प्यूठानमा बरौला प्रिमियर लिग हुने, विजेतालाई एक लाख पुरस्कार
हार्ड टेनिस बलले खेलाइने, एलबीडब्लु आउट नहुने
काठमाडौं । उच्च पुरस्कार रकमसहित प्युठानमा पहिलोपटक खुला टेनिस बल क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘बरौला प्रिमियर लिग’ नाम दिइएको प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ पुस्तकार प्राप्त गर्नेछन् ।
सेभेन स्टार क्रिकेट क्लव बरौलाले यो प्रतियोगिताको आयोजना गरेको हो । यो जिल्लामा अहिलेसम्मकै ठूलो धनराशीको प्रतियोगिता भएको दावी आयोजकले गरेको छ ।
प्रतियागिता आउँदो असोज २० गतेदेखि २४ गतेसम्म ऐरावती गाउँपालिका ५ कुनौटामा आयोजना गरिने छ । पहिलो हुनेले १ लाख र दोस्रो हुनेले ५० हजार पाउनेछन् । प्लेयर अफ द टुर्नामेन्टलाई ५००० तथा सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरलाई ३–३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । रजिस्ट्रेसन फि ७ हजार रुपैयाँ तोकिएको छ ।
आयोजकका अनुसार असोज १९ गतेसम्म टिम रजिस्टर गर्न सकिन्छ । प्रत्येक खेल १५–१५ ओभरको खेलाइने छ भने हार्ड टेनिस बल प्रयोग हुनेछ । खेलमा एलबीडब्लु आउट बाहेक सबै आइसीसीका नियमहरु लागू हुने आयोजकले जानकारी दिएको छ ।