य पाठकले कार्की मुख्यमन्त्री र स्वास्थ्य मन्त्री रहेको बेलामा २ करोड भन्दा बढी भुक्तानी दिन बाँकी रहेको, फर्जी बिल विवरण पेस गर्ने काम केदार कार्कीबाट नै भएकोले यसको जवाफ पनि उनैले दिनु पर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर