‘इकु’ बाट पीडित ४ जना सीआईबीमा, विदेश पठाउने भन्दै २० लाखसम्म ठगेकाे आराेप – Nepal Press

‘इकु’ बाट पीडित ४ जना सीआईबीमा, विदेश पठाउने भन्दै २० लाखसम्म ठगेकाे आराेप

काठमाडौं। कलाकार बनाएर विदेश लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका चर्चित हाँस्य कलाकार सुलेमान शंकर अहिले केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को हिरासतमा छन्।

कलाकार बनाएर युरोपमा हुने सांस्कृतिक कार्यक्रममा लैजान्छु भन्दै पैसा उठाएको र तर नलगेको भन्ने उजुरीपछि इकुलाई नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

सीआईबीका अनुसार इकुले ठगेको भन्दै ४ जना प्रहरी सम्पर्कमा पुगेका छन्। उनीहरु सबै पुरुष हुन्। विदेश पनि नलगेको र पैसा पनि नफर्किएको भन्दै उनिहरुले प्रहरीमा जाहेरी दिएका थिए।

सीआईबी प्रवक्ता बोगटीले विभिन्न मितिमा इकुले पीडितहरुबाट पैसा उठाएको बताए। ‘ उनीहरुको जाहेरी अनुसार अष्ट्रेलिया, क्यानडा र दक्षिण कोरियामा हुने सांस्कृतिक कार्यक्रममा लैजाने भन्दै पैसा उठाएको देखिन्छ’, बोगटीले भने।

पीडितहरुले कलाकार बनेर जान आफुले १५ देखि २० लाख रुपैयाँसम्म बुझाएको प्रहरीलाई बताएका छन्। त्यसका लागि उनीहरुले इकुको नाममा रहेको एसएमएस फ्लिम्स प्रालीका नाममा पैसा जम्मा गरेको दावी गरेका छन्। इकुले नक्कलि कलाकार बनाएर लैजान पैसा उठाएको बताइएको छ।

‘विकट क्षेत्रका मानिसहरुलाई राम्रो काम र आम्दानी हुने प्रलोभन देखाएर इकुले पैसा उठाएको देखिन्छ’, एक अनुसन्धान अधिकृतले भने। विदेश जाने प्रयोजनका लागि इकुले उनीहरुको बैंक स्टेटमेन्टहरु समेत नक्कली बनाउने गरेको र ‘कार्यक्रम तय हुँदै छ’ भनेर टार्ने गरेको पिडितले प्रहरीलाई बताएका छन्।

सीआईबीले ठगी अभियोगमा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ। इकुलाई हिरासतमा राख्न पहिलो पटक ५ दिनको समय दिइएको छ। यसअघि चर्चित कलाकार राजेन्द्र खड्गीले ११ जनालाई कोरियामा छाडेर आएको आरोपमा केही वर्ष अघि सीआईबीले उनलाई पक्राउ गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर