अमेरिकी राष्ट्रपतीय बहसः ट्रम्प र कमलाबीचका यी ५ अन्तरविरोध – Nepal Press

अमेरिकी राष्ट्रपतीय बहसः ट्रम्प र कमलाबीचका यी ५ अन्तरविरोध

काठमाडौं । महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतीय चुनावमा विश्वभरका मानिसहरूले चासो राख्ने गर्छन् । अब अमेरिकाको राष्ट्रपति को बन्छ भन्ने विषयलाई विश्व समुदायले नै नजिकबाट नियाल्ने गरेका छन् ।

अमेरिकी चुनावको एउटा आकर्षण भनेको ‘प्रेसिडेन्सियल डिबेट’ अर्थात राष्ट्रपतीय बहस पनि हो । राष्ट्रपतीय बहसलाई एकप्रकारले उम्मेदवारहरूको ‘अडिसन’ का रूपमा लिने गरिन्छ । यस बहसमार्फत उम्मेदवारहरूले आफ्नो भिजन र एजेण्डाहरू प्रस्तुत गर्ने गर्छन् । प्रतिस्पर्धी उम्मेदवारभन्दा आफू किन अब्बल छु भनेर देखाउने प्रयास गर्छन् । यस बहसले पनि ठूलो संख्यामा जनमत प्रभावित बन्न सक्ने विश्वास गरिन्छ । यस किसिमको अभ्यास अमेरिकामा मात्र नभएर बेलायत, क्यानडा, फ्रान्स लगायतका अन्य देशहरूमा पनि छ ।

आगामी नोभेम्बर ५ मा अमेरिकाले आफ्नो ४७ औँ राष्ट्रपति पाउने छ भने ४७ औँ राष्ट्रपति बन्ने दौडमा छन् रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस । यी दुवै दाबेदारबीच आज पहिलो राष्ट्रपतीय बहस सम्पन्न भयो ।

ट्रम्प र ह्यारिसबीच रुस-युक्रेन युद्ध, अध्यागमन नीति (सीमा सुरक्षा) तथा आप्रवासीसँग सम्बन्धित मुद्दा, प्रजनन् तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकार, चीनसँग सम्वन्धित मुद्दा र आर्थिक विकास एजेण्डामा विभिन्न अन्तरविरोधहरू बहसमा प्रकट भएका थिए । यहाँ हामी यी दुई उम्मेदवार आमने-सामने हुँदा यी पेचिला मुद्दामा के कस्ता धारणा व्यक्त गरे भन्ने चर्चा गर्ने छौं ।

रुस-युक्रेन युद्ध

रुस-युक्रेन युद्धको सन्दर्भमा ट्रम्प र ह्यारिसबीच स्पष्ट अन्तरविरोध रहेको देख्न सकिन्छ । ट्रम्पले रुस-युक्रेन युद्दमा अमेरिकाको ठाडो हस्तक्षेप हुनुहुँदैन भन्ने वकालत गर्दै आएका छन् । अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गर्न नहुने उनको धारणा छ । आफू अमेरिकाको राष्ट्रपति भएमा रुस-युक्रेनबीच शान्ति सम्झौता गराउनतर्फ आफू केन्द्रित हुने ट्रम्पले बताउने गरेका छन् ।

कमला ह्यारिस भने प्रष्टरूपमा युक्रेनको पक्षमा रहेकी छिन् । ह्यारिसले युक्रेनमा अमेरिकी सैन्य सहायतालाई निरन्तर समर्थन गर्दै युक्रेनले लोकतन्त्र र कानूनी शासनको लागि संघर्ष गर्दै आएको बताएकी छिन् ।

राष्ट्रपतीय बहसमा पनि यी दुई उम्मेदवारबीच रुस-युक्रेन युद्धलाई लिएर प्रष्ट ‘टसल’ देखियो । अमेरिकाले युक्रेनलाई सहयोग जारी राख्नु पर्छ ? भन्ने प्रश्नमा ट्रम्पले जवाफ दिए, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुनु नै अमेरिकाको हितमा छ । यो युद्ध अब सकिनुपर्छ र सम्झौता हुनुपर्छ । हामीले मानवीय क्षतिलाई रोक्नु पर्छ ।’

ट्रम्पले बाइडेनमा नेतृत्व क्षमताको कमिले गर्दा नै रुसले युक्रेनमाथि हमला गरेको आरोप समेत लगाए ।

यता ह्यारिसले भने ट्रम्पको यो धारणाप्रति प्रतिवाद गरिन् ।

उनले प्रश्न गरिन्, ‘के तपाईं जारी युद्दमा युक्रेनले जितेको हेर्नु चाहनुहुन्छ ?’

