ममताका श्रीमान नरेश भट्ट र प्रदीप खड्का एकसाथ देखिने तस्बिरको कथा – Nepal Press

ममताका श्रीमान नरेश भट्ट र प्रदीप खड्का एकसाथ देखिने तस्बिरको कथा

नरेशले प्रदीपलाई भनेका थिए– अर्कोपटक आउँदा तपाईंलाई ह्वाइट हाउस घुमाउँछु

काठमाडाैं । सेलिब्रिटी हुनुका आफ्नै दुख छन् । कहाँ कतिबेला कस्तो मान्छेसँग ठोक्किन पुगिन्छ केही ठेगान हुन्न । जस्तो कि अभिनेता प्रदीप खड्कालाई अमेरिकामा एक नेपालीसित खिचेको तस्बिरले अहिले झस्काइरहेको छ ।

ती नेपाली अरु कोही नभएर नरेश भट्ट हुन्, जसमाथि अहिले आफ्नी श्रीमती ममता काफ्लेको हत्या आरोप छ । ममताको शव भने अहिलेसम्म भेटिएको छैन । प्रहरीले उनीमाथि शव बेपत्ता पारेको अभियोगमा उनलाई पक्राउ गरेर थुनमा राखेको छ ।

यो घटना सार्वजनिक भएको केही दिनमा केही तस्विर टिकटकमा लिक भए, जसमा नायक प्रदीप खड्का र नरेश भट्ट एकसाथ देखिन्छन् । नरेशले प्रदीपसँग समूहमा र छुट्टाछुट्टै पनि फोटो खिचाएका थिए । नरेश टाइसुटमा र प्रदीप अनौपचारिक पोशाकमा छन् ।

यो तस्बिर हेरेर कतिपयले नरेश र प्रदीप साथी पो हुन् कि भन्ने लख काटे । प्रदीपलाई पनि धेरैले सोध्न थाले– त्यो मान्छे तपाईंको साथी हो ?

प्रदीपका अनुसार नरेश उनका साथी होइनन् । यो उनी गत मार्चमा अमेरिका भ्रमणमा जाँदाखेरिको तस्विर हो । उनलाई जीवन थापा नाम गरेका साथीले चलचित्रसम्वन्धी कामकै निम्ति अमेरिका लगेका थिए । उनी १५ दिन अमेरिकामा बसेर फर्किए ।

त्यसबखत थापाले आफूलाई भर्जिनियामा एकजना साथीको घरमा राखेको प्रदीप सम्झिन्छन् ।

उनले नेपाल प्रेससँग भने, ‘मैले त्यो साथीको घरमा केही रात बिताएको थिएँ । त्यस क्रममा एक दिन उहाँको धेरैजना साथीहरु आउनुभएको थियो । त्यसमा नरेशजी पनि हुनुहुन्थ्यो । उहाँ अमेरिकी सेनामा कार्यरत हुनुहुँदो रहेछ । सेनाको सम्मानजक पोस्टमा रहेर काम गरिरनुभएको थाहा पाएँ । हेर्दाखेरि निकै भलाद्मी देखिनुहुन्थ्यो । भविष्यमा गएर यस्तो गर्नुहोला भनेर कसरी कल्पना गर्ने ?’

प्रदीपका अनुसार नरेशले उनीसँग केहीबेर संवाद पनि गरेका थिए । आफूलाई अर्कोपटक आउँदा ह्वाइट हाउस घुम्ने प्रस्ताव गरेको उनले सम्झिए ।

‘उहाँ ह्वाइट हाउसमा काम गर्नुहुँदो रहेछ । मलाई अर्कोपटक अमेरिका आउँदा ह्वाइट हाउस घुमाउन लैजान्छु भन्नुभएको थियो । त्यति मात्रै सम्झना छ । अरु साथीहरुले चाहिँ उहाँ सेनाको राम्रो पोस्टमा रहेको सुनाएका थिए’, प्रदीपले भने ।

अमेरिकामा ममता भट्ट वेपत्ता भएको र त्यसपछि श्रीमान नरेश पक्राउ परेको समाचारलाई प्रदीपले पछ्याइरहेका थिए । तर, आफूले भेटेको व्यक्ति हुन् भन्ने सुरुमा मेसो नपाएको उनले बताए ।

‘मैले त सुरुमा नोटिस नै गरेको थिइनँ । उसको अनुहार पनि बिर्सिसकेको थिएँ । घटना भएको केही दिनपछि फोटो आएछ । त्यसपछि मलाई धेरैले सोध्नु भयो । अनि पो म त झल्यास्स भएँ । त्यस्तो भलाद्मी देखिने मान्छेले यस्तो क्रुर अपराध गरेको सुन्दा असाध्यै दु:ख लागेको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *