दसैँको अग्रिम टिकट बुकिङ सुरू
यातायात विभागमा छैन छलफलको तयारी
काठमाडौं । दसैँका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । एक महिनापछि असोज २४ गते फूलपाती रहेको छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी अघि सर्थे । तर, यो पटक व्यवसायी पहिले तातेका छन् ।
पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालनक समितिले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।
‘आ-आफ्नो गाउँघर (विजया दशमी मनाउन) जानुहुने यात्रुहरूलाई सहजीकरण होस् भन्ने उद्देश्य राखी यही भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ्ग गर्ने निर्णय भएको छ,’ अरनिको यातायातले निकालेको सूचनामा उल्लेख छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले चाडपर्वको लागि अग्रिम टिकट बुकिङका लागि तयारी सुरू भइनसकेको बताए । यातायात कम्पनीले अग्रिम टिकट बुकिङ सुरू गरियसकेको विषयमा उनले गाडी सबै निजी कम्पनीको भएकाले उनीहरूले अग्रिम टिकट बुकिङ खोल्नु राम्रो रहेको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘नेपालमा सञ्चालन हुने सबै गाडी निजी कम्पनीको हो । अनि निजी कम्पनीले नै दशैंका लागि अग्रिम टिकट बुकिङ राम्रो हो । व्यवसायीले पहिलेदेखि नै उठाउँदै आएका मागहरू पनि छन् । अघिल्लो वर्ष पनि यातायात व्यवसायीले सडक मर्मत गर्नुपर्ने लगायतका माग राखेका थिए । कति माग पूरा भएका छैनन् । ती माग फेरि अगाडि ल्याउँछन् होला । हामीले अहिले नै बस टिकट बुकिङको लागि छलफल सुरू गरेका छैन । बिस्तारै गरौँला ।’
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपाल पुर्व अरनिको यातायात र पृथ्वी राजमार्ग यातायात कम्पनीले बुकिङ खुल्ला गरेको बताए ।
‘नयाँ बसपार्कले नै विभिन्न कम्पनीलाई अग्रिम टिकट बुकिङ खुलाउन दिएका छैनन् । बसपार्कमा गुण्डागर्दी र कार्टेलिङका कारण बुकिङ खुलाउन चाहनेका लागि खुल्ला गर्न चाहेकाले पनि सकेका छैनन् ।’
लामो रुटको बसलाई धेरै ठाउँमा चेकिङको झन्झट्लाई हटाउनुपर्ने, खाल्डाखुल्डी पुर्नुपर्नेलायतमा नेपालले ध्यानाकर्षण गराए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारी पक्ष नतातेपछि आफूहरूले नै बुकिङ खुल्ला गरेको बताए ।
उनले भने, ‘यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले व्यवसायीलाई बुकिङबारे छलफलमा बोलाएको छैन । अब बोलाउँछ होला । बाटोको भद्रगोल अवस्थालाई भने सुधार गर्नुपर्छ ।’
अघिल्लो वर्ष विभागले फूलपातीभन्दा १ महिना ३ दिनअघि अग्रिम टिकट बुकिङ खुलेको थियो ।