यदि अहिले ट्रम्प अमेरिकाको राष्ट्रपति भएको भए रुसी राष्ट्रपति पुटिनले युक्रेनमा राज गरिरहेको हुने दावी गरिन् । उनले पुटिनको मनसाय युक्रेनमा मात्र जित हासिल गर्नु नरहेको समेत बताइन् ।

‘बुझ्नुहोस्, हाम्रा युरोपेली सहयोगीहरू (नाटो राष्ट्रहरू) तपाईं राष्ट्रपति नभएकोमा आभारी छन्,’ उनले थपिन्, ‘ट्रम्पले आफु राष्ट्रपति भएको खण्डमा रुस-युक्रेन युद्ध २४ घण्टामा रोकिनेछ भन्नुको अर्थ उहाँले युक्रेनको साथ छोड्नु हुनेछ भन्ने हो ।’

सीमा सुरक्षा तथा आप्रावासीसँग सम्बन्धित मुद्दा

अध्यागमनसँग सम्बन्धित मुद्दामा ट्रम्प र ह्यारिसबीच अन्तरविरोध रहेको कुरा पनि जगजाहेर छ । यस्ता मुद्दालाई ट्रम्पले विशेष महत्वका साथ उठाउने गर्छन् ।

कडाभन्दा कडा अध्यागमन नीतिको वकालत गर्दै आएका ट्रम्प मेक्सिको सिमानामा पर्खाल लगाउनुपर्ने पक्षमा छन् भने कमला अप्रमाणित आप्रवासीहरूका लागि नागरिकताको बाटो र आप्रवासनका मूल कारणहरूलाई सम्बोधन गर्नेलगायतका व्यापक अध्यागमन सुधारलाई समर्थन गर्छिन् ।

राष्ट्रपतीय बहसमा पनि ट्रम्पले यस मुद्दालाई विशेषरूपले उठाउने प्रयास गरे । ट्रम्पले बहसको पहिलो आधा घण्टाभित्रै पटक-पटक यो विषय उठान गरेका थिए । यस विषयमा कमला अलिक सजग र संयमित देखिइन् ।

अध्यागमनसम्बन्धी पहिलो प्रश्नको जवाफमा उनले ट्रम्पका सहयोगीहरूका कारण अध्यागमन विधेयक असफल भएको जिकिर गर्दै ट्रम्प अध्यागमन तथा शरणार्थीसँग सम्बन्धित समस्या समाधान गर्नुभन्दा पनि यसबाट भाग्न तत्पर रहेको आरोप लगाइन् । बहसको क्रममा कमलाले ट्रम्पले आप्रवासीहरू लक्षित गर्दै असंवेदनशिल टिप्पणी गरेको विषयको पनि उठान गरेकी थिइन् । ट्रम्पले केही समय अगाडि ओहायो आप्रवासीहरूले कुकुर मारेर खाएको बताएका थिए । उक्त अभिव्यक्ती अतिवादी भएको ह्यारिसको आरोप छ ।

प्रजनन् तथा लैङ्गिक अल्पसंख्यक अधिकार

प्रजनन् तथा लैङ्गिक अल्पसंख्यक अधिकारको विषयलाई लिएर पनि ट्रम्प र ह्यारिसको भिन्न-भिन्न धारणा रहेको छ । यद्यपि आज भएको बहसमा भने ट्रम्पले आफु कृत्रिम गर्भधारण (आइभिएफ) को विरुद्धमा नरहेको दाबी गरे ।

बहसको क्रममा ह्यारिसले गर्भपतन सम्बन्धित रोए भि वेड नामक नियम उल्टिसकेपछि अमेरिकाका कतिपय राज्यहरूमा गर्भपतन प्रतिबन्ध भएको र कतिपय ठाउँमा प्रतिबन्ध नै नभएपनि गर्भपतन सेवा अत्यन्तै जटिल रहेको विषय उठाएकी थिइन् । उक्त नियमलाई उल्टाउन ट्रम्पको अप्रत्यक्ष संलग्नता रहेको बताइने गरिन्छ ।

यता ट्रम्पले भने आफु गर्भपतन सेवालाई प्रतिबन्ध लगाउनु पर्छ भन्ने पक्षमा नरहेको बताए । यद्यपि रोए भी वेडलाई उल्टाएर गर्भपतनको संघीय अधिकारलाई अन्त्य गर्नाले राज्यहरूलाई प्रजनन् अधिकार नियमन गर्न सहजता प्रदान गर्ने उनको भनाइ छ । उनले गर्भपतनसँग सम्बन्धित अधिकार राज्यहरूमा निहित हुनुपर्छ भनेर विज्ञहरूले आफूलाई सुझाव दिएको पनि बताए । तर, ह्यारिसले भने ट्रम्प गर्भपतनलाई प्रतिबन्ध लगाउने पक्षमा रहेको दाबी गरिन् ।

चीन – अमेरिका सम्बन्ध

बहसमा चीनसँगको सम्बन्धलाई लिएर ह्यारिस ट्रम्पप्रति आक्रामक शैलीमा प्रस्तुत भइन् । ट्रम्पले बाइडेन प्रशासनले चीनबाट आयातित वस्तु तथा सेवामा लगाएको करको विषय उठान गर्नासाथ ह्यारिसले ट्रम्पको चीनसँग सम्बन्धित नीति र कोभिड-१९ महामारीमा उनको चीन लक्षित धारणाको विषयमा प्रश्न उठाइन् ।

‘ट्रम्पको प्रशासनले अमेरिकाको इतिहासमै सबैभन्दा धेरै व्यपार घाटा निम्त्यायो भन्ने विषयमा हामी स्पष्ट छौँ,’ उनले थपिन्, ‘तपाईं चीनसँग डोनाल्ड ट्रम्पको सम्बन्धबारे थप कुरा गर्न चाहनुहुन्छ ? ट्रम्पको नेतृत्वको समयमा अमेरिकाले चीनलाई ‘चीप’ हरू बेचेको थियो, जसले उनीहरूलाई आफ्नो सैन्यशक्ती बढाउन र हतियारहरूलाई आधुनिकीकरण गर्न मद्दत गर्यो । यसको अर्थ के हो भने ट्रम्पले २१ औँ शताब्दीमा अमेरिका सबैभन्दा अगाडि हुनुपर्छ भन्ने हाम्रो नीति नै चीनलाई बेचे ।’

आर्थिक विकासको एजेण्डा

बहसमा कमला ह्यारिसले ट्रम्पसँग अमेरिकाको आर्थिक विकासको लागि कुनै योजना नभएको आरोप लगाइन् । ट्रम्पले आफ्नो र सीमित केही धनी व्यवसायीहरूको मात्र भलो चाहने ह्यारिसको दाबी थियो ।

कर्पोरेसन र धनीहरूका लागि कर कम गर्ने नीति ट्रम्पको रहेको उनको भनाइ थियो । ‘डोनाल्ड ट्रम्पको वास्तवमा तपाईंको लागि कुनै योजना छैन, किनभने उहाँ तपाईँको खोजीमा भन्दा आफूलाई बचाउनमा बढी रुचि राख्नुहुन्छ,’ ह्यारिसले भनिन् ।

यता ट्रम्पले भने बाइडेनको पालामा अमेरिकाको हालसम्मकै खराब आर्थिक अवस्था रहेको आरोप लगाए । ट्रम्पले राष्ट्रव्यापी रूपमा कर बढाउदै छन् भन्ने ह्यारिसको दाबीलाई खण्डन गर्दै उनले आर्थिक विकासको पक्षमा बोल्न सुरू गरेका थिए । महंगीको कारणले गर्दा अहिले अमेरिकाको अर्थतन्त्र भयानक अवस्थामा रहेको र यसले देशलाई टुक्राउने भय रहेको ट्रम्पको भनाइ रहेको थियो ।


प्रतिक्रिया
सम्बन्धित खवर